काठमाडौं । नेपाली फुटबलमा अनिश्चितता गहिरिँदो क्रममा रहेकामा पछिल्ला महिनाहरूमा युवा खेलाडीहरूको विदेश पलायन तीव्ररूपमा बढिरहेको छ । यही क्रमलाई निरन्तरता दिँदै उदीयमान अट्याकिङ मिडफिल्डर अनिल बोम्जन लामा अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।
बुधबार राती अष्ट्रेलिया जाने विमान चढ्नुभएका अनिलले देशमा फुटबलको भविष्य अनिश्चित देखिएपछि नयाँ अवसरको खोजीमा विदेश यात्रा गरेको परिवारले जनाउनुभयो । विभागीय टोली त्रिभुवन आर्मी क्लबका नियमित सदस्य रहनुभएका अनिलले गत जेठमा सम्पन्न शहीद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युवा क्लबबाट समेत उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।
गोदावरी नगरपालिका-६, टिकाभैरवका १९ वर्षीय अनिल उमेर समूहका प्रतियोगितामा पछिल्ला वर्षहरूमा नेपालका प्रमुख खेलाडीका रूपमा स्थापित हुँदै आउनुभएको थियो । सन् २०२२ मा काठमाडौंमा सम्पन्न साफ यू-१९ च्याम्पियनसिपमा प्रशिक्षक सुनिल श्रेष्ठको नेतृत्वमा खेलेको नेपाली टोलीमा उहाँ प्रमुख मिडफिल्डर हुनुहुन्थ्यो । त्यसको एक वर्षपछि नेपालमै आयोजना भएको साफ यू-२० च्याम्पियनसिपमा पनि प्रशिक्षक उर्जन श्रेष्ठको टोलीमा उहाँ महत्वपूर्ण सदस्य बन्नुभयो ।
उहाँ अन्तिमपटक एएफसी यू-२० एसियन कप छनोट (चाइनिज ताइपेई, सेप्टेम्बर २०२३) मा राष्ट्रिय टोलीका लागि मैदान उत्रिनुभएको थियो । गत वर्षको डुरान्ड कप (जमशेदपुर, भारत) मा त्रिभुवन आर्मी क्लबबाट प्रतिनिधित्व गर्दै उहाँले क्लब फुटबलमा पनि आफ्नो प्रभाव जमाउनुभएको थियो ।
नेपाली फुटबल लामो समयदेखि अव्यवस्थित रहँदा खेलाडीहरू वैकल्पिक भविष्यको खोजीमा विदेशिन बाध्य भइरहेका छन् । अनिलभन्दा तीन दिनअघि उहाँका सहकर्मी आयुष तिम्सिना अष्ट्रेलिया पुग्नुभएको थियो । पाँच दिनअघि मात्र साफ यू-१८ च्याम्पियनसिप (२०७६) का तत्कालीन कप्तान जय गुरुङले पनि अष्ट्रेलियालाई नयाँ गन्तव्य बनाउनुभयो । युवा टोलीका अन्य सदस्य पनि एकपछि अर्को गरी विदेश लागिरहेका छन् ।
साढे दुई महिनाअघि गोलकिपर जियारथ सेख, तीन साताअघि डिफेन्डर अश्विन घोरासैनी (र्याकी) अष्ट्रेलिया पुग्नुभएको थियो । यी दुवै खेलाडी पनि अनिलकै यू-२० टोलीका सहकर्मी हुनुहुन्छ ।
नेपाली फुटबलमा लिग सञ्चालन समयमै नहुनु, खेलाडीको भविष्य सुनिश्चित गर्ने स्पष्ट योजना नबन्नु र मन्त्रालयदेखि नेफासम्मको गैरजिम्मेवारीपूर्ण व्यवस्थापनका कारण युवा खेलाडीहरूको ‘करियर प्लान’ प्रभावित भइरहेको खेल विवेचकहरूको टिप्पणी छ । क्लबहरू आर्थिक समस्यामा छट्पटाइरहेका, राष्ट्रिय लिग अनिश्चिततामा रहेको र खेलाडीको जागिर सुरक्षा स्पष्ट नहुँदा उत्कृष्ट प्रतिभाहरू पहिचान भएर पनि विदेशिन बाध्य भएको तर्क खेल क्षेत्रका सरोकारवालाहरू राख्ने गर्छन् ।
अन्तर्राष्ट्रियस्तरमा सम्भावना देखाएका युवा खेलाडीहरू एकपछि अर्को गरी देश छाड्नु नेपाली फुटबलका लागि चुनौतीमात्र होइन, संकटको संकेत पनि भएको खेलविज्ञहरूको भनाइ छ । उदीयमान खेलाडीहरूको निर्यातजस्तो स्थितिले देशको फुटबल संरचना कति कमजोर छ भन्ने पनि झल्काएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच