काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले शनिबार राजधानी काठमाडौंमा शक्ति प्रदर्शनसहित ‘एकता सन्देश सभा’ सम्पन्न गरेको छ । बागमती प्रदेश कमिटीको आयोजनामा भृकुटीमण्डपमा आयोजित सभाले पार्टीको संगठनात्मक एकता, निर्वाचनप्रतिको प्रतिबद्धता र वर्तमान राजनीतिक अवस्थाप्रति सन्देश दिएको हो । सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन सार्ने हल्ला सत्य भए नेपाली कम्युनिष्ट पार्टी चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ । नेकपा सुरुदेखि नै निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै उहाँले सरकारले कुनै तर्क वा बहानामा चुनावको मिति सार्न खोजे त्यसविरुद्ध प्रतिरोध हुने स्पष्ट पार्नुभयो । ‘धनगढीदेखि काठमाडौंसम्म देखिएको विशाल जनउपस्थितिलाई खेलाँची नठानियोस्’, प्रचण्डले भन्नुभयोे, ‘संविधानलाई बारम्बार मिच्ने कोसिस गरियो र फेरि निर्वाचन मिति सार्ने दुस्साहस गरियो भने हामी चुप लागेर बस्ने छैनौँ ।’
उहाँले शान्तिपूर्ण निर्वाचन हुनुपर्नेमा जोड दिँदै संविधानमाथि खेलवाड भए सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिनुभयो । ‘यो त्यस्तो शक्ति हो जसले हिजो जनयुद्ध गर्यो, साढे दुई सय वर्ष पुरानो राजतन्त्रलाई ढाल्यो र जनआन्दोलनको बलमा गणतन्त्र स्थापना गर्यो’, उहाँले भन्नुभयोे, ‘जनयुद्ध र जनआन्दोलनको तागतलाई एक ठाउँमा ल्याउने शक्ति यही हो, यसलाई हल्का रूपमा नलिइयोस् ।’
देश दुर्घटनातर्फ धकेलिने अवस्था आए नेपाली कम्युनिष्ट पार्टी रमिते नबन्ने भन्दै प्रचण्डले ७७ वटै जिल्लाबाट नयाँ आन्दोलनको झण्डा बोकेर सडकमा उत्रिने चेतावनी दिनुभयो । उहाँले चुनाव बिथोल्न खोज्ने शक्ति नेकपाको सम्भावित जित देखेर अत्तालिएको आरोपसमेत लगाउनुभयो । ‘हामीले निर्वाचनमा हामीले जित्छौँ कि भनेर आत्तिएर चुनाव बिथोल्न लागेका छन् । आफूलाई हात्ती भन्ने केही पार्टीहरू अबको चुनावमा मुसा बन्ने देखेर चुनाव नहोस् भनिरहेका छन् । त्यही पुरानो संसद् फिर्ता भए त हामी ठूला भइहाल्छौँ भन्ठानेका होलान् । त्यो भ्रम हो । भ्रमबाट बिउँझनुस्,’ उहाँले भन्नुभयो ।
आलोचना स्वीकार्छौं, एकपटक मौका दिनुस् : नेपाल
सभालाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिष्ट पार्टी इमानदारी, देशभक्ति र जनसेवाको भावनाका साथ अघि बढिरहेको दाबी गर्नुभयो । उहाँले देश विकासका लागि एकपटक आफ्नो पार्टीलाई मौका दिन जनतासँग आग्रह गर्नुभयो । ‘हामी साँच्चै जनताको चाहनालाई साकार पार्न इमानदारीसाथ अघि बढेका छौँ’, नेपालले भन्नुभयो, ‘देशमा गणतन्त्र ल्याउनेदेखि संविधान निर्माण र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससम्म हामीले खेलेको भूमिकाको निष्पक्ष मूल्यांकन गर्नुस् ।’
आफ्ना पार्टीका राम्रा कामको प्रशंसा र कमजोरीको आलोचना स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै उहाँले जनताको विश्वास नै पार्टीको मुख्य पुँजी भएको बताउनुभयो । शान्तिपूर्ण रूपमा सम्पन्न एकता सन्देश सभा र शक्ति प्रदर्शनलाई नेपाली कम्युनिष्ट पार्टीले आगामी राजनीतिक संघर्ष र निर्वाचनको तयारीको महŒवपूर्ण आधारका रूपमा लिएको छ ।
सभा सुरु हुनुअघि काठमाडौं उपत्यका तथा आसपासका जिल्लाबाट नेता-कार्यकर्ताहरू विभिन्न र्यालीसहित प्रदर्शनमा सहभागी भएका थिए । रत्नपार्क, सुन्धारा, बबरमहल, डिल्लीबजार (चारखाल) लगायत स्थानबाट निस्किएका र्यालीहरू प्रदर्शनी मार्गस्थित पद्मोदय अगाडिको मुख्य मञ्चमा पुगेर सभामा परिणत भएका थिए । उपत्यकासँगै चितवन, धादिङ, मकवानपुर, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप र भक्तपुरलगायत जिल्लाबाट आएका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
उम्मेदवारका लागि ‘जेन-जी’ युवाको सिफारिश अनिवार्य
नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गर्न मातहतलाई सर्कुलर गरेको छ । पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिश गर्दा ‘जेन-जी’ युवा अनिवार्य सिफारिश गर्नुपर्ने मापदण्ड बनाएको छ । सर्कुलरमा हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना ‘जेन-जी’ युवा र एक महिलासहित बढीमा पाँच जनालाई प्रत्यक्षतर्फ सिफारिश गर्न भनिएको छ । नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ उम्मेदवार सिफारिश गर्दा कम्तीमा दुई महिलाको नाम पठाउनुपर्ने मापदण्ड बनाएको छ । सर्कुलरमा सम्पर्क समन्वय प्रदेश, उपत्यका विशेष प्रदेश, प्रवास प्रदेश, जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिहरूले दुई महिला र दुई पुरुषका दरले चार-चारजना सिफारिश गर्नुपर्ने उल्लेख छ ।
‘संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिश गर्ने,’ समानुपातिक उम्मेदवार सिफारिशबारे भनिएको छ, ‘शहीद परिवार, बेपत्ता परिवार, द्वन्द्वपीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिश गर्ने । एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिश नगर्ने ।’






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…