काठमाडौँ । संस्कृति र सम्पदाका हिसाबले महत्त्वपूर्ण भए पनि ललितकला पत्रकारितामा चुनौतीका चाङ हुँदा पत्रकारहरुलाई उक्त बिटमा टिकाइ राख्न समस्या देखिएको छ । आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले सो समस्या औँल्याएका हुन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आज प्रतिष्ठान नक्सालमा ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा सहभागीहरुले समग्र कला क्षेत्रकै विकासका लागि राज्यको बलियो उपस्थिति हुनुपर्नेमा जोड दिएका हुन् ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्र्यक्रममा कला लेखक तथा राससकर्मी नारायण ढुङ्गानाले ‘कला पत्रकारिताका अवस्था र चुनौती’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो क्रममा उहाँले कला पत्रकारितामा राज्यको लगानी कम हुनु, कला क्षेत्रका सङ्घसंस्थाको भूमिका न्यून हुनु, कला पत्रकारितमा यस विधाका पत्रकारले आफ्नो भविष्य नदेख्नु र मूलधारका मिडिया सञ्चालक तथा सम्पादकहरुको प्राथमिकतामा नपर्नुले पनि कला पत्रकारिता फस्टाउन नसकेको उल्लेख गर्नुभयो ।
पत्रकार ढुङ्गानाले कला पत्रकारिताको सुरुआती, विगत र वर्तमान अभ्यासको चर्चा गर्दै यसका अवस्था, चुनौती र यसको विकास, प्रवर्द्धनमा गर्नुपर्ने कार्यका बारेमा जानकारी गराउनुभएको थियो । साथै उहाँले समाजमा कलाको गतिविधिलाई बढावा दिन सबै क्षेत्र र सरोकारी निकाय लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार सुशीला तामाङले विगतमा मूलधारका पत्रपत्रिकाहरुले कला पत्रकारिताको विधा नै छुट्याएर समाचार दिने गरेको र कला पत्रकारकै रुपमा नियुक्ति दिएका भए पनि कोभिडपछि त्यो विधा नै हटाएका कारण पत्रकारहरु पलायन हुन बाध्य भएको बताउनुभयो ।
उहाँले कला पत्रकारिताको क्षेत्रको अवस्था, महिला पत्रकारले दिएको योगदान तथा ललितकला पत्रकारितालाई व्यवस्थित ढङ्गबाट सक्षम र सशक्त बनाउन राज्यबाट नीतिगत तहमै पहल आवश्यक रहेको बताउनुभयो ।
गोरखापत्रकी पत्रकार चाँदनी हमालले कला संस्कृति मुलुकको पहिचान भएकाले यसको विकास र प्रवर्द्धनमा कला पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने हुँदा समस्या समाधानमा सामूहिक प्रयास जरुरी रहेको बताउनुभयो ।
राससकर्मी मधु शाहीले कला पत्रकारितामा मुख्य गरी आर्थिक समस्या रहेको औँल्याउँदै राज्य र प्रतिष्ठानले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति हार्तम्छालीले कलाको गतिविधिलाई स्थानीय तवरबाटै सक्षम र सशक्त बनाउन कला पत्रकारिताको भूमिका अहम् रहने बताउनुभयो । उहाँले प्रतिष्ठानले कला खोज, अनुसन्धान, सम्मान, पुरस्कारलगायतका क्षेत्रमा आफ्नो क्षमतानुसारको काम गरिरहेको धारणा राख्नुभयो ।
हार्तम्छालीले सामाजिक, सांस्कृतिक रूपान्तरणमा कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसबारेको सम्प्रेषण गर्नु र यस क्षेत्रका समस्याको समेत खोजी गर्नु कला पत्रकारको दायित्व भएको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकला संस्कृति र सभ्यतासँग जोडिएको विषय भएको र यसको आयामलाई जनस्तर एवं विश्वमा फैलाउनु आजको आवश्यकता भएकाले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमकामा पत्रकार जगत् वाशिष्ठ, दिवेशमान सिंह प्रधान, ओमप्रकाश घिमिरे, डिल्ली आचार्य, विनोद कार्की, प्राध्यापक नवीन्द्र लिम्बू, लेखक अग्निप्रसाद पौडेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच