पाल्पा (रामपुर) । पाल्पाको रामपुरमा पाकापुस्ताहरुको लागि जेष्ठ नागरिक स्कुल खुलेको छ । रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान सहितको सक्रिय जीवन निर्वाह, संस्कार र संस्कृतिको संरक्षण, पाका पुस्ताहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य राखेर ‘जेष्ठ नागरिक स्कुल’ सञ्चालनमा ल्याएको हो ।
रामपुर–५, स्थित रामघाटमा स्कूल सञ्चालनमा ल्याइएको छ । जेष्ठ नागरिकहरुलाई सम्मान सहितको सक्रिय जीवन निर्वाहसँगै संस्कार र संस्कृतिको संरक्षण, पाका पुस्ताहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य राखेर स्कूल सञ्चालनमा ल्याइएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “सन्तानहरु रोजगारी तथा विभिन्न पेशा, व्यवसाय र पढाईको शिलशिलामा घर भन्दा बाहिर हुँदै गर्दा जेष्ठ नागरिकहरु निरास जीवन जिउनु पर्ने बाध्यता छ । आफ्ना दौतरीसँग भलाकुसारी गर्दै अनुभव र ज्ञान नयाँ पुस्तामा बाँड्ने उद्देश्यका साथ स्कूल स्थापना गरेका हौं ।”
पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन विताउने वातावरण स्कुलले प्रदान गर्नेछ । उहाँले परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । जेष्ठ नागरिकहरुलाई धार्मिक प्रवचनसँगै फुर्सदको समयमा बात्ती काट्ने, दुना टपरी बनाउने लगायतका वातावरण निर्माणसँगै बजारीकरणका लागि प्रबन्ध मिलाईएको छ । विद्यालयमा विषेशगरी दिउँसोको समयमा जेष्ठ नागरिकहरुलाई स्कुल सम्म ल्याई पुराना संस्कार र संस्कृतिबारे नयाँ पुस्ताले अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । स्कुलमा धार्मिक प्रवचन, भजन कृतन, घरेलु सामग्री र यसको प्रयोग, जेष्ठ नागरिकहरुका लागि दिवा खाजा, स्वास्थ्य परिक्षण सहित सन्ध्या आरतीको व्यवस्था गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।
स्कूल भित्र नगर भित्रका विद्यार्थीलाई अध्ययनका लागि व्यवस्था समेत मिलाइएको उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । जेष्ठ नागरिक स्कूलले जीवनका अनुभवलाई आपसमा साटासाट गर्नुका साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्वपूर्ण सहयोग पुग्ने उहाँले विश्वास लिनुभयो । नगरपालिकाले स्कूल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटको समेत व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । जेष्ठ नागरिकलाई आउन र जानका लागि बस सेवा समेत सञ्चालनमा ल्याएको उहाँको भनाई छ । नगरपालिकाले बुधबारदेखि स्कूल सञ्चालनमा ल्याएको हो । सङ्घ, प्रदेश र स्थानीय सरकारको एक करोड २६ लाख लागतमा स्कूल निर्माण भएको व्यवस्थापन समिति अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिनुभयो । विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले समेत स्कूलका लागि सहयोग गर्दै आएको उहाँको भनाई छ ।
स्कुल स्थापनाले नयाँ पुस्तामा सिप पुस्तान्तरणमा महत्वपूर्ण टेवा पुग्ने रामपुर–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताउनुभयो । नगरपालिकाका सल्लाहाकार सन्दीप रानाले देश मै पहिलो पटक रामपुर नगरपालिकाले नमूना अभ्यास गरेको बताउनुभयो । जेष्ठ नागरिक स्कुलले जीवनका अनुभवलाई आपसमा साटासाट गर्नुका साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्वपूर्ण सहयोग गर्ने उहाँको बुझाई छ ।
जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले जेष्ठ नागरिकलाई उचित सम्मान प्राप्त नभइरहेको सन्दर्भमा पाठशाला स्थापनाले जेष्ठ नागरिकको उचित सम्मानमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो । रामपुर नगरपालिका सल्लाहाकार विष्णु माया ढकालले सन्तान घर बाहिर हुँदा हुने पिडा भुलाउन स्कुलले सहयोग गर्ने विश्वास लिनुभयो । उहाँले नैतिक शिक्षा वर्तमान आवश्यकता भएको समेत बताउनुभयो । नेपाली काँग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराईले जेष्ठ नागरिक खुशी बनाउन नगरपालिकाले चालेको कदमको प्रसंशा गर्नुभयो ।
नेकपा एमाले रामपुर नगर कमिटी सचिव लोकनाथ भट्टराईले जेष्ठ नागरिक स्कुल देश कै नमुनाको रुपमा स्थापना भएको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टी नेकपा रामपुर कार्यदलका सदस्य कमल सेनले निरास जीवन विताई रहेका जेष्ठ नागरिकहरुको लागि नगरपालिकाले महत्वपूर्ण कार्य गरेको बताउनुभयो । राष्ट्रिय जनमोर्चा रामपुर नगर अध्यष राम प्रसाद गैरेले यस किसिमको अभ्यास देशै भर हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवास, जेष्ठ नागरिक केन्द्र र आचार्य निवास सहित तीन वटा भवन संगै प्रतिक्षालय निर्माण गरिएको जेष्ठ नागरिक संघ रामपुरका नगर अध्यक्ष कृष्ण प्रसाद अर्यालले जानकारी दिनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच