काठमाडौं । माघ २३ गते सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘कुमारी’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिनुभएको छ । पोष्टरले चलचित्रको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ ।
सौम्य र क्लासिक लुकमा तयार गरिएको पोष्टरमा प्रेम, पवित्रता र सरलताको प्रतीकस्वरूप सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ । पृष्ठभूमिमा प्रेमको तरंग संकेत गर्ने ‘वेभ’ डिजाइन प्रयोग गरिएको छ । अभिषेक र आकृतिको हाँसो तथा एक-अर्काप्रति देखिएको आत्मीयताले चलचित्र शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ । पोष्टरको डिजाइन रोयल भीमसेनले गर्नुभएको हो ।
पोष्टर सार्वजनिकसँगै चलचित्रको नयाँ गीत ‘तिमी बिना’ को रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार उक्त गीत पुस ३ गते डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ । यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल’ले राम्रो प्रतिक्रिया पाएको थियो । त्यसपछि नयाँ गीतप्रति दर्शकको चासो अझै बढ्ने अपेक्षा गरिएको छ ।
गायक केहर सिंह लिम्बु तथा उहाँको ब्याण्ड ‘केहर एण्ड द लुङा’को स्वरमा रहेको यो गीत युट्युब र टिकटकमार्फत विशेषगरी ‘जेन-जी’ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ ।
चलचित्रको निर्देशन दिनेश राउतले गर्नुभएको हो । ‘भ्यालेन्टाइन डे’को आसपास रिलिज हुने भएकाले चलचित्र विशेषगरी युवा दर्शकलाई लक्षित देखिन्छ । चलचित्रमा नयाँ अनुहार अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा हुनुहुन्छ । साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय छ ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथात्मक चलचित्र निर्देशन गरिसक्नुभएका निर्देशक राउत पछिल्ला वर्षमा ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित चलचित्र निर्देशन गर्दै आउनुभएको थियो । ‘कुमारी’मार्फत उहाँ पुनः प्रेमकथामा फर्किनु भएको हो ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी तथा कार्यकारी निर्माता केदार भुसाल हुनुहुन्छ । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेख्नुभएको छ भने छायांकन निर्देशन सुसन प्रजापतिले गर्नुभएको छ । चलचित्रको सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउण्ड डिजाइन उत्तम न्यौपानेको छ । डिजिटल वितरण मोशन पिक्चर्सले गरेको यस चलचित्र काठमाडौं उपत्यकामा डिसिएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युशनमार्फत प्रदर्शन गर्नेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच