काठमाडौं । आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । यस वर्षको दिवसको नारा ‘मानव अधिकार, हाम्रा दैनिक आवश्यकताहरू’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानव अधिकार घोषणापत्र जारी गरे पनि आधिकारिक रूपमा भने सन् १९५० मात्रै यो दिवस मनाउन थालिएको हो ।
यस दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन सभाले सबै देशलाई आमन्त्रित गरेको थियो । त्यसपछि सभाले ४२३ (भी) रेज्योलुसन पास गरी देश र सम्बन्धित संगठनहरूलाई १० डिसेम्बरलाई दिवसका रूपमा मनाउन सूचना जारी गरेको थियो ।
मानव अधिकारको सार्वभौमिक घोषणा ५०० भन्दा बढी भाषामा उपलब्ध छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बद्र्धधन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ ।
दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले शुभकामना सन्देश जारी गर्नुभएको छ ।
मानव अधिकार नै सभ्य समाजको आधार : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूप्रति शुभकामना व्यक्त गर्नुभएको छ । जारी सन्देशमा राष्ट्रपति पौडेलले सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मानव अधिकार नै सभ्य समाजको आधार भएकाले यस दिवसलाई विशेष महत्वका साथ मनाइने उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसले वहन गरेको वैश्विक सन्देशलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउँदै मानव अधिकार जन्मसिद्ध हक भएकाले यसको सम्मान, संरक्षण र सम्वद्र्धनमा नेपाल सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपालको संविधानले विश्वव्यापी मानव अधिकार घोषणापत्रका सिद्धान्तहरू अवलम्बन गर्दै स्वतन्त्रता, समानता र न्यायलाई मजबुत बनाउने काम गरेको छ भन्दै उहाँले नेपाल विभिन्न अन्तर्राष्ट्रिय सन्धि-सम्झौताका पक्ष राष्ट्र रहेको उल्लेख गर्नुभएको छ । उहाँले राज्यका सबै तहको सक्रियताले विशेषतः कमजोर तथा जोखिममा रहेका समुदायका हक–अधिकार सुनिश्चित गर्न योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारका रूपमा चित्रण गर्दै संविधानले व्यवस्था गरेको नागरिकका मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अझ प्रभावकारी पहल आवश्यक रहेको बताउनुभएको छ ।
देश युवा आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको चासो रहेको उल्लेख गर्दै उहाँले वर्तमान अवस्थालाई सामान्यीकरण गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता तथा सर्वसाधारण सबैको संयोजनकारी भूमिका आवश्यक रहेको धारणा राख्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबै पक्षको सहयोग अपेक्षित रहेको बताउँदै राष्ट्रपति पौडेलले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।
सन्देशको अन्त्यमा उहाँले मानव अधिकार दिवसले सबै निकायलाई मानव अधिकारको मर्म तथा भावना आत्मसात् गर्न प्रेरणा मिलोस् भन्ने आकांक्षा व्यक्त गर्नुभएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच