काठमाडौं । काठमाडौं महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुलाई नगद ३० हजार रुपैयाँसहित सम्मान गरेको छ । ३१औं महानगर दिवस २०८२ का अवसरमा सोमबार राष्ट्रिय सभा गृहमा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिएको हो । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्य तथा महानगर कार्यपालिकाअन्तर्गत विभिन्न समितिका संयोजकहरूले परम्परागत बाजा गुरुहरूलाई सम्मान प्रदान गर्नुभयो ।
सम्मानित गुरुहरूमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिश भएका परम्परागत ६३ टोलका ६३ जना मु-धिमे गुरु र ५२ जना दाफा खिं गुरु रहेका थिए । त्यस्तै, गुंलाबाजं व्यवस्थापन तथा संरक्षण संघबाट सिफारिश भएका २६ टोलका एक-एकजना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिश भएका ६९ टोलका एक-एकजना नायःखिं बाजं गुरु, तथा नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलका १४ जना गुरु सम्मानित भएका छन् ।
यसैगरी, केन्द्रीय मानन्धर संघबाट सिफारिश भएका चार टोलका चारजना गुरु र विभिन्न संघसंस्थाबाट सिफारिश भएका सातजना बाजा गुरुलाई पनि सम्मान गरिएको महानगरपालिकाले जनाएको छ । कार्यक्रममा वडा नं.१६ की अध्यक्ष रोजिना श्रेष्ठले परम्परागत बाजा गुरुहरूको सम्मान गर्न पाउँदा महानगरपालिकाले गौरव महसुस गरेको बताउनुभयो । उहाँले सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा गुरुहरूको योगदान अमूल्य रहेको उल्लेख गर्नुभयो ।
समारोहमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, नेपाल खड्गी सेवा समितिका अध्यक्ष रञ्जिता खड्गी, गुंलाबाजं व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यलगायत वक्ताहरूले महानगरपालिकाले गरेको सम्मानले परम्परागत बाजा गुरुहरूलाई राज्यबाट संरक्षण पाएको अनुभूति गराएको धारणा व्यक्त गर्नुभयो ।
वक्ताहरूले यस्तो सम्मानले परम्परागत बाजा र सांस्कृतिक पहिचान जोगाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा संरक्षण, प्रशिक्षण र नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यक्रम विस्तार गर्न आग्रह गरेका थिए ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि