खसिया’आखर हातमा पर्दा हर्षको ठेगान रहेन । खसिया’आखर खश भाषाको शब्दकोश हो । आचार्यबाडा, जुम्लाका भाषाविद् रमानन्द आचार्यको अनवरत प्रयासको फलस्वरूप खश भाषाको शब्दकोश तयार भएको छ । भाषाविद् आचार्यको प्रधान सम्पादकत्व तथा तुंगनाथ उपाध्याय, प्रकाशचन्द्र खत्री, दयादत्त हमाल एवं हरिबाबु चौलागाईंको सम्पादनमा २०८२ असार महिनामा जनसामु ल्याइएको हो ।
खश भाषाको इतिहास लामो भए तापनि अहिलेसम्म यससम्बन्धी ठोस बृहद् काम हुनसकेको थिएन । विक्रमीय एघारौं शताब्दीको मध्यताका नागराजद्वारा स्थापित खश साम्राज्यकालमा राजकीय भाषाको मान्यता पाई विकसित हुने अवसर पाएको खश भाषा निकै समृद्ध छ । सिँजालाई केन्द्रभूमि बनाई राज्य सञ्चालन गरिएको खश साम्राज्यको सीमा उत्तरतर्फ कैलास पर्वत, दक्षिणमा गंगानदी, पूर्वमा वेत्रावती र पश्चिममा काँगडासम्म फैलिएको वस्तुस्थितिले पनि यसको आयाम आकलन गर्नसकिन्छ । यही खश भाषाको पृष्ठभूमिमा सिँजाली, पर्वते, गोरखाली हुँदै कालान्तरमा नेपाली भाषा बनेको पाटोले यसको महत्ता दर्शाएको छ । ‘भारोपेली भाषा परिवारको आर्य, इरानेली शाखाअन्तर्गत शतम् वर्गभित्र संस्कृतबाट विकसित हुँदै खश प्राकृत र खश अपभ्रंशबाट नेपाली भाषाको उत्पत्ति भएकाले खश भाषालाई नेपाली भाषाको प्राचीन रूप मानिन्छ र जुम्लाको सिँजालाई नेपाली भाषाको उद्गमस्थल’ मानिने कुरो यस शब्दकोशको सम्पादकीयमा उल्लेख छ ।
प्राचीन सभ्यता, संस्कृति र कलासम्बन्धी विपुल सम्पदा ओगटेको कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट जिल्लामा मात्रै होइन, सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम आदि स्थानमा आज पनि खश भाषाको प्रचलन रहेको छ ।
मातृभाषा, सम्पर्क भाषा तथा राजकीय भाषाका रूपमा प्रचलित हुँदै मौलिक स्वरूप ग्रहण गरी बनेको ‘सिँजाली भाषा’ को पुख्र्यौली खोज्नेक्रममा पूर्वी पहाडी, पश्चिमी पहाडी, खश हुँदै बाल्हीकीसम्म पुगिने सिलसिला जनाउँदै प्रस्तुत शब्दकोशको प्राक्कथनमा भनिएको छ-‘भरत नाट्यशास्त्रम्’ का रचयिता भरतमुनि (इ.पू.५०० तिर) ले भारतवर्षका उत्तरतिर बस्ने उदीच्यहरू र खशहरूको मातृभाषा बाल्हीकी हो भनेर स्पष्ट उल्लेख गरेका छन् ।
मातृभाषा, सम्पर्क भाषा तथा राजकीय भाषाका रूपमा प्रचलित हुँदै मौलिक स्वरूप ग्रहण गरी बनेको ‘सिँजाली भाषा’ को पुख्र्यौली खोज्नेक्रममा पूर्वी पहाडी, पश्चिमी पहाडी, खश हुँदै बाल्हीकीसम्म पुगिने सिलसिला जनाउँदै प्रस्तुत शब्दकोशको प्राक्कथनमा भनिएको छ- ‘भरत नाट्यशास्त्रम्’ का रचयिता भरतमुनि (इ.पू.५०० तिर) ले भारतवर्षका उत्तरतिर बस्ने उदीच्यहरू र खशहरूको मातृभाषा बाल्हीकी हो भनेर स्पष्ट उल्लेख गरेका छन् । उनले भारतवर्षमा प्रचलित मागधी, अर्धमागधी, आवन्ती, शौरसेनी, प्राच्या र दक्षिणात्या नामका ६ भाषाहरूलाई बाल्हीकीका सहजात दिदी, बहिनी मानेका छन् ।’
देवनागरी लिपिको प्रयोगमा पनि खश भाषाको अग्रगामिता छ । ब्राह्मी लिपिबाट विकसित भई गुप्तलिपि, त्यसबाट विकसित भई कुटिललिपि, कुटिललिपिबाट नागरीलिपि र नागरीलिपिबाट दशौं/एघारौं शताब्दीमा विकसित लिपि हो–देवनागरी । संस्कृत, प्राकृत, अपभ्रंश, नेपाली, हिन्दी, भोजपुरी, मैथिली, व्रज, अवधी आदि भाषा देवनागरी लिपिमा लेखिन्छन् । नेपालमा देवनागरी लिपिको सर्वप्रथम प्रयोग खश भाषामा भएको देखिन्छ । वि.सं.१०३८ सालको भूपाल दामुपालको दुल्लुस्थित शिलालेख होस् वा भुसागाउँ, दुल्लुको कोटनिकट खिराखेतमा प्राप्त बाँमुषँड्काको वि.सं. ११५१ को स्तम्भलेख होस्, यिनले खश भाषाको वैशिष्ट्य दर्शाएका छन् ।
अचेल जुम्ली भाषाका रूपमा बढी चर्चित खशभाषाको परिवेश यतिमा मात्रै सीमित छैन । खसान क्षेत्र बाहेक अन्यत्र पनि यसका रूप, रङ र शैली देखापर्छन् । भारतको उत्तराखण्डमा पर्ने कुमाउँ, गढवाल तथा हिमाचल प्रदेशका भाषामा पनि खश भाषाका सौरभ भेट्नसकिन्छ । यस पङ्क्तिकारद्वारा हालै गरिएको कुमाउँ, गढवाल आदिको भ्रमणमा कतिपयले आफू ‘खसिया’ भएको जनाउँदै गौरव व्यक्त गरेका थिए । तिनका अनुसार उहिले खशभन्दा निको नमान्ने चलन थियो, खसेको, पतित अर्थमा लिइन्थ्यो तर बुझ्दै जाँदा यो कुलपुर्खा, प्राचीन सभ्यता, आफ्नो पहिचानको, अस्तित्वको कुरो भएकाले हाकाहाकी आफू खश भएको स्वीकार्नथालिएको हो । नेपाली भाषा तथा खश भाषाको ऐतिहासिक अध्ययनका लागि मात्र होइन, भारतका कुमाउँ, गढवाल, हिमाचल, काश्मीर आदि क्षेत्रमा व्यवहृत खश भाषाको तुलनात्मक अध्ययनका निम्ति पनि यस शब्दकोशले मद्दत गर्ने प्रष्ट छ ।
शब्दकोश निर्माण गर्ने कार्य निस्सन्देह सामान्य होइन । शब्दसंकलन, अर्थ निरूपण, स्रोत, व्याख्या, उदाहरण जस्ता कार्य चुनौतीपूर्ण हुन्छन् । खश भाषाकै उखानलाई उद्धृत गरी भन्नुपर्दा ‘सक्या सपाडौं नसक्या नबिगाडौं’ भन्नेतर्फ गुरुगम्भीर नहुने हो भने श्रमसार्थक नहुनसक्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशद्वारा निर्धारित र अवलम्बित सिद्धान्त, आधार, प्रक्रिया र विधानलाई प्रस्तुत शब्दकोश निर्माणमा स्वीकार गरिएको भए तापनि त्यसैको अन्धानुकरण नगरी उसमा भएका कतिपय व्युत्पत्तिगत, अर्थगत तथा क्रमगत त्रुटि सच्याउने काम समेत गरिएको दाबी कोशकारको रहेको छ ।
स्थानीय बोलचालका शब्द समेटिएको यो कोश खासमा भाषिकाकोश भएकाले स्थानीय भाषिकाको कथ्य रूपलाई यथावत् राख्तै गुरुराज हेमराज पाण्डेदेखि २०५५ मा भएको नेपाली भाषा सङ्गोष्ठीले अख्तियार गरेको वर्णविन्यास प्रक्रिया अनुरूप शब्दको मूल रूप तय गर्दै यही अनुसार मानकताका लागि प्रस्ताव समेत गरिएको पाटो स्मरणीय बनेको छ ।
यस शब्दकोशमा खश भाषाका शब्दहरूको अर्थ नेपालीमा दिइनुले यसको ग्राह्यता व्यापक बनाएको छ । शब्द अथ्र्याउनेक्रममा उखान, टुक्का, रेखाचित्र, तस्वीर, नक्सा आदिको प्रयोग गरिएको छ । शब्दकोशमा कतिपय व्यक्ति तथा स्थानका सङ्क्षिप्त परिचयसमेत दिइनुले यसको उपादेयता बढाएको छ । संकेतसूची तथा चिह्नसूची त छँदैछन्, वनस्पति विशेषका वैज्ञानिक नामसमेत राखिएको छ ।
बृहदाकारको यो शब्दकोश राष्ट्रका निम्ति आफैमा उत्कृष्ट उपहार हो । नेपालका शब्दकोशको इतिहासमा यसले एउटा अर्को पृष्ठ थपेको छ । आकर्षक, रंगीन कलेवरमा प्रकाशित खसिया’ आखरमा कूल १३६८ पृष्ठ रहेका छन् । खश भाषा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि यो शब्दकोश अत्यन्त उपयोगी रहेको छ । अन्य भाषाका शब्दकोश निर्माण गर्ने सन्दर्भमा पनि यसले उत्प्रेरणा जगाएको अनुभव गर्नसकिन्छ ।
कर्णाली प्रदेशको सामाजिक मन्त्रालयले यस्तो महत्वपूर्ण शब्दकोश प्रकाशन गर्नुलाई प्रशंसनीय एवं अनुकरणीय कार्य मान्नैपर्छ । अन्य प्रदेश सरकारलाई यस कार्यले अवश्य घचघच्याउनेछ र विभिन्न भाषाका शब्दकोश आदि निर्माणमा तरखर चल्नेछ भन्ने आशा गर्नसकिन्छ । अन्त्यमा, यस्तो महत्वपूर्ण कार्य पूर्ण गरिएकामा यसका प्रधानसम्पादक भाषाविद् रमानन्द आचार्य लगायत सबै सरोकारी पक्षमा साधुवाद छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच