काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर मसान्तसम्म केन्द्रमा आइपुग्ने गरी उम्मेदवार सिफारिश गर्न मातहतका पार्टी कार्यालयलाई निर्देशन दिएको छ । निर्देशनअनुसार नै मातहतका समितिले प्रतिनिधिसभा र माघ ११ गते तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनको लागि धमाधम उम्मेदवार सिफारिश गर्न थालेका छन् । विगतका चुनावमा उम्मेदवार सिफारिश गर्ने काममा नेपाली कांग्रेस सबैभन्दा ढिलो हुने गरेको थियो । तर, यसपटक कांग्रेस उम्मेदवार सिफारिश गर्ने मामिलामा सबैभन्दा अग्रस्थानमा देखिएको छ । यसपटक उम्मेदवार सिफारिश गर्नेक्रममा नेपाली कांग्रेसमा अनपेक्षित दृश्यसमेत देखिएका छन् । गत निर्वाचनमा प्रत्यक्षबाट जितेका कांग्रेसका सांसदहरूले आसन्न प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा ८० वर्षको उमेरमा अन्तिमपटक भन्दै डडेल्धुराबाट चुनाव लड्ने तयारीमा रहनुभएको छ । तर, पूर्व-मन्त्रीसमेत रहेका कांग्रेसकै तीनजना नेताहरूले भने युवा पुस्ताका लागि भन्दै संसदीय राजनीतिको बाटो छाड्ने घोषणा गरेका छन् ।
पूर्वमन्त्री तथा तत्कालीन संसद्का सदस्य रहनुभएका कीर्तिपुर निवासी ६७ वर्षीय राजन केसी र तत्कालीन कृषिमन्त्री रहनुभएका ६४ वर्षीय रामनाथ अधिकारीले आफ्नो संसदीय राजनीतिको यात्रालाई पूर्णविराम लगाएको घोषणा आ-आफ्नो निर्वाचन क्षेत्रबाट गर्नुभएको छ । केसी काठमाडौं-१० र अधिकारी धादिङ-२ बाट निर्वाचित तत्कालीन सांसद हुनुहुन्छ । २०६४ बाट संसदीय राजनीतिका लागि चुनावी मैदानमा उत्रिनुभएका केसीले भने आफू प्रत्यक्षतर्फ मात्रै नभएर राष्ट्रियसभा, समानुपातिक कतै पनि र कहिल्यै पनि चुनावी मैदानमा नउत्रिने घोषणा गर्नुभएको छ । यस्तै, उदयपुरबाट निर्वाचित एवं पूर्व-परराष्ट्रमन्त्री डा.नारायण खड्काले पनि आगामी चुनाव नलड्ने घोषणा गर्नुभएको छ ।
२१ फागुनको निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रबाटै उम्मेदवार हुनका लागि कांग्रेसमा आकांक्षीको लर्को लागेको छ । ०४८ सालदेखि सक्रिय राजनीतिमा लागेका, पूर्व–सांसदसमेत उम्मेदवार हुन अझै लामबद्ध भइरहेका बेला केसी र अधिकारीले भने आफ्नो स्थानमा युवाहरूलाई अघि बढ्न सन्देश दिनुभएको छ । अधिकारी, केसी र खड्काको घोषणाले आसन्न चुनाव लड्न तम्सिनुभएका ८० वर्षीय पार्टी सभापति देउवालाई नैतिक दबाब परेको छ ।
पार्टी रूपान्तरण र पुस्तान्तरण गर्न निर्णय गरेँ : केसी
काठमाडौंको क्षेत्र नम्बर १० मा लगातार तीनपटक चुनाव जित्नुभएका कांग्रेस नेता राजेन्द्रकुमार केसीले अब चुनाव नलड्ने घोषणा गर्नुभएको छ । पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकाले आफूबाटै यो कामको अगुवाइ गरेको केसीको जिकिर छ । पार्टीका पक्षमा मताधार र संगठन कमजोर रहेका बेला आफू पटक-पटक निर्वाचन लडेर जितेको उल्लेख गर्दै उहाँले अब काठमाडौं-१० मा पार्टीको मताधार र संगठन दुवै राम्रो भइसकेकाले जो उठे पनि सहज हुने दाबी गर्नुभयो । केसीले भन्नुभयो, ‘अब म चुनाव लड्दिनँ । म काठमाडौं-१० बाट तीनपटक चुनाव जितेँ, एकै पदमा धेरै समय रहेँ । अब पनि म यहाँबाट चुनाव लड्ने हो भने हाम्रो पार्टीका युवा नेताहरूको अवसर र क्षमता सबै ह्रास हुन्छ ।
युवा, महिला, जनजाति सबैलाई अघि बढाउनुपर्छ भन्ने लाग्यो । अब पार्टीमा युवा, महिलालगायत आउनुपर्छ, सबैले अवसर पाउनुपर्छ । आफू चाहिँ सधैँ एकै पदमा बसिराख्ने, चुनाव लडिराख्ने अनि भाषणमा युवा, तरुण, रूपान्तरण र पुस्तान्तरणको कुरा गरेर हुँदैन, आफैँले बाटो खोलिदिनुपर्छ ।’ केसी २०७० को चुनावमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर एकाएक चर्चामा आउनुभएको थियो । ०६४ दाहालबाटै पराजित हुनुभएका केसीले ७० मा नतिजा उल्ट्याउन सफल हुनुभयो । ०६४ मा दाहालले २५ हजार बढी मत प्राप्त गर्दा केसीले १२ हजार मत ल्याउनुभएको थियो । तर, ७० को चुनावमा केसीले २४ हजार बढी र दाहालले १२ हजार मत ल्याउनुभयो । त्यसपछि उहाँले लगातार त्यस क्षेत्रबाट चुनाव जित्दै आउनुभएको छ । कुनैबेला एमालेको प्रभाव क्षेत्र रहेको कीर्तिपुर ०७९ को निर्वाचनसम्म आइपुग्दा संसदीय चुनावदेखि यस क्षेत्रमा रहेका तीन पालिका र कीर्तिपुरका सबै वडा कांग्रेसले जितेको थियो ।
पूर्व-मन्त्रीसमेत रहनुभएका रामनाथ अधिकारी धादिङबाट ०५६ सालदेखि नै चुनाव लड्दै आउनुभएको हो । ‘जेन-जी’ आन्दोलनका बेलामा भदौ २३ गते धादिङमै रहनुभएका अधिकारीले २४ गते बिहानै काठमाडौं आएर मन्त्रीबाट राजीनामा दिनुभएको थियो । ०५६ र ०७९ मा चुनाव जितेर दुई कार्यकाल अधिकारी सांसद भइसक्नु भएको छ । मुलकको परिस्थिति बुझेर त्यसलाई सघाउनकै लागि बाटो खुला गरेको उल्लेख गर्दै अधिकारीले भन्नुभयो, ‘सानाको सन्देशबाट पनि ठूलाले सिक्न सक्नुपर्छ र यो शिक्षा अरूले पनि सिकून् भन्ने चाहन्छु ।’
सिफारिशमा पुराना नेताकै वर्चस्व
कांग्रेसमा उम्मेदवार सिफारिशको प्रारम्भिक दृश्य हेर्दा ‘जेन-जी’ आन्दोलनपछि पनि परिवर्तनको कुनै संकेत देखिएको छैन । उम्मेदवारको लाममा नयाँभन्दा पुरानाहरूकै वर्चस्व देखिएको छ । सभापति शेरबहादुर देउवाको नाम डडेल्धुराबाट सिफारिश भएको छ । देउवा २०४६ सालपछिको संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित हुँदै आउनुभएको छ । देउवाको यो आकांक्षाले पनि उहाँका समकालीन नेताहरूलाई हौसाएको छ । नेपाली कांग्रेस डडेल्धुराले देउवाको नाम एकल सिफारिश गरेको हो । जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिश गर्ने निर्णय गरेको थियो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत क्षेत्र नम्बर १ बाट एकल सिफारिश भएको छ । उपसभापति धनराज गुरुङको नाम स्याङ्जा क्षेत्र नं १ र २ बाट सिफारिश भएको छ । महामन्त्री गगन थापाको नाम चार जिल्लाबाट सिफारिश भएको छ । थापाको नाम काठमाडौं क्षेत्र नं ४ बाट एकल सिफारिश भएको छ । त्योबाहेक थापाको नाम सर्लाही-४, रोल्पा र धनकुटाबाट पनि सिफारिश भएको छ । महामन्त्री विश्वप्रकाश शर्माको नाम झापा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ एकल सिफारिश भएको छ । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को मकवानपुर क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सिफारिश भएको छ । सहमहामन्त्री महेन्द्र यादवको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ धनुषा क्षेत्र नं ४ बाट सिफारिश भएको छ ।
सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नाम पाँचथरबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिश भएको छ । सहमहामन्त्री बद्री पाण्डेको नाम प्रतिनिधिसभामा प्रत्यक्षतर्फ बाजुराबाट सिफारिश भएको छ । पार्टी प्रवक्ता डा. प्रकाश शरण महतको नाम प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नं ५ बाट सिफारिश भएको छ । इतर समूहका नेता डा.शेखर कोइरालाको नाम मोरङ क्षेत्र नं ६ बाट एकल सिफारिश भएको छ । पूर्व-उपसभापति विजयकुमार गच्छदारको नाम सुनसरी क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सिफारिश भएको छ । पूर्व-उपसभापति विमलेन्द्र निधिको धनुषा क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिश भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं १ सिफारिश हुनुभएको छ ।
आठौँपटक चुनाव लड्ने विजय गच्छदारको पनि तयारी
नेपाली कांग्रेस नेता तथा पूर्व-उपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि चुनाव लड्ने तयारीमा जुट्नुभएको छ । २०४८ सालयता उहाँले सातपटक चुनाव लडिसक्नु भएको छ । ७१ वर्षीय गच्छदार आठौँपटक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गर्नुभएको हो । संसदीय राजनीतिका चतुर खेलाडी मानिने गच्छदार २०७९ को निर्वाचनमा पहिलोपटक सुनसरी-३ मा एमाले उम्मेदवार भगवती चौधरीसँग पराजित हुनुभएको थियो । गच्छदार बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिनुभएको छ ।
मापदण्डविपरीत उम्मेदवार सिफारिश नगर्न कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि अघिल्लो परिपत्रअनुसार उम्मेदवार सिफारिश गर्न मातहतलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मापदण्डविपरीत उम्मेदवार सिफारिश गर्न लागेपछि कांग्रेसले बिहीबार तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिश गर्न निर्देशन दिएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा भनिएको छ, ‘तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिश गर्नका लागि निर्देश भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिश गर्नुहुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ ।’ कांग्रेसले यसअघि १५ मंसिर र १७ मंसिरमा परिपत्र गरेर प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिशको मापदण्ड तोकेको थियो । अघिल्लो परिपत्रमा पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीनजना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर सिफारिश गर्न भनिएको थियो ।
यस्तै, राष्ट्रियसभा सदस्यको लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग गरी प्राप्त नाम मध्येबाट एक सिटका लागि तीन जनाको नाम सहमति हुन सकेमा सहमतिअनुसार र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउन भनिएको छ । तर, कांग्रेसका क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरू केन्द्रले निर्धारण गरेको मापदण्डविपरीत उम्मेदवारहरू सिफारिश गरिरहेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच