नेपाली चलचित्र बजारमा पछिल्ला साताहरूमा एउटा नाम निरन्तर चर्चामा छ- ‘परान’ । नीर शाहको मुख्य भूमिका रहेको यस चलचित्रले बक्सअफिसमा असाधारण प्रदर्शन गर्दै नयाँ कीर्तिमानतर्फ अग्रसर भएको छ । चलचित्र विकास बोर्डका अनुसार प्रदर्शनको ४४औं दिनसम्म ‘परान’ ले १७ करोड ३९ लाख ४९ हजार ५०१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ, जुन हालका नेपाली चलचित्रहरूका लागि उल्लेखनीय उपलब्धि हो ।
यस कमाइसँगै ‘परान’ दयाहाङ राई अभिनीत सफल चलचित्र ‘जारी’ लाई उछिन्ने नजिक पुगेको छ । हालसम्म १७ करोड ४८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको ‘जारी’ सर्वाधिक कमाउने नेपाली चलचित्रको पाँचौँ स्थानमा छ । तर, ‘परान’ र ‘जारी’ को कमाइबीच अब आठ लाख ५१ हजार रुपैयाँभन्दा कम अन्तरमात्र बाँकी रहेकाले यसै साता ‘परान’ पाँचौं स्थानमा पुग्ने प्रायः निश्चित देखिएको छ । अझ आइतबार र सोमबारको कमाइ यसमा समावेश हुन बाँकी नै छ ।
एकातिर ‘परान’ जस्तो चलचित्रले सामग्री, अभिनय र माउथ पब्लिसिटीको बलमा बक्सअफिसमा निरन्तर राज गरिएको छ भने अर्कातिर मंसिरमा रिलिज भएका अधिकांश चलचित्रहरू दर्शक तान्न संघर्षरत छन् । यसले नेपाली चलचित्र उद्योगमा रिलिज समय, प्रचार रणनीति र सामग्रीको गुणस्तर कत्तिको निर्णायक हुन्छ भन्ने कुरालाई फेरि एकपटक स्पष्ट पारेको छ ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार हालसम्म ‘परान’ का ६ लाख १२ हजार ८०८ टिकट बिक्री भइसकेका छन् । रोचक पक्ष के छ भने, प्रदर्शनको पहिलो दिन चलचित्रले मात्र पाँच लाख रुपैयाँको ओपनिङ गरेको थियो । सुरुआतमा व्यापार औसत देखिए पनि तीन-चार दिनपछि बलियो माउथ पब्लिसिटीले चलचित्रलाई नयाँ उचाइमा पुर्यायो । दर्शकको सकारात्मक प्रतिक्रिया र भावनात्मक कथावस्तुले हलमा दर्शकको चाप बढ्दै गयो ।
दीपकप्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको ‘परान’मा नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रूपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बालकलाकार आर्यादीप आचार्यलगायत कलाकारको सशक्त अभिनय छ । चलचित्रमा गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी रहेको छ ।
यसअघि ‘परान’ले ‘छक्का पञ्जा’लाई पछि पार्दै सर्वकालीन सर्वाधिक कमाउने नेपाली चलचित्रको छैटौं स्थानमा आफ्नो नाम लेखाइसकेको थियो । अब पाँचौं स्थानमा पुग्न लागेको यस चलचित्रले नेपाली बक्सअफिसमा नयाँ सम्भावनाको संकेत दिएको विश्लेषकहरूको भनाइ छ ।
मंसिरमा रिलिज चलचित्रहरू किन चलेनन् ?
जहाँ ‘परान’ले लगातार सफलता हात पारिरहेको छ, त्यहीं मंसिरमा सिनेमाघरमा आएका नेपाली चलचित्रहरू भने बक्सअफिसमा कमजोर देखिएका छन् । बडादशैँ–तिहारको अवसरमा असोज र कात्तिकमा रिलिज भएका चलचित्रहरूले दर्शकको राम्रो साथ पाए पनि चाडपर्वपछि आएको मंसिर नेपाली चलचित्र उद्योगका लागि चुनौतीपूर्ण बनेको छ ।
मंसिर दोस्रो साताबाट रिलिज भएको वर्षा राउत निर्देशित चलचित्र ‘हर्ष’ले अपेक्षित व्यापार गर्न सकेन । प्रदर्शनको १६ दिनसम्म चलचित्रले २८ लाख ७६ हजार २८३ रुपैयाँमात्र ग्रस कलेक्सन गरेको छ भने आठ हजार ७६६ टिकट बिक्री भएका छन् । निर्देशक राउत स्वर्गीय निर्देशक शिव रेग्मीकी भाञ्जी हुनुहुन्छ । न्यूयोर्क फिल्म एकेडेमीबाट सिनेमा मेकिङ अध्ययन गर्नुभएकी उहाँले यसअघि केही लघु चलचित्र निर्देशन गरिसक्नुभएको भए पनि ‘हर्ष’बाट ठूला पर्दामा अपेक्षित सफलता हात पार्न सक्नुभएन ।
त्यसैगरी, मंसिर १८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘अभिमन्युः च्याप्टर-१’ले पनि दर्शक तान्न सकेन । प्रदर्शनको दश दिनसम्म चलचित्रको ग्रस कलेक्सन २१ लाख १० हजार २०५ रुपैयाँमात्र रहेको छ । सो अवधिमा ६ हजार ६८६ टिकट बिक्री भएका छन् ।
सुशान्त गौतम निर्देशित यस चलचित्रको कथा मुकेश खनालले लेख्नुभएको हो । चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ र शिशिर बाङदेललगायत कलाकारको अभिनय छ । तर, प्रचार-प्रसार कमजोर हुनु र दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्न नसक्नु चलचित्रको कमजोर व्यापारको मुख्य कारण मानिएको छ ।
‘पीआर’ र ‘लोकन्ती’को अवस्था पनि निराशाजनक
गत शुक्रबारदेखि प्रदर्शनमा आएका नेपाली चलचित्र ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’ र ‘लोकन्ती’को अवस्था पनि नाजुक देखिएको छ । सुरुवातबाटै मल्टिप्लेक्समा न्यून शो पाएको ‘लोकन्ती’ दर्शकको ध्यानमा पर्न सकेन ।
त्यस्तै, शोभित बस्नेत निर्देशित ‘पीआर’को अवस्था पनि कमजोर छ । सोमबार अधिकांश मल्टिप्लेक्स हलहरूमा यस चलचित्रका शोहरू देखिँदैनन् । यी चलचित्रहरूको औपचारिक बक्सअफिस रिपोर्ट आगामी सोमबार सार्वजनिक हुने चलचित्र विकास बोर्डले जनाएको छ ।
निष्कर्ष
एकातिर ‘परान’ जस्तो चलचित्रले सामग्री, अभिनय र माउथ पब्लिसिटी को बलमा बक्सअफिसमा निरन्तार राज गरिरहेको छ भने अर्कातिर मंसिरमा रिलिज भएका अधिकांश चलचित्र दर्शक तान्न संघर्षरत छन् । यसले नेपाली चलचित्र उद्योगमा रिलिज समय, प्रचार रणनीति र सामग्रीको गुणस्तर कत्तिको निर्णायक हुन्छ भन्ने कुरालाई फेरि एकपटक स्पष्ट पारेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच