काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका विभिन्न खाद्य व्यवसायहरूको अनुगमन गर्दै खाद्य स्वच्छता र गुणस्तरमा समस्या रहेको जनाएको छ । विभागका अनुसार गत मंसिर २१ र २२ गते गरिएको अनुगमनमा हट लाइभ बेकरी, क्वालिटी हस्पिटालिटी सर्भिस, जनकनाथ माध्यमिक विद्यालयको चमेना गृह र गाउँले कटेजलगायतमा सरसफाइ, खाद्य पदार्थ भण्डारण र उत्पादन प्रक्रिया अव्यवस्थित रहेको भेटिएको हो ।
हट लाइभ बेकरीमा उपभोग्य मिति गुज्रेका विभिन्न फ्लेवर र कलर इमल्सन फेला परेको र फ्रिज प्रयोग अव्यवस्थित रहेको पाइएपछि ती खाद्यवस्तुहरू जफत गरी नष्ट गरिएको विभागले जनाएको छ ।
त्यस्तै, बेकरी सर्टेनिङ प्रयोग गरेर तयार पारिएका ब्रेड र कुकिजको नमुना संकलन गरिएको छ भने बेकरी प्रशोधन कक्ष र स्टोर व्यवस्थित गर्न, लेबल विवरण पूर्ण भएका मात्र खाद्यवस्तु बिक्री गर्न र सुधार १५ दिनभित्र पेश गर्न निर्देशन दिइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्य तीन व्यवसाय-क्वालिटी हस्पिटालिटी सर्भिस, जनकनाथ चमेना गृह र गाउँले कटेजमा पनि सरसफाइ सन्तोषजनक नभएको, खाद्य पदार्थ अव्यवस्थित भण्डारणमा राखिएको, फोहोर फाल्ने डस्टबिन नछोपी राखिएको तथा कामदार कर्मचारीको व्यक्तिगत सरसफाइमा समस्या देखिएको छ । विभागले उल्लेखित व्यवसायहरूलाई खाद्य स्वच्छता कायम गरी सञ्चालन गर्न, सम्पूर्ण अभाव सुधार गर्न र तयारी खाद्य पदार्थमा प्रत्यक्ष सम्पर्क गर्दा मास्क वा उचित सुरक्षा सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।
नाङ्लो बेकरीका उत्पादनमा पनि कैफियत
विभागले नाङ्लो बेकरी प्रालिले उत्पादन गरेको क्रोसियनमा कैफियत भेटिएपछि फिर्ता गर्न निर्देशन दिएको छ । विभागको बजार अनुगमन र प्रयोगशालामा गरिएको परीक्षणमा उक्त खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याटको मात्रा अधिकतम दुई प्रतिशतभन्दा बढी पाइएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) र उपदफा (४) अनुसार विभागले सो ब्याचका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न र बिक्रीवितरण नगर्न निर्देशन दिएको छ । विभागले सो ब्याचका खाद्य पदार्थ उपभोक्तालाई नखान र फिर्ता प्रक्रिया पालनामा सहयोग गर्न पनि आग्रह गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच