इलाम । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले देशभरको राजनीतिक परिदृश्यमा ल्याएको तरलता र अनिश्चितताको प्रभाव इलामको राजनीतिमा पनि देखिएको छ । करिब तीन दशकदेखि नेकपा (एमाले) र नेपाली कांग्रेसको बलियो पकड रहेको यस जिल्लामा मतदातामा पुराना दलप्रति असन्तुष्टि बढेको छ भने नयाँ ऊर्जावान् नेतृत्वको खोजी तीव्र बनेको छ । यद्यपि, नयाँ उदाएका दल र नेताप्रतिको भरोसा कम हुँदा आसन्न निर्वाचनको नतिजा कस्तो हुने भन्नेमा अन्योल छाएको छ ।
इलामको चुनावी इतिहास हेर्दा आम निर्वाचनहरूमा विशेषगरी नेकपा (एमाले)ले निरन्तर जित हासिल गर्दै आएको छ भने नेपाली कांग्रेसले केही आंशिक सफलता पाएको छ । प्रदेश र स्थानीय तहमा पनि यी दुई दलकै वर्चस्व छ । तर, जिल्लावासी विगतका नेता र पुराना दलले गरिरहेको काममा पूर्ण सन्तुष्ट देखिँदैनन् । जिल्लास्थित विभिन्न क्षेत्रका व्यवसायी, पेसाकर्मी र युवाको साझा बुझाइ “पुराना दल सुध्रिनुुपर्छ, पुराना नेताले नयाँलाई पालो दिनुपर्ने र नयाँ उदाएका दल तथा नेतालाई अवसर दिए देश परिवर्तन हुनेछ ।” भन्ने छ ।
त्रिभुवन विश्व बिध्यालयका उपप्राध्यपक तथा समाजसास्त्री सन्तोश पराजुलीले सरकार फेरिएपनि इलामको राजनीतिमा खासै परिवर्तन नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनपछि पनि इलाममा पुराना दलको अवस्था जे थियो, त्यस्तै नै छ । नयाँ दलको सशक्त प्रभाव छैन तर मतदातामा पुराना दलप्रतिको असन्तुष्टि चाहिँ स्पष्ट देखिन्छ ।”
भदौ २३–२४ को जेन्जी आन्दोलनपछि राजनीतिमा युवाको आशा र वितृष्णा उस्तैउस्तै देखिएको छ । युवा पंक्ति नयाँ ऊर्जावान् युवा नै नेतृत्वमा देख्न चाहेको बताउँछन् भने दलमा आबद्ध युवा नेताहरू पनि दलले युवालाई नै अघि सार्नुपर्ने माग राख्छन् ।
उहाँ भन्नुहुन्छ ,“जेन्जी आन्दोलनलगत्तै कांग्रेस र एमालेभित्र चरम निरासा र त्रास देखिएको थियो । केही नेता तथा कार्यकर्ताले समाजिक संजाल मार्फत राजनैतिक दलको साधारण सदस्य समेत नरहने गरि राजिनामा नै दिएका थिए तर त्यो स्वार्थको राजनिति गर्नेले मात्र गरेको अहिले प्रस्ट देखिएको छ । उहाँले थप्नुभयो, “पुराना दलका नेता–कार्यकर्तामा विगतको जस्तो पूर्ण आत्मविश्वास देखिँदैन । दलहरू अहिले स्पष्ट मार्गचित्र नभएर अलमलमा छन् ।”
यता जिल्लामा जेन्जी आन्दोलनपछि दलहरूमा युवा सहभागिताका कुरा अलि बढी उठ्न थालेको देखिन्छ तर त्यो ब्याबहारमा भने लागु हुने सम्भावना कमै मात्र रहेको पाइन्छ । तर अब राजनैतिक दलको नेत्रितृवलाई भने सच्चिनैपर्छ भन्ने त्रास भने पक्के रहेको देखिएको छ ।
जेन्जीका प्रतिनिधि चेतन अधिकारीले इलाममा पुराना दलप्रति असन्तुष्टि बढेपनि नयाँसँग भरपर्ने, विश्वस्त हुने अवस्था पनि नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“इलामका नागरिकले अब यो दल त्यो दल भन्दा पनि स्थानीय मुद्दाकेन्द्रित खुला र प्रतिस्पर्धी राजनीतिको आशा गरेका छन् । इलामले नयाँ पार्टीभन्दा पनि नयाँ एजेन्डा खोजेको छ । जसको व्यक्तिगत छवि र स्थानीयस्तरमा कार्यसम्पादन राम्रो छ, उसले उम्मेदवारी दिन पाए आगामी चुनावमा जनमत त्यतै मोडिने सम्भावना देखिन्छ ।”
पहिलेका निर्वाचनहरूमा इलामले स्थापित दललाई प्राथमिकता दिएको इतिहास रहेपनि अहिलेको अवस्थामा भने जनभावना व्यक्तिगत विश्वसनीयता र स्थानीय कामको नतिजाजस्ता सूचकमा इलामेली मतदाता बढी केन्द्रित देखिन्छ ।
आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलामले कस्तो नतिजा देला यसै भन्न सकिने अवस्था अहिले देखिन्न । आन्दोलनको परिवर्तनको आशा पूरा नभएको र इलाममा अहिले पनि पुरानै दलको बर्चस्व देखिने राजनैतिक बिष्लेशकहरु बुझाई छ । समग्रमा, नयाँ दल र नेताहरूको भरोसा अभावका कारण आलोचना खेपिरहेका पुरानै दल पुनः नेतृत्वमा आउने धेरैको आँकलन भने छ । यद्यपि, मतदाताको असन्तुष्टि र नयाँ नेतृत्वको चाहनाले गर्दा स्थापित दलहरू पहिलाको जस्तो ढुक्क भने देखिँदैनन् । इलामको राजनीति अहिले अन्योलकै चरणमा छ, जहाँ पुराना आधार जोगाउने र नयाँ ऊर्जालाई विश्वसनीय संगठनमा बदल्ने चुनौती दुवै पक्षमाथि छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच