गएको भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनले २०७९ सालको निर्वाचनबाट आएको प्रतिनिधिसभा विघटन भयो । जेनजी आन्दोलनका बारेमा धेरै चर्चा नगरौँ, त्यसबारे जगजाहेर नै छ। अब कुरा गरौँ प्रतिनिधिसभा निर्वाचनको-सरकारले फागुन २१ गते निर्वाचन मिति तोकेको छ, यद्यपि आम जनमानसमा चुनाव फागुन २१ मै हुनेमा कुरामा शंका देखिन्छ । तर राजनीतिक दलहरूले निर्वाचन आयोगमा दल दर्तादेखि निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिरहेका समाचारहरूले आजभोलि बजार तताइरहेका छन् ।
यो पृष्ठभूमिपछि अब आजको मुख्य विषय-कालीकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन परिदृश्यमा प्रवेश गरौँ । कालीकोटमा एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको छ। यसअघि कालीकोटबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित हुनुहुन्थ्यो । कालीकोटमा लोकतान्त्रिक गणतन्त्र स्थापनादेखि निरन्तर माओवादी केन्द्र (साविक माओवादी) का उम्मेदवारहरू नै विजयी हुँदै आएका छन् ।
– २०६४ मा खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)
– २०७० मा महेन्द्रबहादुर शाही
– २०७४ मा दुर्गबहादुर रावत (नेकपा)
– २०७९ मा फेरि महेन्द्रबहादुर शाही
यसपटक फागुन २१ मा को विजयी हुन्छ अथवा कुन पार्टीका उम्मेदवार विजयी हुनेछन् भन्ने कालीकोटवासीहरूको मुख्य चासो र बहस अहिले त्यहीँ केन्द्रीत छ । के साविक माओवादी र समाजवादी पक्षहरूको एकीकरणबाट बनेको हालको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नै विजयी हुनेछन् ? कोही स्वतन्त्र उम्मेदवारले जित्ने सम्भावना छ कि छैन ? वा बारम्बार सत्तामा रहेकै कारण कांग्रेस वा एमालेले यसपटक बाजी मार्ने सम्भावना छ ?
यसपटकको निर्वाचन विगतभन्दा केही रोचक र फरक हुने देखिन्छ । किनकि यसपटक विप्लव नेतृत्वको पार्टी-नेकपा माओवादी (क्रान्तिकारी) पनि निर्वाचनमा सहभागी हुँदैछ । उक्त पार्टीका प्रमुख नेतामध्ये एक प्रकाण्डको गृह जिल्ला कालीकोट भएकाले यो चुनावी प्रतिस्पर्धा अझ चर्किने संकेत छ । यसअघि कालीकोटमा मुख्यतया तीन पार्टीबीच प्रतिस्पर्धा हुने गर्थ्यो, तर यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिलाई पनि कम आँक्न सकिँदैन ।
यदि कालीकोटमा प्रतिनिधिसभा निर्वाचनमा बाहिर चर्चा भएजस्तै-प्रकाण्ड, महेन्द्र शाही, भूपेन्द्रजंग शाही, नगिन्द्र शाही (नेश्नल) तथा अन्य स्वतन्त्र उम्मेदवारहरू उठे-चुनावी परिदृश्य यस्तो देखिन सक्छ :
निर्वाचनमा विशुद्ध पार्टी विचारधारामात्र होइन, भूगोल र जातीय संवेदनशीलताले पनि घनिभूत प्रभाव पार्दछ ।
यदि अघिल्लो जनमतका आधारमै पुनः भोट खस्यो भने नेकपाका सम्भावित उम्मेदवार महेन्द्रबहादुर शाहीलाई जित सहज हुनसक्छ ।
कालीकोटमा माओवादी एक्लैले पनि चुनाव जित्दै आएको इतिहास छ, यसपटक विभिन्न पार्टीहरूको एकीकरणमार्फत बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ भएका कारण जनमत अझ बलियो देखिन्छ ।
यसका बाबजुद महेन्द्रबहादुर शाही मन्त्री र मुख्यमन्त्री हुँदा कालीकोटको विकासमा उल्लेखनीय काम नगरेको आरोप भने उहाँमाथि रहँदै आएको छ ।
कालीकोटमा साविक १७ र १३ गाबिसको भूगोल-आधारित मनोविज्ञान आज पनि प्रभावशाली छ । महेन्द्र शाही, प्रकाण्ड, नगिन्द्र शाही तथा स्वतन्त्रका रूपमा चर्चामा रहेका प्रकाश न्यौपाने-सबै १७ गाबिस क्षेत्र का हुन् । भुपेन्द्रजंग शाही १३ गाबिस क्षेत्रबाट सम्भावित एकल उम्मेदवार बन्नसक्नुहुन्छ ।
१७ गाबिस तर्फ भोट धेरै उम्मेदवारमा बाँडिने सम्भावनाले १३ गाबिसका भोट भूपेन्द्रजंग शाहीतर्फ केन्द्रित हुनसक्छ । नेपाली कांग्रेस साविक जनमतअनुसार कालीकोटको दोस्रो ठूलो शक्ति हो ।
भूपेन्द्रजंग शाही पार्टीभित्र मात्र होइन, पार्टी बाहिर र स्वतन्त्र युवाबीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्छ । नेकपाका केही भोट प्रकाण्डतिर डाइभर्ट हुँदा त्यसको प्रत्यक्ष फाइदा पनि कांग्रेस उम्मेदवारलाई पुग्नसक्छ । यदि यी आधारहरू काम गरिहाले भने भूपेन्द्रजंग शाहीलाई जित सहज हुनसक्छ । तर, कांग्रेसले भूपेन्द्रजंग शाही बाहेक अरू कसैलाई टिकट दियो भने समीकरण उल्टिन सक्छ ।
प्रकाण्ड २०६४ सालमा कालीकोटबाट संविधानसभा सदस्य विजयी भइसकेका अनुभवी नेता हुन् । पूर्व मन्त्री र राष्ट्रिय छविका नेता भएकाले उहाँ यसपटक पनि शक्तिशाली विकल्पका रूपमा देखिनुहुन्छ ।
उहाँको बलका आधार
– विप्लव नेतृत्वको माओवादीको कालीकोटमा बलियो जनाधार
– प्रकाण्डको व्यक्तिगत करिश्मा
– माओवादी पृष्ठभूमिकै कारण नेकपाका केही असन्तुष्ट कार्यकर्ता–मतदाता उहाँतिर आकर्षित हुने सम्भावना
– जनार्दन शर्माको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ ले आफ्नै उम्मेदवार नदिएर प्रकाण्डलाई समर्थन गर्नसक्ने सम्भावना
– दलित समुदायको सहानुभूति र समर्थन (प्रकाण्ड स्वयं दलित समुदायका भएकाले)
यी सबै आधारले प्रकाण्ड कालीकोटको तेस्रो प्रमुख तर बलियो प्रतिस्पर्धी हुनुहुन्छ ।
जेनजी आन्दोलनपछि देशभर पुराना दलप्रति युवाहरूको आकर्षण घटेको छ । यसले कालीकोटमा पनि स्वतन्त्र तथा नयाँ शक्तिहरूलाई भोट बढाउने वातावरण बनाएको छ । यद्यपि प्रत्यक्ष जित्न उनीहरूलाई कठिन नै देखिन्छ । तर मत विभाजन गरिदिने निर्णायक भूमिका भने खेल्न सक्छन् ।
एमालेलाई संगठनात्मक रूपमा मजबुत पार्टी मानिन्छ । यदि नगेन्द्र शाही ‘नेसनल’ ले– विगतको जनमत जोगाए– नयाँ मतदाता आकर्षित गरे त्यस अवस्थामा मात्र उहाँ प्रतिस्पर्धी बन्नसक्नुहुन्छ । तर, उहाँलाई जित्न कडा मेहनत र बलियो अभियान आवश्यक देखिन्छ ।
निष्कर्ष
कालीकोटमा प्रत्यक्ष प्रतिस्पर्धा चार पक्षबीच देखिए पनि मुख्य भिडन्त नेकपा र कांग्रेसका उम्मेदवारबीच हुने सम्भावना अत्यन्त बलियो छ । तर, प्रकाण्ड र स्वतन्त्र-नयाँ शक्तिको उपस्थिति निर्णायक मोडहरूको कारण बन्नसक्छ ।
अन्ततः निर्णय कालीकोटवासी मतदाताकै हातमा छ ।
(लेखक शाही सामाजिक क्षेत्रमा सक्रिय युवा हुन् ।)







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच