भारतको शरणमा पुगेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई बंगलादेशको अदालतले मृत्युदण्डको सजाय घोषित गरेको छ । सुप्रर्दगी सन्धिमार्फत शेख हसिनालाई बंगलादेश झिकाउने प्रयत्न बंगलादेशले गरिरहँदा भारतले भने शेख हसिनालाई शरणमार्फत संरक्षण गरेको सर्वविधतै छ । त्यस अर्थमा पनि भारत र बंगलादेशबीचको सम्बन्धको टकरावले ‘चिकेन नेक’ आसपास क्षेत्रमा पर्ने प्रभाव सम्बन्धमा भारत चनाखो हुन जरुरी देखिन्छ ।
भारत र पाकिस्तान बीचको बढ्दो विवाद दक्षिण एसियाका लागि चुनौतीको विषय बनेको छ । कश्मिर र लदाक होस् वा गलवान घाँटी यी दुई देशमा पनि तनाव बढ्दो क्रममा छ । भारतको पूर्व-उत्तर क्षेत्रमा रहेका सेभेन सिक्सटर राज्यलाई भूपरिवेष्ठित राज्यहरूको समुद्रसँग जोडिने विषयलाई बंगलादेशी प्रधानमन्त्री मोहम्मद युनिसले केही समय पहिला दिएको अभिव्यक्तिले पनि भारत ससंकित हुनु अनौठो विषय रहेन । केही वर्षयता चीनको चुम्नेभेली क्षेत्रभन्दा अलि तल चीन, भारत र भुटानको सामरिक क्षेत्र डोक्लाममा भारत र चीनबीच द्वन्द्व चर्किएको थियो ।
भारतको सबैभन्दा कमजोर कडीको रूपमा रहेको ‘चिकेन नेक’ आसपास क्षेत्रमा विभिन्न घटनाक्रमहरू पछिल्लो चरणमा विकसित भएका छन् । एशिया केन्द्रित भइरहेको ‘ग्लोबल पोलराइजेसन’ को ‘वार अफ वेब’ यतिबेला दक्षिण एसियाली मुलुकहरूमा देखिन खोजिरहेको छ । ‘चिकेन नेक’को भू-राजनीतिले भारतलाई ससंकितमात्र पारेको छैन बरू होसियार हुनका लागि उद्वेलित गरिरहेको छ ।
सोही चुम्नी भेली क्षेत्र आसपासमा चीनले सैन्य गतिविधि बढाएको देखिन्छ । बंगलादेशले लालमनिरघाट विमानस्थलमा एयरबेस राखेको कुरा अन्तर्राष्ट्रिय खबरहरूमा सम्प्रेषित भइरहेको छ । यद्यपि त्यसलाई बंगलादेशले अन्य प्रयोजन भने विश्लेषण गरेको देखिन्छ । भारतले हाँसीमारा भन्ने ठाउँमा सैन्य फोर्स बढाएको छ । उक्त क्षेत्रमा यस ४०० ऐर डिफेन्स सिस्टम, आकाश मिसाइल सिस्टम जस्ता अत्याधुनिक हतियारहरूको केन्द्र निर्माण गरिरहेको छ । फ्रान्समा निर्मित ‘राफेल फाइटर जेट’ नामक जेट विमान उक्त क्षेत्रमा तैनाथ गरेको छ ।
यसले के प्रमाणित गर्छ भने ‘चिकेन नेक’ आसपास क्षेत्रमा ठूलै घटनाहरू निम्तिन सक्ने भवितव्य घटनाप्रति भारत सूचीकृत छ र त्यसलाई रोक्न जोडबलले भारत प्रयास गरिरहेको छ । ‘चिकेन नेक’ वा सिलगढी करिडोर क्षेत्रसँग जोडिएको नेपाल पनि यी घटनाबाट अछुत रहन सक्दैन ।
‘जेन-जी’ आन्दोलनसँगै नेपालमा आएको राजनीतिक नयाँ उभारले सीमावर्ती क्षेत्रमा पारेको आकस्मिक प्रभावप्रति भारत, चीन दुवै सतर्क भएको देखिन्छ । नेपालको सीमावर्ती क्षेत्रमा हुने गरेका विभिन्न प्रभावलाई भारतले असहमति जनाएको कुरा जगजाहेर नै छ । मेची नदीदेखि वारी र पारीको क्षेत्रमा देखिएका जातीय, नस्लीय, क्षेत्रीय आन्दोलनहरूले ‘चिकेन नेक’को भूजटिलतालाई थप मलजल गरिरहेको भारतीयहरूलाई आभास भइरहेको छ । यो विषयलाई न हामी नेपालीले चिर्न सकेका छौं न मेचीपारीका भारतीयहरूले चिर्न सकेका छन् ।
सिलगुढी करिडोरदेखि माथिल्लो भू-भागमा दार्जिलिङमा चल्ने गोर्खाल्याण्ड आन्दोलन र सिक्किम, तिब्बतसम्मको हिमालयन रेन्जमा हुने जातिगत, भाषिक र धार्मिक टकरावहरूले पनि पूर्व-उत्तर क्षेत्र ‘कन्फ्रन्टेसन’को केन्द्र बनिरहेको छ भन्ने कुरालाई उद्धृत गर्दछ । मेची नदी तरेर आएको चीनको नक्सलवादी आन्दोलनले झापामा २८ सालमा नक्सलवादी आन्दोलनको जग निर्माण भएको कुरा भुल्न सकिँदैन ।
ट्युनेसियादेखि चलेको कलर रेभ्युलोसन नेपालसम्म आइपुगेको वर्तमान राजनीतिक घटनाक्रमले चित्रण गरिरहेको छ । छिमेकी देशमा हुने राजनीतिक प्रभावले नेपालको भूराजनीतिक परिस्थितिमा पनि थुप्रै प्रभावहरू पार्ने गरेको छ । तर, हामी आन्तरिक राजनीतिक मुद्दा मामिलामा केन्द्रित भइरहेका हुन्छौं । बाह्य राजनीतिक प्रभावप्रति संवेदनशील हुँदैनौ । त्यसैले पनि घटना घटिसकेपछि विस्तारवाद र साम्राज्यवादका नाममा हामी विवादित भइरहन्छौं । बंगलादेश, भारत, चीन र भुटान सँगसँगै पूर्व उत्तर ‘सेभेन सिक्सटर’ राज्यको अन्तर्राष्ट्रिय प्रभावसँग ‘चिकेन नेक’को भूराजनीतिक द्वन्द्वलाई हामीले सीमावलोकन गर्न सकेनौं भने नेपालले पनि जटिल समस्याको चुनौती सामना गर्नुपर्ने हुन्छ ।
ग्त सातामात्र रुसी राष्ट्रपति भलादमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटघाटले एसिया सेन्ट्रिक पोलिटिक्समा नयाँ विचलन थपेको छ । यसै सन्दर्भलाई लिएर अरुणाञ्चलको विषयले चीन भारत दुवैमा तिक्तता उत्पन्न गरिरहेको छ । नेपालको लिपुलेक र कालापानी क्षेत्रलाई व्यापारिक मार्गको रूपमा चिन र भारतले प्रयोग गरिसकेपछि उत्पन्न त्रिदेशीय विवाद हल हुनसकेको छैन । काटोग्राफी मा चुच्चे नक्सासहितको नक्सा समावेश भएपनि भोग अधिकार चीन र भारतको पक्षमा देखिन्छ । कुनै दिन भू-सामरिक महत्वको क्षेत्र कालापानी क्षेत्र भयो भने त्यसमा नेपालको उपस्थिति के हुनसक्छ यो पनि जटिल विषयवस्तु बन्दै आएको छ ।
नेपाल, भुटान, बंगलादेश, चीन र सिक्किम समेतको भूसामरिक महत्व बोकेको ‘चिकेन नेक’ क्षेत्रलाई भारतले सिलगुडी करिडोर क्षेत्रको रूपमा परिभाषा गर्दै आएको छ । भारतले यस क्षेत्रलाई अति संवेदनशील क्षेत्रको रुपमा लिने गरेको छ । पछिल्लो समय बंगलादेशको बदलिँदो राजनीतिक अवस्थाले भारत र बंगलादेश बीचको सम्बन्धमा तिक्तता उत्पन्न गरेको छ ।
बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डको विषयलाई लिएर बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाले दिएका अभिव्यक्तिहरू आज पनि इन्टरनेटका आर्काइभहरूमा सुरक्षित छन् । सेन्ट मार्टिन आइल्याण्डमा अन्तर्राष्ट्रिय सेनाको शिविर सञ्चालन गर्ने भन्ने कुराहरू अखबारका पानाहरूमा प्रष्ट देखिन्छ । यसले के संकेत गर्छ भने भारत र बंगलादेशबीचको बढ्दो असमझदारीका कारण पश्चिमेली शक्तिहरू ‘चिकेन नेक’मार्फत दबाब सिर्जना गर्न चाहन्छन् ।
बंगलादेशको नाकामार्फत् नेपालभित्र पनि प्रवेश गरेका रोहिंगा समूहहरूका कारण होस वा फ्री तिब्बतको नारा घन्काउने समूह होस् अथवा अन्य कुनै आतंकवादसँग सम्बन्ध राख्ने समूह किन नहोस् यिनीहरूबाट पनि नेपालमा पर्ने खतराहरूको विषयमा नेपाल राज्य होसियार र सचेत हुन जरुरी छ । सन् १९७६ को सिक्किम एनेक्सेसन होस् वा सन् १९७१ को बंगलादेश एनेक्सेसन यसले छिमेकी मुलुकमा पारेका प्रभावबाट ऐतिहासिक शिक्षा प्राप्त गर्न सकिन्छ ।
‘ग्लोबल टेन्डेन्सी’को रूपमा विकसित भइरहेका पश्चिमेली प्रभावहरूको आत्मसमीक्षा नगरी हामी सुरक्षित रहन सक्दैनौं । चीन, बंगलादेश र पाकिस्तानको बढ्दो निकटताले दक्षिण एसियामा भारत एक्लिएको महसुस गराउँदछ । यो अवस्थामा भारतमाथि दबाब सिर्जना गर्न अनेकौं प्रयास हुन सक्छन्, त्यस अर्थमा भारतले सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि र सामारिक अभ्यासहरू वृद्धि गर्न सक्दछ जसका कारण छिमेकी मुलुक प्रत्यक्ष रूपमा प्रभावित पर्नेछन् ।
अन्त्यमा ‘चिकेन नेक’को भू-राजनीतिक अवस्थालाई हामीले सामान्य रुपमा लिनु हुँदैन । सन् १९७० को दशकदेखि ९० को दशक बीचमा कैयौं मुलुकहरू देशको नक्साबाट हटेका कयौं उदाहरण छन् । यो घटनाक्रम वर्तमान २१औं शताब्दीमा पनि नदोरिएका होइनन् । तसर्थ छिमेकहरूसँग असल सम्बन्ध स्थापित गर्दै छिमेक आसपासका क्षेत्रमा भइरहेका भूराजनीतिक प्रभावहरूको बारेमा गहिरो अध्ययन र समीक्षा गर्न जरुरी छ । आजको ‘चिकेन नेक’ समस्या खाली भारतको मात्र समस्याको विषय होइन । यो भारतको पूर्व-उत्तर क्षेत्रदेखि हिमालयन रेन्जसम्मको भू-जटिल समस्याको अन्तर्राष्ट्रिय ‘वार अफ वेब’को पूर्वसंकेत हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच