काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेको आसन्न महाधिवेशनले मुलुकमा विद्यमान राजनीतिक तथा संवैधानिक सङ्कटको सामना गर्नसक्ने क्षमतावान नेतालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । पार्टीको आसन्न ११औँ महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले देशभरका प्रतिनिधिले जेनजी आन्दोलनको भावनालाई समेटेर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।
तत्कालीन सरकारले जेनजी युवाको भावना बुझ्न नसक्दा देशमा उत्पन्न भएको गम्भीर अवस्थालाई दृष्टिगत गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउँदै उपाध्यक्ष शाक्यले उक्त नेतृत्वले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने र देशलाई समृद्धिको बाटोमा लैजानसक्ने विचार व्यक्त गर्नुभयो ।
कम्युनिष्ट आन्दोलनको मूलधार एमाले भएको बताउँदै उहाँले एमाले कमजोर हुँदा राष्ट्रियता कमजोर हुन जाने र देशको अस्तित्व सङ्कटमा पर्ने उल्लेख गर्नुभयो । उपाध्यक्ष शाक्यले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
केन्द्रीय सदस्य वृन्दा पाण्डेले पार्टीमा सामूहिक पद्धतिको अन्त्य भएसँगै विधि, नीति, प्रक्रिया तथा पद्धति कमजोर हुँदा आन्तरिक विवाद सिर्जना भएको बताउँदै जनताको बहुदलीय जनवादका नाममा पार्टीभित्र नेतृत्व अराजक भएर प्रस्तुत भएकाले विकल्प खोज्नुपर्ने प्रष्ट पार्नुभयो ।
पार्टी केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले कम्युनिष्ट पार्टीमा नेतृत्व हस्तान्तरणको खाँचो औँल्याउँदै जिम्मेवार र जवाफदेही नेतृत्व, सामूहिकता र सबैसँग सहकार्य गर्न सक्ने नेतृत्व अहिले आवश्यक रहेको बताउनुभयो । केन्द्रीय सदस्य शर्मिला कार्कीले गणतन्त्र संस्थागत गर्नका लागि अन्तर्पार्टी अभ्यास लोकतान्त्रिक हुन जरुरी रहेको बताउँदै नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने बताउनुभयो ।
पार्टी नेतृ सरिता न्यौपानेले नेतृत्वले अधिक्तम दुई वर्षको कार्यकाल पूरा गरेपछि पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने व्यवस्था वैज्ञानिक रहेको उल्लेख गर्नुभयो । अर्का नेत्री रचना खड्काले पार्टी नेतृत्व र जनताबीचको कुरा मिलेको छ कि छैन भनेर बुझेको व्यक्तिले मात्र पार्टीलाई सही दिशा निर्देश गर्नसक्ने बताउँदै पार्टीको अन्तिम निर्णय गर्ने अधिकार पार्टी सदस्यको हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच