काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ अन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै खेलेको विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटिँदा रोयल्स सहज रूपमा उपाधि दौडको अन्तिम चरणमा पुगेको हो ।
लक्ष्य पछ्याउन उत्रिएको विराटनगरको पारी निराशाजनक रह्यो । ओपनर तथा अनुभवी क्रिकेटर फाफ डु प्लेसिसले ३६ रन बनाएर टीमलाई टिकाइरहने प्रयास गरे पनि अन्य ब्याटरबाट अपेक्षित योगदान आएन । बसिर अहमदले १२ रन र मर्चेन्ट डि लङ्गले १५ रन बनाए पनि जुनसुकै चरणमा विराटनगर खेलमा फर्किन सकेन ।
सुदूरपश्चिमका बलरहरूले उत्कृष्ट सामूहिक प्रदर्शन गरे । स्कट कुगलिङ, हर्मित सिंह र अभिनाश बोहराले समान २-२ विकेट लिनुभयो । त्यस्तै, हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट निकाल्दै विराटनगरको पारी सहज रूपमा समेटे ।
सुदूरपश्चिमको पारीमा विनोद भण्डारी चम्किए
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो । ओपनर विनोद भण्डारीले ५२ बलमा ६३ रन बनाउनुभयो । उहाँले तीन चौका र दुई छक्का प्रहार गर्नुभयो । उहाँको साथमा सेल्डन ज्याक्सनले २० रन, इशान पाण्डेले १३ रन, हर्मित सिंहले १४ रन र आरिफ शेखले २० रन जोड्नुभयो । विराटनगरका बलरमध्ये प्रतिश जिसी र मर्चेन्ट डि लङ्गले समान २ विकेट लिँदै प्रभावकारी बलिङ गर्नुभयो । सूर्य तामाङ र साम हेजल्टले १-१ विकेट हात पानुभयो ।
समूह चरणको अन्तिम खेलमा विराटनगरसँग ४९ बल बाँकी रहँदा ६ विकेटले पराजित भएको सुदूरपश्चिमले क्वालिफायरमा भने उत्कृष्ट प्रतिशोध लिँदै फाइनल यात्रा पक्का गरेको हो । टोलीले ब्याटिङ-बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै उपाधि नजिक्याएको छ ।
पहिलो क्वालिफायरमा पराजित भए पनि विराटनगर प्रतियोगिताबाट बाहिरिएको छैन । फाइनल पुग्नका लागि उसले अब क्वालिफायर-२ खेल्नु पर्नेछ । यसका लागि विराटनगरले काठमाडौं नाइट्स र लुम्बिनी लायन्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्दै पुनः फाइनल प्रवेशको दाबी पक्का गर्नुपर्नेछ । दोस्रो क्वालिफायर खेलमा आज साँझ ४ बजे काठमाडौं नाइट्स र लुम्बिनी लायन्स भिड्दैछन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच