काठमाडौं । आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलकुद इतिहासमै नयाँ अध्याय कोर्ने काम चन्दबहादुर थापाले गर्नुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन जारी राख्दै उहाँले पुरुष ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गर्दै कम्तीमा कांस्य पदक सुनिश्चित गर्नुभएको छ । विश्वस्तरको प्रतिस्पर्धामा नेपालका तर्फबाट प्राप्त यो उपलब्धि उल्लेखनीय मानिन्छ ।
बुधबार सम्पन्न क्वाटरफाइनल भिडन्तमा चन्दबहादुरले प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम चारमा स्थान बनाउनुभएको हो । सेमिफाइनल पुगेसँगै उहाँले विश्व च्याम्पियनसिपको पुरस्कार संरचनाअनुसार ७५ हजार अमेरिकी डलर प्राप्त गर्ने सुनिश्चित भएको छ, जसको नेपाली रूपान्तरण करिब एक करोड सात लाख २५ हजार रुपैयाँ बराबर पर्छ ।
आइबा (इन्टरनेसनल बक्सिङ एसोसिएसन) ले विश्व च्याम्पियनसिपका विजेतालाई आकर्षक पुरस्कार राशि प्रदान गर्दै आएको छ । सोहीअनुसार पहिलो स्थान हासिल गर्ने बक्सरले तीन लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रो अर्थात् सेमिफाइनलमा हार बेहोर्ने दुई बक्सरले ७५ हजार अमेरिकी डलर पाउने व्यवस्था छ । यस प्रावधानअनुसार चन्दबहादुरले पदकसँगै ठूलो आर्थिक पुरस्कार पनि हात पार्नुहुनेछ ।
रोल्पा निवासी चन्दबहादुर थापा नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आउनुभएको छ । उहाँ १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा नेपाली बक्सिङमा चिनिएको नाम भूपेन्द्र थापा मगरका कान्छा भाइ पनि हुनुहुन्छ । दाजुभाइ दुवैले अन्तर्राष्ट्रियस्तरमा नेपालको बक्सिङ क्षमता उजागर गरिरहनुभएको छ ।
अब चन्दबहादुरले फाइनल प्रवेशका लागि काजकिस्तानका प्रख्यात बक्सर साकेन बिबोसिनोभसँग प्रतिस्पर्धा गर्नुहुनेछ । बिबोसिनोभ सन् २०२१ को विश्व च्याम्पियनसिपका विजेता तथा टोकियो ओलम्पिकका कांस्य पदकधारी बक्सर हुनुहुन्छ । कठिन प्रतिद्वन्द्वी भए पनि हालको फर्म र आत्मविश्वासका आधारमा चन्दबहादुरबाट अझ ठूलो चमत्कारको अपेक्षा गर्न सकिन्छ ।
नेपाल बक्सिङ संघका अधिकारीहरूका अनुसार चन्दबहादुरको यो उपलब्धिले नेपाली बक्सिङको अन्तर्राष्ट्रिय पहिचान बलियो बनाएको छ । देशका खेलप्रेमी तथा खेलकर्मीहरूले उहाँलाई सेमिफाइनल तथा सम्भावित फाइनलमा उत्कृष्ट प्रदर्शनको शुभकामना दिएका छन् ।
नेपाली खेलकुदका लागि प्रतीकात्मक तथा ऐतिहासिक मानिएको यो सफलता अब कत्तिको उच्चतामा पुग्छ भन्ने उत्सुकता बढेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच