लण्डन । साउदी अरेबियन व्यावसायिक लिग क्लबहरूले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रभावशाली खेलाडी मोहम्मद सलाहलाई भित्र्याउन छलफल अगाडि बढाएका छन् । पछिल्लो समय क्लबका पदाधिकारी र प्रमुख प्रशिक्षक आर्ने स्लटसँग सम्बन्ध चिसिँदै गएपछि ३३ वर्षीय सलाहले लिभरपुल छाड्ने चर्चा बाक्लिएको हो । आपसी मतभेदकै कारण लिभरपुलले अग्रपंक्तिका प्रभावशाली खेलाडी सलाहलाई च्याम्पियन्स लिगको आफ्नो पछिल्लो खेलमा मैदानमा उतारेको थिएन ।
इटालियन क्लब इन्टर मिलानविरुद्धको उक्त खेलमा सलाहलाई बाहिर राखिएको थियो । यद्यपि, उक्त खेलमा लिभरपुलले इन्टर मिलानलाई १-० गोलले हराएको थियो । इंग्लिस प्रिमियर लिगको जारी सिजनमा लिभरपुलले ज्यादै निराशाजनक प्रदर्शन गर्दै आएको छ । गत शनिबार लिड्समा खेलिएको खेलमा पनि लिभरपुल ३-३ गोलको बराबरीमा रोकिएको थियो । प्रिमियर लिग तालिकामा १५ खेलबाट २३ अंक बटुल्दै लिभरपुल १०औँ स्थानमा छ । प्रिमियर लिगमा लिभरपुलले केवल सात जित, दुई बराबरी र ६ हारको नतिजा निकालेको छ ।
क्लबको निरन्तर खराब प्रदर्शनको दोष आफ्नो टाउकोमा थोपरिएको दाबी सलाहले गर्दै आउनुभएको छ । इजिप्टको राष्ट्रिय टोलीको कप्तानसमेत रहनुभएका सलाहले यसप्रति असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । ‘फुटबल सामूहिक खेल हो । त्यसैले खराब प्रदर्शनको जिम्मा कुनै एक खेलाडीको टाउकोमा थोपर्न मिल्दैन । तर, अहिले सबै दोष मलाई लगाइएको छ,’ उहाँले भन्नुभयो ।
लिभरपुलसँग सलाहको सम्बन्ध बिग्रँदै गएपछि साउदी व्यावसायिक लिगले उहाँलाई भित्र्याउने तयारी अगाडि बढाएको प्रमुख कार्यकारी ओमर मुघारबेलले बताउनुभयो । ‘साउदी व्यावसायिक लिग समकालीन विश्व फुटबलका प्रभावशाली खेलाडी मोहम्मद सलाहलाई भित्र्याउन आतुर छ,’ रियादमा आयोजित विश्व फुटबल सम्मेलनमा ओमरले भन्नुभयो ।
सलाहले गत अप्रिलमा लिभरपुलसँग दुई वर्षका लागि सम्झौता नवीकरण गर्नुभएको थियो । तर, आगामी जनवरीमा उहाँले क्लब छाड्ने सम्भावना छ । खासगरी साउदी क्लब अल-इत्तिहादले सलाहलाई भित्र्याउन बढी चासो देखाएको छ । सन् २०२३ मा पनि अल-इत्तिहादले सलाहलाई १५ करोड पाउण्डको प्रस्ताव राखेको थियो । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच