काठमाडौं । नेपाली साहित्यका गजलकार जोडी राधा कणेल र घनेन्द्र ओझाले आफ्नो १८औं विवाहवार्षिको विशेष अवसर पारेर गजल एल्बम ‘नसोधी’ सार्वजनिक गर्नुभएको छ । २०६५ मंसिर २२ मा विवाहका दिनै संयुक्त गजलसंग्रह ‘बाटो अझै छ बाँकी’ प्रकाशन गरी सिर्जनशील सहयात्राको सुरुवात गरेको दम्पतीले यो वर्षगाँठलाई पनि कृतिमार्फत स्मरणीय बनाउनुभएको हो ।
विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको एकल संगीत तथा स्वर रहेको एल्बममा राधाका दुई र घनेन्द्रका तीन गजल समावेश छन् । एल्बमका प्रस्तुतकर्ता हाल चर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईं हुनुहुन्छ ।
एल्बम लोकार्पण समारोहमा बोल्दै कवि एवं समालोचक प्राडा.देवी नेपालले राधा-घनेन्द्र जोडीलाई साहित्यिक तथा जीवन सहयात्री दुवैको उदाहरणीय रूपमा चित्रित गर्दै उहाँहरूको सिर्जनशीलता सशक्त रहेको टिप्पणी गर्नुभयो । उहाँले संगीतकार सन्तोष श्रेष्ठको सक्रियताले नेपाली गजल गायनको गति थपिएको जिकिर गर्नुभयो ।
गजलकार तथा आख्यानकार, पूर्वमुख्य सचिव तथा क्यानडाका पहिलो नेपाली राजदूत डा.भोजराज घिमिरेले तीनै स्रष्टाले ‘नसोधी’ नै सिर्जनामा लागेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले नेपाली गजल लेखन र गायन दुवै क्षेत्रमा परिष्कार बढ्दै गएको र छिट्टै उत्कृष्ट कृतिहरू श्रोतासामु आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले आफू र घनेन्द्र ओझा ‘नेपाली गजल गायनको स्वर्ण दशक, विसं २०८०-२०९०’ अभियानअन्तर्गत देशभर दर्जनौँ प्रत्यक्ष गजल प्रस्तुति गरिसकिएको जानकारी दिनुभयो । ‘नसोधी’ एल्बमै उक्त अभियानको पहिलो कडी भएको भन्दै उहाँले बताउनुभयो र सबै गजल तथा संगीतप्रेमीलाई अभियानमा सहभागी हुन आह्वान गर्नुभयो ।
गजलकार राधा कणेलले श्रेष्ठको पछिल्लो सक्रियताले नेपाली गजल संगीतलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । घनेन्द्र ओझाले पनि २०८०-२०९०लाई साँच्चै नेपाली गजल गायनको स्वर्ण दशक बनाउन लागिपरेको बताउनुभयो । उहाँले केही महिनामा राधा कणेल, रश्मि असफल र आफ्नै गजल समेटिएको, दार्जिलिङका संगीतकार जीवनप्रकाश प्रधानको एकल संगीतमा तयार हुने ‘मतला’ एल्बम सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रम प्रभाती किरणको स्वागत र ज्ञानु विद्रोहीको सहजीकरणमा सम्पन्न भएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच