काठमाडौं । विराटनगर किंग्समाथि ४० रनको सानदार जित निकाल्दै लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)-२०२५ को फाइनलमा प्रवेश गर्न सफल भएको छ । गत संस्करणमा पुछारमा रहेर प्रतियोगिता टुंग्याएको लुम्बिनी यसपटक उपाधिका प्रमुख दाबेदारका रूपमा उभिएको छ । अब लुम्बिनीले उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सुदूरपश्चिम यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल यात्रा सुनिश्चित गरिसकेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटियो । लुम्बिनीले प्रयोग गरेका पाँचै बलरले विकेट लिएर प्रभावकारी प्रदर्शन गरे । तिलक भण्डारी उत्कृष्ट बलरका रूपमा उदाउँदै तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा ३.७५ को इकोनोमीसहित १५ रन मात्रै खर्चनुभयो । अभिषेक गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान दुई–दुई विकेट जोड्नुभयो भने शेर मल्लले एक विकेट हात पार्नुभयो ।
विराटनगरका साम हेजलेटले २८ बलमा दुई चौका र दुई छक्कासहित ३४ रन बनाएर सर्वाधिक रनको योगदान दिनुभयो । नरेन भट्टले २१ तथा मर्चेन्ट डी लांगेले १७ रन जोड्नुभयो । अन्य कुनै पनि विराटनगरका ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् । ओपनर मार्टिन गप्टिल (२) र फाफ डु प्लेसिस (३) सस्तैमै फर्किनुभयो । तेस्रो क्रमका लोकेश बम ‘गोल्डेन डक’मा आउट हुनुभयो । शंकर रानाले ७, बसिर अहमद र कप्तान सन्दीप लामिछाने दुबैले ३-३ रन मात्र जोड्न सक्नुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । ओपनर डार्सी शर्टले ४१ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाउनुभयो । कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन जोड्दै इनिङ सम्हाल्नुभयो । ८-१ को अवस्थामा उहाँहरूले ६९ रनको महत्वपूर्ण साझेदारी गर्नुभएको थियो ।
तर, ११.२ ओभरमा ७७-२ को बलियो स्थितिबाट लुम्बिनी थप २७ रन जोड्दा १६ ओभरमै १०४-६ मा झरेको थियो । अन्त्यतिर निरोसान डिकवेलाले २२ बलमा चार चौकासहित २९ रन बनाउनुभयो भने रुबेन ट्रम्पेलमनले ११ रन जोड्नुभयो । अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् । सन्दीप जोरा र जेजे स्मिथ ‘डक’मा आउट हुनुभयो, दीलिप नाथ र दीनेश अधिकारी एक-एक रनमा रोकिनुभयो ।
विराटनगरका स्पिनर सुवास भण्डारीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा ३.५० को इकोनोमीसहित १४ रन मात्र खर्चिनुभयो । प्रतिश जिसीले २७ रन दिँदै तीन विकेट लिनुभयो भने कप्तान सन्दीप लामिछानेले चार ओभरमा १८ रन खर्चेर दुई विकेट जोड्नुभयो ।
लिग चरणमा विराटनगर किंग्स दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । चौथो स्थानमा रहेर प्लेअफ टुंग्याएको लुम्बिनीले भने लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनल सम्मको यात्रा तय गरेको हो । एनपिएल-२०२५ को फाइनल खेल मंसिर २७ गते शनिबार हुने तालिका छ, जहाँ लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त हुनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच