काठमाडौं । आगामी माघ ९ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘बिगुल’को टिजर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको चलचित्रको सवा एक मिनेट लामो टिजरले दर्शकमाझ कौतुहलता बढाउने संकेत दिएको छ ।
यसअघि सार्वजनिक फष्र्टलुक पोष्टरले चर्चा पाइसकेको अवस्थामा सार्वजनिक गरिएको टिजरमा देशको वर्तमान राजनीति, देशप्रेम, सम्बन्ध-जिम्मेवारी तथा ‘जेन-जी’ आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको छ । फरक विषयवस्तु समेटिएको टिजरले चलचित्रले उठान गर्न खोजेको सामाजिक र राजनीतिक चेतनालाई संकेत गरेको छ ।
रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथा तथा निर्माण दिनेश कोइरालाले गर्नुभएको हो । पछिल्लो समय एकैखाले विषयवस्तुका चलचित्रहरू बजारमा आइरहेको अवस्थामा ‘बिगुल’ले भने राजनीति, परिवार, समाज, सम्बन्ध र मनोरञ्जनको समिश्रण गर्दै कथा बुनेको निर्देशक कोइरालाको भनाइ छ ।
चलचित्रले मनोरञ्जनका साथै समाज र देशमा भइरहेका राजनीतिक घटनाक्रमबारे दर्शकलाई सोच्न बाध्य बनाउने विश्वास निर्देशकको छ । ‘फिल्मलाई मनोरञ्जनका साथ विचारका रूपमा पनि हेर्नुपर्छ भन्ने सोचले ‘बिगुल’ बनाएका हौं,’ यसअघि ‘मन मनमा’, ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरिसक्नुभएका कोइरालाले भन्नुभयो, ‘हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन फिल्मले भूमिका खेल्न सक्छ ।’
कथाकार तथा निर्माता दिनेश कोइरालाले ‘बिगुल’ मा उठाइएका मुख्य मुद्दा र अहिलेको ‘जेन–जी’ पुस्ताले राख्दै आएको देश विकास र परिवर्तनप्रतिको चाहना आपसमा मेल खाने बताउनुभयो । ‘जेन-जी’ आन्दोलनप्रति समर्पित चलचित्र ‘बिगुल’मा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायत कलाकारको अभिनय छ ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्र कल्पना पौडेलको प्रस्तुति हो । पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेख्नुभएको चलचित्रको छायांकन शिव ढकालले गर्नुभएको हो । कमल राई तथा कविराज गहतराजको नृत्य निर्देशन, एनभी महर्जनको द्वन्द्व निर्देशन तथा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ ले गर्नुभएको छ । सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको ‘बिगुल’को वितरण काफिया फिल्मस् र श्री ब्यांकेट्स इन्टरटेन्मेन्टले गर्नेछन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच