लण्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनी महारथी रियल मड्रिडलाई हराएको छ । रियलकै मैदानमा बुधबार राती सम्पन्न खेलमा सिटीले रियललाई २-१ ले हराएको हो । सिटीको जितमा निको ओ’रिली र एर्लिङ हालाण्डले गोल गर्नुभयो । रियलका रोड्रिगोले एक गोल गर्नुभयो । खेलका सबै गोल पहिलो हाफमै भए । दोस्रो हाफमा कुनै गोल भएनन् । सुरुवाती अग्रता पनि रियलले नै लिएको थियो । २८औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाउनुभएको थियो । ३५औँ मिनेटमा ओ’रिलीले बराबरी गोल फर्काउनुभयो । ४३औँ मिनेटमा हालाण्डले पेनाल्टीमार्फत् गोल गर्दै सिटीलाई अघि बढाउनुभयो । त्यसपछि दोस्रो हाफमा कुनै गोल भएनन् र सिटी २-१ ले विजयी भयो ।
हारसँगै रियलको खराब फर्म झनै गहिरिएको छ । पछिल्ला आठ खेलमा टोलीले जम्मा दुई जित निकालेको छ । १२ अंकसहित रियल तालिकाको सातौं स्थानमा झरेको छ । १३ अंक रहेको सिटी भने चौथो स्थानमा उक्लिएको छ । खेलपछि रोड्रिगोले निराशा व्यक्त गर्दै भन्नुभयो, ‘हामीले उत्कृष्ट सुरुवात ग¥यौं । खेलमा केही साना गल्तीले नतिजा पल्टियो । यस्तो गल्ती हुँदैन भन्नका लागि हामी यसकै अभ्यास गर्छौं तर यस्तै हुन्छ । अगाडि बढ्नैपर्छ ।’
च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत यात्रालाई कायम राख्दै आर्सनलले बेल्जियमको क्लब ब्रुगमाथि ३-० को सहज जित निकाल्यो । नोनि माडुएकेको दुई गोल र ग्याब्रियल मार्टिनेलीको अर्को प्रहारले जन ब्रेडेल स्टेडियममा आर्सनललाई फेरि एकपटक प्रभावशाली बनाएको हो । लगातार ६ खेलमै जित दर्ता गरेको आर्सनल शीर्ष आठमा पुग्ने निश्चित छ । योसँगै फेब्रुअरीको नकआउट प्लेअफ छुटाएर सिधै मार्चको अन्तिम १६ मा स्थान पाउनेछन् । ब्रुग भने चार अंकमै अड्किएको छ र बाहिरिने जोखिम झनै बढेको छ ।
इन्जुरीले ग्रस्त टोलीलाई फ्रेस बनाउन प्रशिक्षक मिकेल आर्टेटाले पाँच परिवर्तन गर्नुभएको थियो । लगभग एक वर्षपछि ब्राजिलियन स्ट्राइकर ग्याब्रियल जिसस मैदान फर्किनुभयो । उहाँले दोस्रो हाफमा करिब ३० मिनेट खेल्नुभयो । २५औँ मिनेटमा माडुएकेले व्यक्तिगत कौशल देखाउँदै गोल हान्नुभयो । हाफलाइनबाट बल लिएर ड्राइभिङ रन र अन्त्यमा टप कर्नरमा सानदार प्रहार गर्नुभयो । ३९औँ मिनेटमा स्टान्कोभिकको कर्लिङ सट बाहिरिएपछि ब्रुगले बराबरीको मौका गुमाएको थियो । त्यसपछि ट्जोलिस र स्टान्कोभिकको प्रहार रोकेर डेविड रायाले आर्सनललाई सुरक्षित राख्नुभयो ।
तर, दोस्रो हाफ सुरु भएको दुई मिनेटमै मार्टिन जुबिमेन्डीको क्रसमा माडुएकेले हेड गर्दै आफ्नो दोस्रो गोल थप्नुभयो । नौ मिनेटपछि मार्टिनेलीले आफ्नो च्याम्पियन्स लिगको निरन्तर स्कोरिङ क्रम जारी राख्नुभयो । बायाँ विङबाट कट-इन गर्दै दाहिने खुट्टाबाट हानेको उहाँको प्रहार सिधै जालीभित्र गयो । ब्रुग भने सोमबारै प्रशिक्षक निक्की हायनलाई बर्खास्त गरेको अस्थिरताबीच खेलेको थियो । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच