काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुन अब चार दिन मात्र बाँकी छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्यानल नै तयार गरेर नेतृत्वको लागि प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । महाधिवेशनको लागि जिल्लाहरूबाट प्रतिनिधि चयन भइसकेका छन् । राष्ट्रिय महाधिवेशनको संघारमा रहेको एमालेभित्र आगामी नेतृत्वको रस्साकस्सी पेचिलो बनिरहेकै बेला अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतिको अध्यक्ष बन्ने प्रयासमा हुनुहुन्छ । यसअघि पार्टीको १०औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा भीम रावल बाधक बन्नुभएको थियो ।
आसन्न ११औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने प्रयासका निम्ति ओलीले विभिन्न विकल्प अघि सार्नुभएको छ । पदाधिकारी थप्ने, स्थायी कमिटी ब्युँताउने, केन्द्रीय कमिटीको आकार बढाउनेसहित चयन प्रक्रियाका निम्ति विभिन्न क्लष्टर थप्नेसम्मको तयारी भइरहेको ओली निकटका नेताहरूको भनाइ छ । गत भदौ २०-२२ मा सम्पन्न विधान महाधिवेशनले एमालेको आगामी केन्द्रीय कमिटीमा १५ सदस्यीय पदाधिकारीसहित २५१ सदस्यीय कमिटीको व्यवस्था गरेको थियो । त्यसभित्र महिला, दलित, आदिवासी, जनजाती, मजदुरसहितको क्लष्टर थिए ।
स्थायी कमिटी खारेज गरी केन्द्रीय कमिटीभन्दा सानो आकारको पोलिटब्युरोको व्यवस्था गरिएको थियो । तर, अहिले आसन्न महाधिवेशनलाई आफूअनुकूल बनाउनको लागि ओलीनिकटका नेता र सचिवालयमा पदाधिकारी १९, स्थायी कमिटी ब्युँताउने, केन्द्रीय सदस्य थपेर ३५१ सम्म पुर्याउने र केन्द्रीय कमिटीमा प्रवेश गर्नका निम्ति दुई क्लष्टर थप्ने तयारी भएको छ ।
हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । तर, पोखरेललाई पुनः वरिष्ठ उपाध्यक्षकै जिम्मेवारी दिएर फकाउने प्रयास सुरु भएको छ । उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या थप्दै पोखरेल पक्षका नेतालाई पनि त्यसभित्र समेट्ने ओलीले तयारी गर्नुभएको छ । पदाधिकारीमा आकांक्षीको दबाब बढेसँगै १९ को संख्या कायम गरिने तयारी भएको छ । केही दिनअघि एक कार्यक्रममा अध्यक्ष ओलीले नै पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या थपिने विषयमा प्रष्ट संकेत गर्नुभएको थियो । एमालेमा अहिले ३५५ सदस्यीय केन्द्रीय कमिटी छ । महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीको विभिन्न जिम्मेवारीमा जान चाहनेले अहिले नेतृत्वलाई दबाब दिइरहेका छन् । तर, अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विधान महाधिवेशनले टुंगो लगाएको विषय नेतृत्व चयनका लागि भएको महाधिवेशनले फेरबदल गर्नु नहुने तर्क गरेको छ ।
पोखरेल पक्षीय स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले विधान संशोधन प्रस्ताव महाधिवेशनको हलमा लगे प्रतिवाद गर्ने चेतावनी दिँदै भन्नुभयो, ‘पार्टी भनेको कसैको प्राइभेट कम्पनी होइन । आफूअनुकूल विधान परिवर्तन गरेर नेता व्यवस्थापन गर्ने भए प्राइभेट कम्पनी खोले हुन्छ । यदि विधान परिवर्तन हुनुपर्छ भने दुई कार्यकालबाट बढी अध्यक्ष नहुने बनाऊँ । ओलीले म बिदा भएँ भन्नुपर्छ, ७० वर्षे उमेरहद पनि लागू गरौँ ।’ अध्यक्ष ओलीले यसअघि दुई कार्यकाल मात्रै पार्टी अध्यक्ष हुन पाउने विधान र ७० वर्षको उमेरहद आफू अध्यक्ष भएपछि हटाउनुभएको थियो ।
च्याँखे दाउ हेर्दै पोखरेल पक्ष
नेकपा एमालेको भावी नेतृत्वको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । अहिलेसम्म दुई नेताहरूबीच प्रतिस्पर्धा हुने टुंगो लाग्दा अन्य पदाधिकारीबारे दुवै पक्षबाट कुनै निर्णय भएको छैन । टिम सार्वजनिक नभए पनि पोखरेल र ओली आन्तरिक रणनीतिमा व्यस्त छन् । दुवै पक्ष एकअर्काका असन्तुष्टिमा पनि खेलिरहेका छन् । अध्यक्ष ओली पक्षको प्यानल सार्वजनिक नभएसम्म वरिष्ठ उपाध्यक्ष ईश्वर पक्षले पनि आफ्नो टिम सार्वजनिक नगर्ने रणनीति अपनाएको छ । दुवै पक्षले आफ्नो टिमबारे संवाद र छलफल गरिरहेका छन् ।
पोखरेल पक्ष ओलीको टिम सार्वजनिक नभएसम्म पर्ख र हेरको रणनीति रहेको निकट नेताहरूको भनाइ छ । गुण्डु मुकाम बनाउनुभएका ओली वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षलाई मनाएर पदाधिकारी संख्या १९ नै कायम गर्ने दाउमा रहनुभएको छ । तर, वरिष्ठ उपाध्यक्ष पोखरेल कुनै हालतमा अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने अडानमा छ । अहिले दुवै पक्ष पदाधिकारीसहितको प्यानल तयारीमा लागेका छन् । केन्द्रीय सदस्यमा भन्दा पदाधिकारीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिस्पर्धीहरू माधव नेपाल र भीम रावलको बाटोमा हिँड्नु हुँदैन : महासचिव पोखरेल
नेकपा एमालेमा नेतृत्व चयनका लागि तीव्र प्रतिस्पर्धाको संकेत देखिएको छ । तर, महासचिव शंकर पोखरेलले प्रतिस्पर्धी गर्नेहरूले भीम रावल र माधव नेपालको बाटोमा नहिँड्ने विश्वास व्यक्त गर्नुभएको छ । पोखरेलले पार्टीमा बलियो र अनुभवी नेतृत्वको आवश्यकता औँल्याउँदै अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको छ ।
पार्टीभित्रको प्रतिस्पर्धा मित्रवत् हुनुपर्ने र हार-जितपछि पनि पार्टीमा निष्ठाका साथ काम गर्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले भन्नुभयो, ‘यसअघिका पार्टी महाधिवेशनमा धेरै नेता पराजित भएर पनि पार्टी काममा निरन्तर लागेर फेरि महत्वपूर्ण जिम्मेवारीमा पुगेका दृष्टान्त छन् । हामीकहाँ अपवादका रुपमा भीम रावल जस्ता पात्रहरू पनि छन् । जसले परिणामलाई स्वीकार गर्न नसक्ने, पार्टीले बनाएका विधिलाई नमान्ने । हामी अपेक्षा गर्छौं कि प्रतिस्पर्धामा गर्ने कमरेडहरू भीम रावल र माधव नेपालको बाटोमा हिँड्नु हुने छैन ।’
अध्यक्ष केपीले समग्र महिलाको अपमान गरे : उपाध्यक्ष शाक्य
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति अपमानजन्य शब्द प्रयोग गर्दै समग्र महिलाकै अपमान गरेको आरोप लगाउनुभएको छ । आगामी महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहनुभएका ईश्वर पोखरेल समूहले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘धामी, झाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ? सामान्य मान्छेलाई त गर्न पाइँदैन, अझ पूर्वराष्ट्रपतिलाई यो शब्दले अपमान गर्न पाइन्छ ?’ एमाले अध्यक्ष ओलीले एक अन्र्तवार्तामा भण्डारीप्रति लक्षित गर्दै धामीले जस्तो ढ्याङढ्याङ पार्दै अध्यक्ष छोड् भन्दै आउने ? भनेर प्रश्न गर्नुभएको थियो । शाक्यले महिलाप्रतिको ओलीको दृष्टिकोण नै खराब रहेको आरोप लगाउँदै भन्नुभयो, ‘यो हद नेतृत्वलाई सुहाउँदैन, यो नेतृत्वले गर्न नै हुँदैन तर, गर्न हुन्छ, कसले गर्न हुन्छ ? केपी कमरेडले गर्न हुन्छ । किनभने उहाँको महिलाप्रति हेर्ने दृष्टिाकोण खराब छ ।’
प्रतिनिधिको अद्यावधिक अन्तिम चरणमा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समितिले प्रतिनिधिहरूको विवरण अद्यावधिक गरिरहेको छ । विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनीत हुनेछन् । मनोनीतसहित प्रतिनिधिको संख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिनुभएको छ । बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने पाउने हुँदा प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ सहभागी हुनेछन् । ती सबैका लागि यही मंसिर २५ गतेभित्र परिचयपत्र छपाइ सकिने तयारी गरिएको विभागले जनाएको छ ।
कांग्रेस सभापति देउवालाई निम्तो
पार्टीको ११औँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागीका लागि दलहरूलाई निम्ता दिन एमालेका नेताहरू दौडधुप सुरु गरेका छन् । महाधिवेशनको निम्तो दिनका लागि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेता महेश बर्तौला र एमाले सचिव रघुवीर महासेठ पुग्नुभएको थियो । एमालेले आफ्नो आसन्न महाधिवेशनको उद्घाटन समारोहमा विघठित संसद्मा प्रतिनिधित्व गर्नेसहित १६ दललाई निम्तो दिने निर्णय गरेको छ ।
महाधिवेशन उद्घाटनमा नेकपा, रास्वपा, राप्रपा, जसपा, जसपा नेपाल, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलाई निम्त्याइने एमालेले जनाएको छ । विघटित प्रतिनिधिसभामा नभएका मध्ये राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपाका नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेतालाई पनि बोलाइनेछ । नयाँ खुलेका दलहरू कुलमान नेतृत्वको उज्यालो नेपाल, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति, जनार्दन शर्माको प्रगतिशील नागरिक पार्टी लगायतलाई निम्ता नगरिने एमालेले जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच