चितवन । मंसिरको जाडोसँगैको सोमबारको बिहान चितवनको सौराहा अरू दिनझैँ थिएन । घाम ताप्दै निश्चिन्त देखिने चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर केही मौन र केही भारी थियो । हात्तीसारका कर्मचारीहरू नियमित कामभन्दा अलग रूपमा हात्ती र वनदेवीको पूजामा बिहानैदेखि पूजामा तल्लीन थिए । यो कुनै साधारण शुभ साइतको पूजा थिएन, खोरसोरमै हुर्किएका दुई छावा हात्तीको बिदाइका लागि गरिएको अन्तिम विधि थियो । छोरीको बिदाइमा माइतीघरमा छाउने सन्नाटा जस्तै मौनता खोरसोरभरि फैलिएको थियो । खगेन्द्रप्रसाद र रुद्रकलीका लागि यो दिन केवल यात्रा सुरु हुने दिन मात्र थिएन, चितवनसँगको आत्मीय सम्बन्ध टुट्दै टाढा कतारतर्फ लाग्ने क्षण थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई एक कार्यक्रमबीच बसोबास स्थलबाट सोमबार बिदाइ गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश पन्तले दुवै हात्तीलाई टीका र माला लगादिनुभएको थियो । दुवै हात्तीलाई केही मिष्ठान्न भोजनसहित माला र टीका लगाएर पठाइएको थियो । चितवनको पहिचान, शान र मान दुईवटा हात्तीलाई बिदाइ गर्दै छौँ पन्तले भन्नुभयो, ‘नेपालीहरूलाई संसारमा चिनाउन यिनले भूमिका खेल्नेछन् ।’
नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय गरिएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई सौराहाबाट बिदाइ गरिएको छ । बिदाइका क्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख प्रल्लाद सापकोटाले यो गर्वको क्षण भएको भन्दै नेपाल र कतारबीचको कूटनीतिक सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो ।
दुवै हात्तीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइनेछ । त्यहाँबाट आगामी पुस २ गते कतार एयरवेजको चार्टर्ड फ्लाइटबाट सिधै कतार पठाउने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिनुभयो ।
हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो । पुस २ गते बिहान भैरहवामा नेपालले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्नेछ । नेपालले अरू विभिन्न मुलुकलाई गैँडा उपहार दिएको भए पनि हात्ती दिन लागिएको यो पहिलोपटक हो । कानुनी र प्राविधिक प्रक्रियाका कारण सम्झौताको म्यादभन्दा ढिला गरी चितवनबाट हात्तीलाई कतार पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
०८१ साल वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको औपचारिक भ्रमणमा आएका बेला एक जोडी हात्ती उपहार दिने भनिएको थियो । नेपालले साइटिसलगायत प्रक्रिया पूरा गरी ०८१ साल कात्तिक २ गते मन्त्रिपरिषद्बाट एक जोडी हात्ती उपहारस्वरूप प्रदान गर्ने निर्णय गरेको थियो ।
कतारमा हात्ती हुर्काउनका निम्ति नेपालबाट एक भेटनरियन प्राविधिक र दुई माउतेसमेत एक महिनाका लागि पठाउन लागिएको निकुञ्जले जनाएको छ । उनीहरू एक महिनामा हात्ती हुर्काउने तरिका सिकाएर फर्कनेछन् । कतारमा हात्तीको रहनसहन, आहार र हावापानी अनुकूलनका बारेमा नेपालबाट प्राविधिक टोली यसअघि नै पुगेर स्थलगत अध्ययन गरिसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.पन्तले जानकारी दिनुभयो ।
हात्ती लोपउन्मुख वन्यजन्तुअन्तर्गत पर्दछ । यस्ता वन्यजन्तुको ओसारपसार गर्दा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) पालना गर्नुपर्दछ । यी सबै प्रक्रिया पूरा गरेर हात्ती पठाउन लागिएको निकुञ्जले जानकारी दिएको छ ।
खगेन्द्रप्रसाद २०७६ माघमा पूर्वी चितवनको खगेन्द्रमली पोष्टमा जन्मिएका हात्तीको भाले छावा हो । अहिले सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्रमा छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा हुर्कंदै गरेकी रुद्रकली ६ वर्षको भई । हात्ती प्रजनन केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली तीन महिनाको छँदा पूजाकलीको मृत्यु भएको थियो । पूजाकलीको मृत्युपछि उसलाई माउतेले रेखदेख गरेर हुर्काएका थिए । दुवै चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा तालिम दिइएका हात्ती हुन् ।
नेपालमा वन्यजन्तु संरक्षण गर्न थालिएयता विभिन्न देशलाई अरू जनावर उपहार दिइए पनि पहिलोपटक हात्ती दिन लागिएको हो । कतार पठाउन लागिएका दुवै हात्तीको स्वास्थ्य अवस्था राम्रो रहेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो । यी हात्ती कतार पठाउनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट विज्ञ टोली कतार पुगेर हात्ती राख्ने स्थान एवं त्यहाँको वातावरण अध्ययन गरेर फर्किएको थियो । अध्ययन टोलीले हात्ती राख्न बनाइएको ठाउँ उपयुक्त रहेको निचोड निकालेको थियो । हात्तीको स्वास्थ्य अवस्था, तिनका आनीबानी एवं यहाँको वातावरणबारे बुझ्न कतारबाट आएको प्राविधिक टोलीसमेत फर्किसकेको थियो । टोली दुई हात्तीको लम्बाइ तथा चौडाइका साथै तौलसमेत लिएर फर्किएको छ ।
नेपालमा निजी घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती रहेका छन् । जंगली हात्ती करिब ६५ वटाको हाराहारीमा रहेको अनुमान छ । हालसम्म नेपालले विभिन्न देशलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने १२० वटा घडियाल र मगर गोहीका अण्डा उपहार दिएको छ । सरकारले हालसम्म चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अष्ट्रियालगायत देशलाई २६ वटा गैँडा उपहार दिइसकेको छ । नेपालले पहिलोपटक सन् १९८५ मा विदेशी राष्ट्रलाई गैँडा उपहार दिएको थियो ।
चितवनको जंगलमा जन्मेर हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकली अब मरुभूमिको देश कतारमा नयाँ जीवन सुरु गर्दै छन् । उनीहरूको यात्रामा केवल दुई हात्ती होइन, नेपाल-कतार मित्रता, संरक्षणको सन्देश र चितवनको जंगलको सम्झना पनि सँगै गइरहेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच