धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था खारेज गर्न आफू लागेको बताउनुभएको छ । बुधबार काभ्रेको धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहमा कार्कीले शैक्षिक संस्थामा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको जानकारी दिनुभएको हो ।
सो विश्वविद्यालयका कुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, विश्वविद्यालयहरूका कुलपति, उपकुलपति र अन्य सरोकारवालाहरूसँग गम्भीर परामर्श गरिरहेको जानकारीसमेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यक्ताको बोध भएको छ । शिक्षामन्त्री महावीर पुनजीले शिक्षाविद् विश्वविद्यालयको कुलपति, उपकुलपतिलगायत उच्च नेतृत्व र अन्य सरोकारवालाहरूसँग यस विषयमा गम्भिर परामर्श र गृहकार्य गरिरहनु भएको छ । ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ । यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्नेछ भन्ने हाम्रो विश्वास छ । नेपालको उच्च शिक्षालाई सुधार गर्न काठमाडौं विश्वविद्यालयले गरेका सकारात्मक पहल र ढाँचालाई अन्य विश्वविद्यालयले समेत अनुशरण गर्नुपर्ने मैले देखेको छु ।’
उक्त समारोहमा प्रधानमन्त्री कार्कीले नेपालको उच्च शिक्षा सुधारमा काठमाडौं विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै त्यसको अनुशरण गर्दै अघि बढ्न अन्य विश्वविद्यालयहरूलाई पनि सुझाव दिनुभएको थियो ।
दुई हजार २०९ जना विद्यार्थी दीक्षित
काठमाडौं विश्वविद्यालयमा अध्ययनरत दुई हजार २०९ जना विद्यार्थी दीक्षित भएका छन् । केयुका उपकुलपति प्राडा. अच्युत वाग्लेका अनुसार ३१औँ दीक्षान्त समारोहमा स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनबाट २९४, स्कुल अफ इञ्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ जना र स्कुल अफ साइन्सका १९७ जना गरी कुल दुई हजार २०९ जना विद्यार्थी दीक्षित भएका थिए । दीक्षितमा पुरुष ५२ दशमलव २४ प्रतिशत अर्थात् एक हजार १५४ जना र महिला ४७ दशमलव ७६ प्रतिशत एक हजार ५५ जना छन् ।
स्नातकोत्तर तहमा सबैभन्दा बढी चार सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस् इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एण्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कयास्टिलानो मेन्चासालाई चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो । यस्तै, स्नातक तहमा सबैभन्दा बढी ८५ दशमलव ४५ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरव सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए तीन दशमलव ९४ ल्याउने स्कुल अफ म्यानेजमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक ३.९४ सजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका सौगात दंगाललाई प्रदान गरिएको थियो ।
त्यस्तै, स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रालाई प्रदान गरिने न्हुछेरत्न तुलाधर स्वर्ण पदक ८२ दशमलव १७ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ लुम्बिनी मेडिकल कलेजकी रक्षा तिवारी, स्नातक तह (स्कुल अफ म्यानेजमेन्ट) मा सबैभन्दा बढी सिजिपिए तीन दशमलव ९९ प्रतिशत प्राप्त गर्ने स्वस्तिका आचार्यलाई प्रेमराज पन्त स्वर्णपदक र ब्याचलर अफ बिजनेस मेनेजमेन्ट र ब्याचलर अफ ल कार्यक्रममा सबैभन्दा बढी सिजिपिए तीन दशमलव ३९ प्राप्त गर्ने स्कुल ल का आल्सा रेग्मीलाई दिनेश थापा स्वर्णपदक प्रदान गरिएको थियो । हालसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको संख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको संख्या पाँच हजार ८६० अर्थात् करिब १२ प्रतिशत रहेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच