काठमाडाैं । सूचना प्रविधिको तीव्र विकाससँगै मोबाइल र इन्टरनेट हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ। आजको समयमा प्रायः सबैजसो मानिस कुनै न कुनै सामाजिक सञ्जालमा सक्रिय छन्। फुर्सद मिल्ने बित्तिकै फोटो खिच्ने, स्टाटस लेख्ने र फेसबुक, इन्स्टाग्राम वा एक्स (ट्वीटर) मा शेयर गर्ने बानी सामान्य जस्तै भइसकेको छ।
घुमघामदेखि भोजभतेर, फिल्म हेर्नेदेखि खाना खाइरहेको क्षणसम्म हरेक गतिविधि सामाजिक सञ्जालमा देखाउनुपर्ने होड जस्तै चलेको छ। यही प्रवृत्ति विवाहजस्तो निजी र जीवनको महत्वपूर्ण क्षणमा पनि देखिन थालेको छ। धेरैले विवाहका हरेक पल सार्वजनिक गरिरहेका हुन्छन्। तर विवाहका तस्बिर तथा जानकारी सामाजिक सञ्जालमा राख्दा केही कुरामा सचेत हुनु जरुरी हुन्छ। यदि तपाईं पनि विवाहसम्बन्धी कुरा पोस्ट गर्दै हुनुहुन्छ भने यी पाँच विषयमा विशेष ध्यान दिनुहोस्।
१. पारिवारिक कलहलाई निजी नै राख्नुहोस्
विवाहका बेला सानो–ठूलो पारिवारिक असमझदारी हुनु स्वाभाविक हो। तर यस्ता कुरालाई सामाजिक सञ्जालमा पोख्नु बुद्धिमानी होइन। यसले परिवारका सदस्यको भावनामा दीर्घकालीन असर पार्न सक्छ र भविष्यमा आफैंलाई अप्ठ्यारो स्थितिमा पुर्याउन सक्छ।
२. स्थान र मान्यजनको विवरण सार्वजनिक नगर्नुहोस्
विवाह कहाँ हुँदैछ, को–को विशिष्ट व्यक्ति सहभागी हुँदैछन् भन्ने विवरण सामाजिक सञ्जालमा खुलस्त राख्नु सुरक्षित मानिँदैन। यस्ता जानकारी सीमित व्यक्तिसम्ममै राख्नु नै उपयुक्त हुन्छ।
३. विवाहको मिति बारम्बार पोस्ट नगर्नुहोस्
आफ्ना नजिकका आफन्त र इष्टमित्रलाई विवाहको मिति एकपटक जानकारी गराए पुग्छ। पटक–पटक सामाजिक सञ्जालमा मिति दोहोर्याइरहनुले अनावश्यक नकारात्मक धारणा बन्न सक्छ।
४. हुनेवाला जीवनसाथीबारे अत्यधिक पोस्ट नगर्नुहोस्
किनमेल, घुमघाम वा खानपिनका हरेक क्षण सार्वजनिक गरिरहनु उपयुक्त हुँदैन। नयाँ सम्बन्ध अझै परिपक्व नहुँदासम्म केही कुरालाई निजी नै राख्नु दीर्घकालीन रूपमा फाइदाजनक हुन्छ।
५. हनिमुनको योजना गोप्य राख्नुहोस्
हनिमुनका लागि कहाँ जाने योजना बनाउँदै हुनुहुन्छ भन्ने कुरा सामाजिक सञ्जालमा सार्वजनिक गर्नु राम्रो अभ्यास होइन। आफ्नो निजी जीवनका यस्ता पक्षलाई सकेसम्म सीमित दायरामै राख्नु बुद्धिमानी हुन्छ।
विवाह जीवनको महत्वपूर्ण मोड हो। त्यसैले सामाजिक सञ्जालमा देखाउनेभन्दा पनि त्यो क्षणलाई महसुस गर्न र सुरक्षित राख्नेतर्फ ध्यान दिनु नै उत्तम विकल्प हो।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच