काठमाडौं । नेपाली चलचित्रको प्रवद्र्धन, सम्मान तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यसहित इन्टरनेशनल नेपाली फिल्म फेष्टिभल एण्ड इनफा अवार्डले आफ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा अवार्ड कार्यक्रम इनफा-२०२६ भारतको नयाँदिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ । आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार महोत्सव सन् २०२६ फेब्रुवरी १ देखि ३ तारिखसम्म सञ्चालन हुनेछ । महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रवद्र्धन गर्नुका साथै सिर्जनात्मक र व्यावसायिक विस्तारका लागि साझा मञ्च निर्माण गर्नु रहेको जनाइएको छ ।
महोत्सवका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर चलचित्रहरू प्रतियोगितात्मक रूपमा सहभागी गराइनेछ । चलचित्र बुझाउने अन्तिम मिति सन् २०२६ जनवरी ७ तोकिएको छ । महोत्सवअन्तर्गत उत्कृष्ट फिचर चलचित्र, निर्देशन, अभिनय तथा विभिन्न प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ । साथै रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मी र समीक्षकहरूको सहभागिता, प्रिमियर प्रदर्शन, विशेष चलचित्र प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिनेछ ।
यस वर्षको निर्णायक मण्डलको प्रमुख निर्णायक (प्रमुख जूरी)का रूपमा अभिनेता कृष्ण मल्ल रहनुहुनेछ । निर्णायक सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनील थापा, अभिनेत्री विपना थापा तथा भारतका चर्चित रंगमञ्च कलाकार अभतार साहनी रहनुभएको छ । नेपाली फिल्म फेष्टिभल एण्ड अवार्ड (इनफा)का अध्यक्ष राजेन्द्र घिमिरे रहनुभएको छ भने महोत्सव निर्देशक (नेपाल)का रूपमा जनक दीप पराजुली रहनुभएको छ ।
महोत्सवमा हजारौँ दर्शक तथा चलचित्रकर्मीको सहभागिता रहने अपेक्षा गरिएको छ । यसले उदाउँदा प्रतिभा र चलचित्र उद्योगबीच सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने आयोजक संस्थाको विश्वास छ । चलचित्र सहभागी गराउन इच्छुक सर्जकहरूले फिल्मफ्रिवेमार्फत चलचित्र अपलोड गर्न सक्नेछन् । साथै नेपालस्थित नेपाल चलचित्र निर्देशक समाजको कार्यालयमा चलचित्र उपलब्ध गराउन वा गुगल ड्राइभ लिंक इमेलमार्फत पठाउन सकिने जनाइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच