काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू निर्विरोध पुनः नेतृत्वमा पुनःस्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ । ११औँ महाधिवेशनको मुखमा बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको संवादमा ओलीले आफूविरुद्ध कसैले उम्मेदवारी नै नदिने विश्वास व्यक्त गर्नुभयो । बैठक बसेर सहमतिबाटै सबै कुरा अघि बढ्ने उहाँले आशा गर्नुभयो । ‘परिस्थिति त्यतातिर गएको देख्दिनँ’, उहाँले भन्नुभयो, ‘मलाई आशा छ मेरोविरुद्ध कोही नउठ्ला र म निर्विरोध जित्छु भन्ने छ ।’ तर, प्रतिस्पर्धा गर्न कसैैलाई निषेध नगरिने उहाँको भनाइ थियो ।
पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने मान्छे आफू नै भएको ओलीले बताउनुभयो । ‘पार्टीमा हराइन्छ, हारिन्छ, जसरी होस् म हारेँ भनेर घोषणा गरेपछि मैले कुनै प्रकारको सिकायत गरिनँ । आठौँमा हराइएँ, नवौँमा लडेर जितेँ’, ओलीले भन्नुभयोे, ‘पार्टीभित्र लोकतान्त्रिक अभ्यासको वकालत मैले गरेको हुँ । अरू पार्टीमा पनि मैले विभिन्न हिसाबले चर्को दबाब दिएको हुँ ।’ आउँदो शनिबारदेखि काठमाडौंमा एमालेको महाधिवेशन सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उद्घाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र हुने महाधिवेशनमा अध्यक्षमा ओलीलाई वरिष्ठ नेता ईश्वर पोखरेलले चुनौती दिने घोषणा गरिसक्नु भएको छ । पोखरेलले प्यानल नै घोषणा गरेर जाने तयारी गर्नुभएको छ ।
यसअघि बुधबार काठमाडौंमै भएको अन्तरसंवादमा पोखरेलले सहमतिको सम्भावना आफूले नदेखेको बताउनुभएको थियो । तर, ओलीले आफू अभिभावकीय भूमिकामा बसेर महाधिवेशन हलमै अरू कसैलाई नेतृत्व प्रस्ताव गरे सहमति हुनसक्ने उहाँको भनाइ थियो । तर, ओलीले आफैँ फेरि तेस्रो कार्यकाल नेतृत्वमा आउने तयारी गर्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले समय आएपछि आफूले पनि पद छोड्ने बताउनुभयो । ‘खेल्न नसकेपछि मेस्सीले पनि फुटबल खेल्न छोड्छन्, मेरो पनि छोड्ने समय आउँछ । तीनपल्ट होइन सातपल्ट कुदेर स्वर्णपदक ल्याउन पाइन्छ । खेल्न नसक्ने, कुद्न नसक्ने अनि छोड्दे छोड्दे भनेर हुन्छ’, उहाँले भन्नुभयो ।
देउवासँग अर्थपूर्ण छलफल, नतिजा आउन समय लाग्ने
एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताउनुभएको छ । देउवासँग भएको भेटको नतिजा देखिन समय लाग्ने उहाँले बताउनुभयो । देउवासँग विभिन्न विषयमा गम्भीर छलफल भएको उहाँको भनाइ थियो । ‘देउवाजीसँग अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोलि देखिन्छ । बीउ उम्रिन समय लाग्छ’, ओलीले भन्नुभयो, ‘बकुल्लाको बीउ रोपेका छौँ, तोरी उम्रेजस्तो भोलि नै उम्रिँदैन । अब बिग्रिएछ कि भनेपछि बल्ल उम्रिन्छ । देउवासँग भएको भेटको नतिजा प्रकट हुन टाइम लाग्छ ।’
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच मंसिर १९ गते महाराजगञ्जमा लामो छलफल भएको थियो । ओलीसँगको भेटलगत्तै प्रतिनिधिसभा पुनःस्थापनाको रिट लिएर कांग्रेस सर्वोच्च अदालत गएको थियो । देउवासँग कैयौँ विषयमा कुरा भएको ओलीले बताउनुभयो ।
प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा माहोल बनाउन आफू संवादमा रहेको बताउनुभएको छ । ‘हैसियतबिनाको व्यक्तिले बिना विधि-प्रक्रिया, अनधिकृत ढंगले गरेको सिफारिशमा गरिएको असंवैधानिक विघटन खारेज हुनुपर्दछ । जुन बाटोबाट विघटन भयो, त्यही बाटोबाट पुनःस्थापना गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘सर्वोच्चबाट पनि पुनःस्थापित हुन्छ नै, अर्को बाटै छैन ।’ सर्वोच्चका विगतका तमाम फैसला र संविधानले अन्यथा फैसलाका लागि बाटो दिँदैन । म संवाद गरिरहेको छु भन्ने कुरा सत्य हो । उपाय के-के छन् पनि भनिरहेको छु ।’
‘जेन-जी’-सरकार सम्झौता अमान्य
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेन-जी’बीच भएको सहमतिलाई मान्यता नदिने बताउनुभएको छ । नागपञ्चमीमा गोबर लगाएर टाँसेजस्तो सरकारलाई सम्झौता गर्ने कुनै अधिकार नभएको ओलीले बताउनुभयो । ‘जेन-जी’सँगको सम्झौता फजुल कागज भएको ओलीले टिप्पणी गर्नुभयो । ‘कलाविहीन नाटकको पटाक्षेप कसरी भयो, त्यसको दृश्य सम्झना होला । कलाविहीन नाटकको पर्दा उठेको थियो, त्यसैगरी पटाक्षेप भयो’, ओलीले भन्नुभयो, ‘यो सरकारले प्रणालीबारे सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ? गोबर लगाएर टाँसेको सरकारले को-को बोलायो, कसलाई कागज थमायो ? रिहर्सलमा सिकाएको बोल्दै जाँदा केटाकेटीले बिगारे । त्यही अस्वीकार भयो, उनीहरूले च्याते । त्यस्ता फजुल कागजलाई मान्यता दिने प्रश्नै उठ्दैन ।’
बालुवाटारबाट भागेको आरोप अस्वीकार
एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेन-जी’ आन्दोलनपछि बालुवाटारबाट भागेको आरोप अस्वीकार गर्नुभएको छ । आफू भागेको नभई मुकाम परिवर्तन मात्रै गरेको उहाँले बताउनुभयो । पाण्डवहरूको उदाहरण दिएर उहाँले भाग्नु पनि कहिलेकाहीँ बुद्धिमतापूर्ण हुने तर्क गर्नुभयो र फेरि आफू नभागेको दाबी दोहोर्याउनुभयो । ‘भाग्यो, भगाइयो भन्या छन् । म कहिले सिंहदरबार, कहिले बालुवाटारमा हुन्थेँ । बाहिर जाँदा मुकाम अन्त पनि हुन्थ्यो । कौरवहरूले दुर्योधन, सकुनी र दुसासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोजेका थिए । पाण्डवहरू भागेर बाँचे,’ उहाँले भन्नुभयो, ‘पाण्डवहरू भागेकै हुन् । काँतर भएर होइन, बुद्धि पुर्याएर भागे । मेरो अगाडि एउटा परिस्थिति आयो । मैले राजीनामा गरेँ । तर म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । हो, मैले (बालुवाटार) नछोड्न सक्थेँ । तर के-के खुवाएर ल्याएको छ, आक्रमण गर्न आउँछन् । आत्मरक्षाका लागि प्रहार गर्दा क्याजल्टी हुने भो । क्याजल्टी हुनुभन्दा ओल्लो घरबाट पल्लो घर सर्दा राम्रो होइन ? कहिलेकाहीँ बच्चाबच्चीहरूले खेदे भने आफू कुद्नुपर्छ । अनि डरायो, भाग्यो... भनेर खुसी हुन्छन् । त्यस्तै हो । म प्रधानमन्त्री चलाइरहेको छु, भागेँ कसरी ? उनीहरूको ज्यान बचाउनका लागि मैले मुकाम परिवर्तन गरेको हुँ ।’ विपक्षीहरूले आफूलाई जितेर लखेटेको नभई आफूले नै मुकाम परिवर्तन गरेको उहाँको दाबी थियो ।
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुँदैन
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने दोहोर्याउनुभयो । सेरेमोनियल राष्ट्रपति भइसकेको व्यक्ति विवादमा आउन नहुने उहाँले बताउनुभयो । ‘पूर्व-राष्ट्रपतिजी दलीय राजनीतिमा र खिचातानीमा आउनु हुँदैन । कार्यकारी काम गर्दा आलोचनामा पर्छ । सेरेमोनियल र सम्मानित भएरै बस्नुपर्छ । आलोचना र विवादमा आउनु पर्दैन’, उहाँले भन्नुभयो, ‘आलोचनाभन्दा माथि बस्नुपर्छ । आलोचना नगर्ने, विवादमा नतानिने हुनुपर्छ । उहाँ त्यसैगरी बस्दा राम्रो हुन्छ ।’ राजनीति प्रवेश नगरी भण्डारीले मदन भण्डारी फाउन्डेसन चलाइरहेको उहाँले बताउनुभयो । ‘उहाँ अहिले राजनीतिमा प्रवेश गर्छु भनिरहरनु भएको छ । प्रवेश नगरी मदन भण्डारी फाउन्डेसन चलाउनुभएको छ,’ ओलीले भन्नुभयोे, ‘फाउन्डेसनको कार्यालय कसैले सघन ढंगले सदुपयोग गर्नु बेग्लै कुरा हो ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच