काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाउँदै विश्वास पुनःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताउनुभएको छ ।
नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले राजनीतिक अस्थिरता, असुरक्षा र अन्योलका कारण आर्थिक गतिविध चलायमान हुन नसकेकाले निजी क्षेत्रको मनोबल माथि नउठेसम्म आर्थिक गतिविधि चलायमान हुन कठिन हुने बताउनुभएको हो । हरेक आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग, व्यवसायमा प्रहार हुने गरेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले यस्तो अवस्थाले लगानी वातावरण थप कमजोर हुने धारणा राख्नुभयो ।
नेपालमा व्यवसायीले गरेको योगदानको चर्चाभन्दा नकारात्मक प्रचार बढी हुने गरेकाले पनि परिवर्तन आवश्यक भएको उहाँको भनाइ थियो । अध्यक्ष ढकालले भन्नुभयो, ‘देशमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र, राजस्वमा योगदान गर्ने निजी क्षेत्र तर हरेक आन्दोलनमा निजी क्षेत्र तारो बन्ने गरेको छ । अब जुनसुकै प्रदर्शन या आन्दोलनमा निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नुहुँदैन भन्ने सन्देश आमरूपमा प्रवाह गर्नुपर्दछ ।’
भदौ २३ र २४ को गतेको प्रदर्शनका क्रममा भएको गलत घुसपैठबाट उद्योग व्यवसायदेखि उद्यमी व्यवसायीका शयन कक्षसम्म आगो लागेको, लुटपाट भएको र अर्बौंको क्षति भएको अवस्थामा दण्डहीनताले प्रश्रय पाउन नहुनेमा उहाँको जोड थियो । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा धेरै नीतिगत सुधार भएको उल्लेख गर्दै ढकालले नेपालमा अथाह सम्भावना भएको र ती सम्भावनाबाट नेपालमै अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा ठूला पूर्वाधार परियोजनाका लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पुँजी एकत्रित गरी पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ढकालले त्यसैका लागि महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम सुरु गरिएको जानकारी दिँदै त्यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पुँजी अभाव नहुने बताउनुभयो । उहाँले नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि पनि सहकार्य गर्न सकिने धारणा राख्नुभएको थियो ।
महासंघको आग्रहमा सरकारले जिल्ला सुरक्षा समितिमा महासंघको प्रतिनिधि सहभागी गराएको बताउँदै त्यसमा प्रभावकारी सहभागिताका लागि जिल्ला नेतृत्वलाई उहाँले आग्रहसमेत गर्नुभयो । नवलपुर जिल्लामा कृषि, पर्यटन, ऊर्जा र साना तथा मझौला उद्योगमा ठूलो सम्भावना रहेको भन्दै अध्यक्ष ढकालले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय बढाएर ती सम्भावना व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो ।
‘राष्ट्र बैंकको नीतिले अर्थतन्त्र संकटमा’
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले भैरहवामा लुम्बिनी प्रदेशमा चालु पुँजी कर्जाको प्रभावकारिता विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उद्योग व्यवसायीका प्रतिनिधि, चालु पुँजी कर्जा उपयोग गरेका व्यवसायी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा लेखापरीक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्यले चालु कर्जा पुँजी लगानी मार्गदर्शनमा व्यवसायीहरूका गुनासाका विषयमा छलफल तथा सुझाव संकलन गर्ने कार्य भएको बताउनुभयो । उहाँले चालु कर्जा पुँजी लगानीको उपयोग र थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको जानकारी दिनुभयो । अन्तरक्रियाले राष्ट्र बैंकलाई नीतिगत कार्यमा समेत सहयोग पु¥याउने उहाँको भनाइ थियोे ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले चालु पुँजी कर्जा लचिलो बनाउनुपर्नेमा जोड दिँदै बैंकहरूको नीतिगत अस्पष्टताका कारण ठूला उद्योग व्यवसायीहरू, पर्यटन तथा होटल र उत्पादनमूलक उद्योगहरूले सहज कर्जा प्राप्त नगर्दा अर्थतन्त्र सुस्ताउँदै गएको बताउनुभयो ।
देशको अर्थतन्त्र चलायमान बनाउन उद्योगी व्यवसायीलाई सहज कर्जा प्रवाह गरी आर्थिक समृद्धिमा राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने अध्यक्ष शर्माले सुझाव थियो । सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्यले राष्ट्र बैंकको चालु पुँजी कर्जा लगानीमा कडाइले उद्योग व्यवसाय धरापमा परेको बताउनुभयो । देशले खोजेको र उद्योगी व्यवसायीको पक्षमा सकारात्मक सहयोग पुग्ने प्रकारले चालु कर्जा लगानी मार्गदर्शन संशोधन गर्नुपर्ने उहाँको सुझाव थियोे ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा युवा व्यवसायी ठाकुरकुमार श्रेष्ठले पनि नेपालको अर्थतन्त्र शिथिल बताउनमा राष्ट्र बैंकको चालु कर्जा मार्गदर्शनले अवरोध गरेको बताउनुभयो । राष्ट्र बैंकको कर्जा प्रवाहमा जटिलता हँुदा देशमा अहिले एक लाख ५० हजारभन्दा बढी उद्योगी, व्यवसायी कालोसूचीमा परेको उहाँको भनाइ थियो ।
श्रेष्ठले भन्नुभयो, ‘चालु पुँजी कर्जा मार्गदर्शन हाम्रो माटो सुहाउँदो हुनुपर्छ । राष्ट्र बैंकको कर्जा प्रवाहसम्बन्धी परिभाषा बैंकहरूले आफू अनुकूल फरक–फरक व्याख्या गर्दा उद्योगी व्यवसायी समस्यामा परेका छन् ।’ बैंकहरूले उद्योगी व्यवसायीलाई फकाई-फकाई कर्जा प्रदान गर्ने र पछि विभिन्न वहाना बनाएर तनाव दिने प्रवृत्ति अन्त्य हुनुपर्ने पनि उहाँले बताउनुभयो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर