विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमै स्वरोजगार र रोजगारको अवसर पहिल्याउने लक्ष्यसाथ उद्योग संगठन मोरङले बिजनेस एट स्कुल कार्यक्रमको पहिलो शृंखला नरग्राम माध्यमिक विद्यालय, बुढीगंगाबाट सुरु गरेको छ । कार्यक्रम शुभारम्भ गर्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले समय परिवर्तनशील भएकाले परिवर्तित समयसँगै आफ्नो सीप तथा दक्षता अभिवृद्धि गर्न मार्गदर्शन र प्रेरणा अत्यावश्यक हुने कुरा आत्मसात गरी संगठनले बिजनेस एट स्कुल कार्यक्रमको अवधारणा अघि ल्याएको बताउनुभयो । कार्यक्रमले विद्यार्थी भाइबहिनीलाई स्वदेशमै सफल उद्यमी बन्न सक्ने अवसर देखाउने उहाँको भनाइ थियो ।
कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले स्थानीय तह यसप्रकारका कार्यक्रमप्रति सदैव सकारात्मक रहेको भन्दै युवालाई स्वदेशमै सम्भावनाको बाटो देखाउने यस्ता पहल स्थानीय तहका लागि गर्वको विषय भएकाले गाउँपालिकाले समेत उद्यमशीलता प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख दामोदर फुयालले कार्यक्रमले शिक्षालाई व्यावहारिकताको दिशामा उन्मुख गराउने उल्लेख गर्दै शैक्षिक ज्ञानसँगै वास्तविक क्षेत्रको अनुभव आवश्यक हुने र उद्योग क्षेत्रमा रहेका अवसर तथा चुनौती विद्यार्थीले नजिकबाट बुझ्न यसप्रकारको कार्यक्रम अति उपयोगी हुने बताउनुभयो ।
नरग्राम माध्यमिक विद्यालय, बुढीगंगाका व्यवस्थापन समितिका अध्यक्ष ईश्वरप्रसाद कोइरालाले विद्यालयका विद्यार्थी लक्षित यस पहलले कक्षाकोठाभित्र सीमित रहेको सिकाइलाई जीवन उन्मुख बनाउने भन्दै विद्यार्थीले आफ्नो रुचि, क्षमता र भविष्यका सम्भावना स्पष्टरूपमा पहिचान गर्न कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
नरग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश केसीले विद्यालयमा सुरु भएको उक्त अभियानको स्वागत गर्दै कार्यक्रम विद्यार्थीहरूका लागि प्रेरक बन्ने र व्यावहारिक तालिम, काउन्सेलिङ र उद्यमशीलतासम्बन्धी सीपले उनीहरूलाई भविष्य निर्माणमा ठूलो टेवा पु¥याउने बताउनुभयो । बिजनेस एट स्कुल कार्यक्रमले विद्यार्थीलाई उद्योग तथा सेवा क्षेत्रका कार्यविधि प्रत्यक्षरूपमा बुझाउने, विषयगत विज्ञबाट काउन्सेलिङ प्रदान गर्ने, व्यवसाय सुरु गर्ने आधारभूत प्रक्रिया, लगानी तथा जोखिम व्यवस्थापनजस्ता कौशल सिकाउने अवसर उपलब्ध गराउने कार्यक्रमका संयोजक सिर्जन प्याकुरेलले जानकारी दिनुभयोे ।
कार्यक्रममा मनमोहन पोलिटेक्निकले इन्टरनेट अफ थिंग्स, ज्ञान अटोमेसनले इण्डष्ट्रिज अटोमेसन, शीर्षक इन्टरप्राइजेजले सिसिटिभि क्यामेरा सेटअपका विषयमा कक्षा ११ र १२ का विद्यार्थीका लागि टेष्ट द ट्रेनिङ कार्यक्रम सञ्चालन गरेका थिए भने सोही अवधिमा करियर काउन्सेलिङ, सीप तथा उत्पादन प्रदर्शनी, लाइभ तालिम, बिजनेस आइडिया प्रस्तुति तथा सफल उद्यमीहरूका अनुभवहरू साटासाट गरिएको संगठनले जनाएको छ ।
स्वदेशमै उज्ज्वल भविष्य निर्माण गर्न सकिने सम्भावना उजागर गर्ने अभियानका रूपमा उक्त कार्यक्रमलाई आगामी दिनमा अन्य विद्यालयमा पनि सञ्चालन गर्ने लक्ष्य लिएको उद्योग संगठन मोरङले जनाएको छ । कार्यक्रमलाई इन्स्योर, क्वालिटी, एनभिक्युएस परियोजनाले प्राविधिक सहयोग गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच