नमागिएको सल्लाह :
एकजना नाताले छोरा पर्ने प्रवासी नेपाली, तीस वर्षपछि करिब चार महिनाअगाडि नेपाल आउँदा भन्दै थिए, उनी तीस वर्षअगाडि संयुक्त राज्य अमेरिका जाँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए, अहिले आउँदा पनि प्रतीक्षारत प्रधानमन्त्रीको रूपमा देउवा नै प्रधानमन्त्रीको लाइनमा छन्, जब कि यसकालखण्डमा अमेरिकामा विलियम जे क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा, डोनाल्ड जे ट्रम्प, जोसेफ आर वाइडेन गरी पाँचजना राष्ट्रपति भइसके । केपी शर्मा ओली विसं २०५१÷०५२ मा गृहमन्त्री भएपछि अपवादबाहेक पछाडि फर्केर हेर्नुपरेको छैन । उन्ले निरन्तर रूपमा पार्टी सत्ता र राज्यसत्ताको उपभोग र उपयोग गरिरहेका छन् । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तीन दशकअगाडिदेखि निरन्तर पार्टी प्रमुख रहेका छन् ।
अहिलेका नेताहरूको समयमा परराष्ट्रनीति नीतिविहीन छ । कहिल्यै सबै दलहरूले एकै ठाउँमा बसेर परराष्ट्र नीतिमा राष्ट्रिय सहमति गरौं भनेर गम्भीर विमर्श गरेको थाहा छैन । प्रमुख नेताहरू शक्ति राष्ट्रका राजदूतको इसारामा भौतारिएका र उनीहरूको अनुकूल निर्णय गर्न दबाब दिएका घटना समय-समयमा सुनिएको र भोगिएको नै हो ।
मधेस आन्दोलनबाट उदाएका उपेन्द्र यादवहरूले दुवै सत्ताको निरन्तर उपयोग गरेको लगभग दुई दशक नाघिसकेको छ । यी नेताहरू आफू राजनीतिबाट निवृत्त हुनु त परको कुरा, आफूपछि आफ्नो उत्ताराधिकार स्थापित गर्न व्यस्त छन् । कांग्रेस राजनीतिसँग देउवासँग विवाह बन्धनमा बाँधिनुबाहेक कुनै हैसियत नभएकी आरजु देउवा तीन महिनाअगाडि ढलेको सत्ताको मुख्य स्तम्भमध्ये एक थिइन् । पार्टीभित्र भाउजूको वर्चस्व हुनुपर्छ भन्ने दासहरूलाई ओलीको महिला प्रधानमन्त्री बनाउने अभिव्यक्तिले आरजु महत्वाकांक्षाको अग्निमा इन्धन हाल्ने काम गरेको विषय कसैबाट छिपेको छैन । डेढ महिना चलेको कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवाको पछाडि लागेकाहरूको अवस्था हेर्दा लाग्दथ्यो-उनीहरू आरजु, जयवीरमात्र होइन, देउवाको खराउ पूजा गरेर अनन्त कालसम्म भक्तिरसमा रमाउन लालायित थिए । तर, जेन-जी आन्दोलनमा भएको भौतिक आक्रमणसमेतका कारणबाट समय अनपेक्षित रूपमा प्रतिकूल भइदियो । यस्तो प्रतिकूलताका बाबजुद पनि कांग्रेसभित्रका परिवर्तन पक्षधरहरूलाई निर्वाचनअगाडि अधिवेशन गर्नुपर्छ भन्ने निर्णय गर्न पसिना छुट्ने अवस्था बन्यो । ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गरेर प्रस्ताव दर्ता नगरेका भए केन्द्रीय समितिभित्रको अंकको खेलमा केटौलेहरूको माग भनेर हेप्ने अवस्था थियो । महामन्त्री गगन थापाको शब्द सापटी लिएरभन्दा बहुमतको आवाजले नै ढल्ने अवस्था थियो ।
विशेष महाधिवेशनको माग, देउवा समूहका तीसजना जति केन्द्रीय सदस्यहरूको निर्वाचनअगाडि महाधिवेशन गर्नुपर्ने माग, कार्यबाहक सभापति खड्काको सहमतिमा निर्णय गर्ने अडान, स्वयं देउवाको नियमित महाधिवेशन निर्वाचनअगाडि गराउने चाहना, नागरिक समाज, विद्वत् वर्गसमेतको निर्वाचनमा नयाँ नेतृत्वसहित जानुपर्छ भन्ने चाहनाको कारण सात भाइको अनिच्छाको बाबजुद पुस अन्तिम साता नियमित अधिवेशन गर्ने सर्वसम्मत निर्णय भएको छ । यद्यपि, निर्वाचनअगाडि महाधिवेशन नहोस् भन्ने भित्री चाहना अनुदारवादी पक्षको यथावत् छ भन्ने विषय प्रवक्ता महतका कथनबाट सहजै बुझ्न सकिन्छ ।
एमालेभित्र नेता ओलीको सन्तान नभएका कारण परिवारभित्र सत्ता र शक्ति राख्ने चाहना देखिएको छैन तर उनी उनको भौतिक शरीर रहेसम्म आफूलाई निर्विकल्प ठान्दछन् । छोड्नुपरेको अवस्थामा आफ्ना प्रियपात्रहरूलाई मात्र छोड्ने मनस्थितिमा छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको साधारण सदस्यता नदिन न्वारानदेखिको बल लगाएको घटनाबाट पार्टीभित्र उनलाई अनुकूल हुनेबाहेक अरूलाई निषेध गर्न चाहन्छन् भन्ने सजिलै बुझ्न सकिन्छ ।
यसै साता हुने अधिवेशनमा वरिष्ठ नेता ईश्वर पोखरेलले विद्याको साथ लिएर उम्मेदवारी दिने घोषणा गरेका छन् तर उनलाई पराजित गर्न महाधिवेशन प्रतिनिधि छनौटदेखि नै अस्वाभाविक घटना सार्वजनिक भएका छन् । यी सबै घटनाक्रमबाट पार्टीलाई उनी एकलौटी बनाउन चाहन्छन् भन्ने विषय बुझ्न कठिन छैन । पुष्पकमल दाहाल प्रचण्डले जेन-जी आन्दोलनको भावना अनुसार आफूलाई परिवर्तन गर्ने भनेर माओवादी पार्टीलाई विसर्जन गरेर माधव नेपालसमेतको साथ लिएर नेपाली कम्युनिष्ट पार्टी गठन गरेका छन् । त्यस पार्टीको मुख्य नेता आफैं छन् । पुराना सबै पार्टीमा चट्टानी जाम देखिएको छ । यस्तो जामले मुलुकलाई फाइदा पो भएको छ कि ? पछिल्ला पुस्ताका नेताहरूले उनीहरूको जत्तिको परिणाम पनि नदिने हुन् कि ? यसबारे विमर्श गरौं ।
पुराना पार्टीका प्रमुख नेताको कार्य सम्पादन
अरू देशको तुलनामा हाम्रो देश किन विकासमा पछि पर्यो, कहाँ कमजोरी भयो कसरी सुधार गर्ने भनेर ओली, देउवा, प्रचण्डलगायतका नेताहरूको बीचमा कहिल्यै छलफल, गम्भीर विमर्श, विज्ञ राखेर परामर्श भएका विषय नेपाली जनताले कहिल्यै सुन्न पाएनन् । सरकारी संयन्त्रले आयोजना गर्ने कर्मकाण्डी बैठक, गोष्ठीबाहेक कहिल्यै आर्थिक समृद्धिको पक्षमा सर्वपक्षीय छलफल भएको थाहा छैन । पञ्चायतकालीन समयमा समेत असंलग्न परराष्ट्रनीतिका कारण अन्तर्राष्ट्रिय मञ्चमा देशको इज्जत थियो । अनुभवी र विज्ञहरू राजदूत बन्ने कारणले उनीहरूले देशको प्रतिष्ठा बचाएका थिए ।
अहिलेका नेताहरूको समयमा परराष्ट्रनीति नीतिविहीन छ । कहिल्यै सबै दलहरूले एकै ठाउँमा बसेर परराष्ट्र नीतिमा राष्ट्रिय सहमति गरौं भनेर गम्भीर विमर्श गरेको थाहा छैन । प्रमुख नेताहरू शक्ति राष्ट्रका राजदूतको इसारामा भौतारिएका र उनीहरूको अनुकूल निर्णय गर्न दबाब दिएका घटना समय–समयमा सुनिएको र भोगिएको नै हो । नेपालको सर्वांगीण विकासका लागि लाइफलाइन मानिएको तराई-काठमाडौं जोड्ने द्रूतमार्गको काठमाडौंतर्फको जिरो प्वाइन्टमा विवाद भएर काम हुनसकेको छैन । यसमा सबै नेता बसेर छलफल गरेको सुनिएन । राजधानी जोड्ने मुग्लिन-नागढुंगा सडक, राजमार्ग भन्न पनि लाज मान्नुपर्ने अवस्था छ ।
यसलाई कसरी अन्तर्राष्ट्रियस्तरको बनाउने, यसलगायत अन्य नाजुक भौतिक पूर्वाधारको अवस्था कसरी सुधार्ने, लगानी वातावरण कसरी सुधार गर्ने, बेरोजगार युवालाई कसरी रोजगार दिने, कृषि मल बिउ कसरी सहज बनाउने, किसानले उत्पादन गरेको कृषि उपजलाई कसरी बजारीकरण गरेर उचित मूल्य उपलब्ध गराउने, देशको विप्रेषणमा आधारित अर्थतन्त्रको रूपान्तरण कसरी गर्ने भनेर मुख्य दलका नेता बिरलै छलफलमा बसे ।
तर, दर्जनौं पटक सत्ता समीकरण कसरी टिकाउने, कसको पार्टी कसरी फुटाउने, संविधानविपरीत अध्यादेश कसरी ल्याउने, राज्यसत्ता कब्जा गर्न संवैधानिक परिषद्मा आफू अनुकूलका मानिस कसरी भर्ती गर्ने भनेर बैठकहरू भए । नेपाली जनताको कान नै टट्याउँने हुनेगरी यस्ता राजनीतिक लेनदेनका खबर सुन्नुपर्यो । २०४८ देखि राज्यशक्तिको केन्द्रमा रहेका देउवाले मुलुकका लागि के दिए, मुलुकवासीका लागि के दिए भन्ने प्रश्न गर्दा झट्ट दिमागमा आउने विषय छैन । उनले पार्टी सभापतिमा कार्यबाहक दिएर राजनीतिक अवकाशको संकेत दिँदा स्वयं आफूले त्यस्तो कोशेढुंगा भन्न सकिने कामको बारे बताउन सकेनन् ।
एमाले नेता केपी ओलीले धेरै संरचना उद्घाटनमा रुचि राखे । शिलालेखमा नाम लेखे तर मुलुकको आर्थिक–सामाजिक रूपान्तरणका लागि के गरे भन्नसक्ने अवस्था छैन । नेपालका कथित राजमार्गमा यात्रा गर्ने यात्रुले बाटोको अवस्था देखेर दशकौं शासन गर्ने नेतालाई धिक्कार्दै यात्रा गरेको देखिन्छ । विदेशको विकास देखेको र भोगेको पुस्ता त आक्रोशित बन्ने अवस्था छ । नेपालका राजमार्गलगायतका स्थानमा रहेका शौचालयको दुरावस्था देखेर एकजना अमेरिका बस्ने नेपाली मूलकी किशोरीले साथीलाई नेपाल जाँदा ध्यान दिँदा ख्याल गर्नुपर्ने टिप्स दिँदा स्क्वाट व्यायाम सिकेर जानुभनेको यो पंक्तिकार स्वयंले सुनेको छ । यसरी, नेपालमा सानातिना सुविधा पनि खिसिटिउरीका विषय बनेका छन् ।
विश्वविद्यालय, कूटनीतिक नियुक्तिलगायत हरेक क्षेत्रमा दलतन्त्र हावी छ । दलको सदस्य समर्थक भएरमात्र पुग्दैन, प्रिपेड (नियुक्ति पाउन दिनुपर्ने अग्रीम रिसवत) यसो गर्ने नसक्दा पोष्ट पेडको प्रत्याभूति सामान्य विषय भएका छन् । कहीं कतै विज्ञताको खोजी हुँदैन । आठ कक्षामात्र औपचारिक शिक्षा पाएका नेता ओलीलाई आफ्नो विज्ञताका अगाडि अरूको विज्ञता अर्थहीन लाग्दछ । यो सानो आलेखमा शीर्ष नेताका सबै विकृतिहरू समेट्न सक्ने अवस्था छैन । आजको दिनमा त नेपाल स्पन्दनहीन जस्तो बनेको छ । यो सबै मुख्य नेतृत्वको अकर्मण्यता र विवेकहीनताका कारण भएको हो । शीर्ष नेतृत्व लामो समयको कार्य सम्पादनमा अनुत्तीर्ण छ । तर, अचम्म छ-धेरै गरेँ भन्ने आत्ममुग्धतामा छ । यसलाई तोडेर नेतृत्वको जाम खुलाउन अनिवार्य छ ।
कसरी खोलिएला नेतृत्वको जाम
निर्धारित समयावधिपछि नेतृत्व हस्तान्तरण नहुँदा हुने जामले राष्ट्रको अमूल्य समयलाई मात्र नोक्सान गरिरहेको हुँदैन, यसले धेरै प्रतिभालाई पार्टीबाट पलायन हुँन र समाप्त हुन बाध्य बनाइरहेको हुन्छ । दुर्लभ रूपमा पहिचान भएका प्रतिभाहरू पनि अवसरवादी नेताहरूको अनैतिक तबरले रचना गरिएको प्राविधिक बहुमतबाट बहिर्गमित भइरहेका हुन्छन् । आजको दिनमा नेपालका मुख्य पार्टीहरूमा यही दृश्य देखिएको छ । नेपाली कांग्रेसभित्र अहिलेसम्म असक्षमहरूको हालिमुहाली थियो । निर्वाचन अगाडि अधिवेशन गर्ने निर्णयले पार्टीभित्र र बाहिर पनि उत्साहको सञ्चार गरेको छ । यसका लागि निर्धारित मितिमा महाधिवेशन अनिवार्य छ । यो अधिवेशनबाट जो आए पनि नयाँ नेतृत्व आउने सुनिश्चित छ ।
गएको जेन-जी आन्दोलनको तारोमा परेका ओलीले भोलिदेखि सुरु हुने महाधिवेशनमा जित्ने सम्भावना रहला तर प्राविधिक निर्वाचनी जितहारमात्र सबै होइन भन्ने कुरा जित्ने सम्भावना भएका ओलीले र उनलाई जिताउन चाहनेहरूले बुझ्न जरुरी छ । कांग्रेस-एमालेको शक्तिशाली सरकार तासको घर झैं ढलेको घटनाबाट सिकिएन भने अर्को ठूलो दुर्घटनाले कसलाई कहाँ पुर्याउँछ भन्न सकिँदैन ।
नयाँ नेतृत्व उमेरले युवा हुनैपर्छ भन्ने होइन, चिन्तनबाट नयाँ भए पनि हुन्छ । विश्वका विकासपथमा अग्रसर भएका देशको नेतृत्वलाई दृष्टिगत गर्दा खास उमेर समूहभन्दा विचारबाट ऊर्जावान् रहेको पाइन्छ तर समयसमयमा नवीकरण भइरहनुपर्दछ । नेपाली कांग्रेसभित्र पार्टीमात्र होइन देश पनि हाँक्न सक्ने सधैं र सबै अवस्थामा प्राप्त हुन नसक्ने नेताहरू देखिएका छन् जस्मा दूरदृष्टि देखिएको छ । त्यस्ता नेता आउन सक्दा पार्टीभित्र लामो समयसम्म रहेको जामले निकास पाउने सम्भावना देखिएको छ । नेपालको अर्को ठूलो पार्टी एमालेमा भने परिस्थिति फरक देखिएको छ ।
गएको जेन-जी आन्दोलनको तारोमा परेका ओलीले भोलिदेखि सुरु हुने महाधिवेशनमा जित्ने सम्भावना रहला तर प्राविधिक निर्वाचनी जितहारमात्र सबै होइन भन्ने कुरा जित्ने सम्भावना भएका ओलीले र उनलाई जिताउन चाहनेहरूले बुझ्न जरुरी छ । कांग्रेस-एमालेको शक्तिशाली सरकार तासको घर झैँ ढलेको घटनाबाट सिकिएन भने अर्को ठूलो दुर्घटनाले कसलाई कहाँ पुर्याउँछ भन्न सकिँदैन । नेता ओलीका अग्र्यानिक गफ, उखान तुक्का, पेचिला प्रहारहरूले कार्यकर्ताको हौसला जगाएको भनेर अर्थ लगाइएको होला । त्यस्ले सँगसँगै समाजमा आक्रोश र द्वन्द्व पनि बढाइरहेको छ भनेर बुझ्न जरुरी छ । यस्तै आक्रोशको समष्टिलाई त विद्रोह भनिने हो नि ।
ओली जत्तिका नेताले मुलुक असफल राष्ट्रको दिशातर्फ जाने हो कि भनेर सबैतिर चिन्ता व्यक्त भइरहेको समयमा निर्वाचन समयमा नहोस् भन्ने मनशाय राखी गालीगलौजमा उत्रन फिटिक्कै सुहाउँदैन । अहिलेको आवश्यकता भनेको फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन सफल बनाउने, प्रतिनिधिसभाको पहिलो बैठक बस्नुअघि सबै निर्वाचित सदस्य बसेर संविधान संशोधनमा सहमति कायम गर्ने, यो संशोधनबाट बनेको चुस्त सानो आकारको राजनीतिक स्थायित्व दिने सरकारलाई सुशासनयुक्त, भ्रष्टाचारमुक्त र आर्थिक समृद्धिउन्मुख बनाउन सबै दलले सहयोग गर्ने र संकटमा परेको संविधानलाई लिकमा ल्याउने र मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने हो ।
सक्दा त्याग देखाएर अर्को नेतालाई नेतृत्व हस्तान्तरण गरेर जाम खोलिदिने, नसकिएको अवस्थामा आफैंले आफैंसँग सम्वाद गरी आत्मालोचित हुँदै अभिभावकीय भूमिका निर्वाह गर्ने । दलको मात्र होइन, राजनेता हुने प्रयत्नमा लाग्ने । जमेको जामले निकास पाएपछि कांग्रेस र एमालेको नयाँ नेतृत्वले नेपाली कम्युनिष्ट पार्टी, मधेसवादी दल र जेन-जी भावना बोकेका नयाँ शक्तिहरूलाई साथ लिएर मुलुकको स्वार्थका लागि काम गर्ने यो चुनौतीपूर्ण समय हो । देशको स्पन्दन बचाउने बेला हो, चेतना रहोस् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच