काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य बुधबार पुनः प्राधिकरणमा फर्किनुभएको छ । पदबहालीका क्रममा उहाँले वर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग मिलेर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
शाक्यले ऊर्जामन्त्री घिसिङ र आफू दुवै प्राधिकरणकै पृष्ठभूमिबाट आएकाले काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘ऊर्जामन्त्रीज्यू र म दुवै प्राधिकरणका क्याडर हौं । हामीले यो क्षेत्र बुझेका छौँ । त्यसैले उहाँले मलाई पूर्णरूपमा सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’
ऊर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको सरुवा निर्णय सर्वोच्च अदालतले प्रतिशोधपूर्ण भन्दै उल्टाइदिएपछि प्राधिकरणमा पुनः पदबहाली गर्दै शाक्यले आफू एमडी भएकै कारणमात्र हटाइनुपरेको र अब अदालतबाट न्याय पाएर फर्किएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्राधिकरणको एमडी भएकै कारणले जुन दुर्घटना मैले बेहोर्नुपर्यो, दुर्ई अढाई महिनाको दुःखद् समयपछि न्याय पाएर फर्किएको छु । अब आफ्ना कार्यक्रममा पहिलाभन्दा पनि अझ बढी जोश र लगनशीलतासहित काम गर्नेछु ।’ अबको साढे तीन वर्ष निश्चित लक्ष्य पूरा गर्ने गरी लाग्ने र सरकारको नीति निर्देशनबमोजिम प्राधिकरणको हकहितलाई सर्वोपरी ठानेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कुलमान घिसिङ ऊर्जामन्त्री नियुक्त भएलगत्तै घिसिङको प्रस्तावमा शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको थियो । उक्त निर्णयविरुद्ध शाक्य सर्वोच्च अदालत जानुभएको थियो ।
सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले मन्त्री घिसिङको प्रस्तावलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण ठहर गर्दै शाक्यलाई तत्काल कार्यकारी निर्देशक पदमा पुनस्र्थापित गर्न आदेश दिएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर