युवाहरू परिवर्तनका संवाहक हुन्- चाहे त्यो राजनीति होस् वा व्यावसायिक क्षेत्र । उनीहरूमा सधैं नयाँ कुरा देखाउने उत्साह हुन्छ । पछिल्ला वर्षहरूमा ‘जेन-जी’ का कतिपय युवा राजनीतितिर आकर्षित हुन थालेका छन् । तथापि, विदेश पलायन हुने ठूलो युवा समूहले भने देशप्रति नकारात्मक दृष्टिकोण प्रकट गर्दै आएको देखिन्छ । उनीहरूले रोजगारी अभाव, व्यावसायिक वातावरणको कमी, राजनीतिक अस्थिरता र भ्रष्टाचारजस्ता कारणहरूमात्र देखाउँदै ‘नेपालमा केही हुँदैन’ भन्ने धारणा फैलाइरहेका छन् । तर, केही युवा भने ‘जे गर्छौं, नेपालमै गर्छौं’ भन्ने मान्यतासहित अघि बढिरहेका छन् ।
उनीहरूले नेपालमै विभिन्न क्षेत्रमा रोजगारी र स्वरोजगारीका अवसरहरू देखिरहेका छन् र आफ्नो क्षेत्रमा सफलता पनि प्राप्त गरिरहेका छन् । त्यस्तै, सिभिल इञ्जिनियरिङ क्षेत्रका विद्यार्थीहरूको एउटा समूहले व्यक्तिगत आवासीय घर निर्माणमा नयाँ अवधारणासहित काम सुरु गरेको छ । सामान्यतया, जीवनभरको कमाइले बनाइने व्यक्तिगत आवासीय घरहरू ठेकेदारहरूबाटै बनाइँदै आएका छन् । तर, घर बनाउने ठेकेदारको मापदण्ड र योग्यताबारेमा खासै ध्यान दिइएको हुँदैन । पछि घरमा समस्या आएमा घरधनी नै सबै जोखिम बहन गर्न बाध्य हुन्छन् । घर निर्माणका क्रममा हुने जोखिमहरू न्यूनीकरण गर्ने उद्देश्यले स्थापना भएको घरदरबारले घर निर्माणसम्बन्धी आवश्यक सम्पूर्ण सेवाहरू प्रदान गर्दै आएको छ । प्रस्तुत छ, घर निर्माणका विविध पक्षहरूबारे घरदरबारका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविन गेलालसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानीः-
घरदरबारले के काम गर्छ ?
घर दरबार भनेको चाहिँ खासमा हामीले कन्ट्रक्सन(निर्माण) क्षेत्रमा काम गर्ने हो । नेपालको कन्ट्रक्सनमा व्यक्तिगत घरहरू निर्माणको काम धेरैजसो ठेकेदारले मात्रै काम गर्दै आएको देखिन्छ । तर, ठेकेदारको मात्रै भरपर्दा समस्या आउन सक्छ किनभने ठेकेदारलाई घर निर्माणसम्बन्धी सबै कुराको ज्ञान हुँदैन । इञ्जिनियरलाई त निर्माणसम्बन्धी सबै कुरा थाहा हुँदैन तर अधिकांशले ठेकेदारलाई विश्वास गरेर घर निर्माणको जिम्मा दिने प्रचलन छ । घर भनेको बिनायोजना र एक्सपर्टहरूसँग परामर्श नलिइकन बनाउनुहँुदैन, किनभने जीवनमा एकपटक बनाइने घर सुरक्षित र सोचेजस्तो हुनुपर्छ । पहिला नै थाहा पाएर तपाईंले इन्भेस्ट गर्नुभयो भने बेटर हुन्छ । नेपालको भवन निर्माण मापदण्ड फलो गरेर बनाउँदै गर्दा एक्सपर्टसँग परामर्श दिएर घर बनाउन घरदरबारले सहयोग गर्छ । कस्तो घर बनाउने भन्ने विशेषज्ञता भएको टिम हामीसँग छ ।
काम कहिलेदेखि सुरु गर्नुभएको हो ?
हामीले कम्पनी दर्ता गरेको त छ वर्ष भइसक्यो । यसबीचमा घर मर्मत सम्भार गर्ने रेनोभेट गरेर मोडर्नमा कन्भर्ट गर्ने, घरमा सिपेजसम्बन्धी समस्याहरूमा काम गर्यौं । सुरुमा ट्रिटमेन्टहरू गर्दै सिक्दै त्यसपछि घर निर्माणको काममा हात हालेका हौं । घर निर्माणकै काम सुरु गरेको तीन वर्ष भयो ।
घरहरू कहाँ बनाइरहनुभएको छ ?
अहिले काठमाडौं उपत्यकामा सुरु गरिसकेका छौं भने उपत्यकाबाहिर पाँचवटा जिल्लाहरूमा हामीले नक्सासम्बन्धी परामर्श दिइरहेका छौं । विस्तारै उपत्यकाबाहिर पनि निर्माण सुरु गर्ने हाम्रो तयारी छ ।
निजी घरहरू परम्परागतरूपमै बन्दै आएको अवस्था छ, यस्तो नयाँ कन्स्पेप्टप्रति ग्राहकको आकर्षणचाहिँ कस्तो छ ?
आकर्षणभन्दा पनि मान्छेमा पहिला त यसमा कुनै नलेज नै थिएन । कसरी काम गर्ने, मैले लगानी गरेको पैसाको रिटर्न पाउँछु कि पाउँदिन भन्ने कुरामा त्यति ध्यान दिइँदैनथ्यो । तपाईं एउटा घर बनाउँदै हुनुहुन्छ भने तपाईंसँग भएको जग्गामा घर बनाउँदा कस्तो बन्छ र कस्तोसम्म बनाउन सक्छु भन्ने कुरा सामान्यतया घर नबनेसम्म थाहा हुँदैन, सबैलाई भनेको होइन, कोही बुभेर गर्ने पनि छन् तर अधिकांशलाई थाहा हुँदैन । पछिल्लो समय भने केही खर्च भए पनि घर कस्तो बन्दोरहेछ, कति खर्च हुँदोरहेछ भन्ने थाहा पाएरै घर बनाउनुपर्छ भन्ने चेतना विकास हुँदै गएको छ । खासगरी युवा पुस्तामा यसप्रति बढी चासो देखिएको छ ।
खासमा घर बनाउनुपर्ने चाहिँ कस्तो हो ?
हामी भन्छौं, घर भनेको तपाईं आफ्नो आवश्यकताअनुसारको बनाउनुस्, अरूको हेरेर, अरूले ठूलै बनायो भनेर ठूलो बनाउने होइन, अरूले धेरै एरिया कभर गरेर बनाउला, धेरै महँगा वस्तुहरू प्रयोग गर्ला तर तपाईंसँग त्यसो गर्न बजेट नहुन पनि सक्छ । आफ्नो बजेटभित्र रहेर काम गर्नु राम्रो हुन्छ । तपाईंसँग कति बजेट छ, त्यसका आधारमा तपाईंलाई युजेबल हुने घर बनाउनुस् भनेर हामी परामर्श दिन्छौं ।
यस्तो इञ्जिनियरिङ कन्सल्टेन्सीतिर लाग्यो भने घरको लागत बढ्ला नि ?
हामीसँग काम गर्दा सामान्य ठेकेदारभन्दा केही महँगो पर्न सक्छ । तर, हामी गुणस्तरीय निर्माणमा जोड दिन्छौं र सरकारी मापदण्डअनुसार काम गर्छौं । ठेकेदारले कहिलेकाहीँ लागत घटाउन कम गुणस्तरको सामग्री प्रयोग गर्छ वा मापदण्डमा सम्झौता गर्छ तर हामी त्यस्तो गर्दैनौं । हाम्रो सेवा घर निर्माणको पूर्ण समाधान हो (नक्सापासदेखि निर्माणसम्म) जसले ग्राहकको समय र मानसिक बोझ बचाउँछ । साथै, काम सकेपछि आफ्टर सर्भिस पनि उपलब्ध हुन्छ । हामी कम्पनीका रूपमा स्थापित ब्राण्ड हौं, त्यसैले राम्रो काम र प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्छौं ।
निर्माण कम्पनी र घरदरबारको फरक ?
घरदरबार एक विशुद्ध युवा टिमद्वारा स्थापित कम्पनी हो, जुन कुनै संस्था वा व्यक्तिसँग टाइअप नभएको स्वतन्त्र ब्राण्ड हो । हामी सबैसँग समान व्यवहार गर्छौं र इञ्जिनियरिङ मापदण्डभन्दा बाहिर काम गर्दैनौं, जसले कम्पनीको ब्राण्ड भ्यालु सुरक्षित राख्छ । ग्राहकले परामर्श लिएपछि फिल्ड भिजिट, प्लान र नक्सा तयार पारिन्छ । खर्च विवरण, प्रयोग हुने सामग्री र डिजाइन सबै एग्रिमेन्टमा स्पष्ट हुन्छ र त्यसैअनुसार काम गरिन्छ । हामी नेपालका भवन निर्माण नियमअनुसार मात्र काम गर्छौं । अर्का कम्पनीहरू प्रायः फिक्स प्रोसेस र स्क्वायर फिट आधारमा काम गर्छन् तर घरदरबारले प्रत्येक घरको अनुकूल योजना र मूल्य निर्धारण गर्छ ।
रेसिडेन्टल घरहरूको बजार कस्तो पाउनुभएको छ ?
रेसिडेन्टल घरहरूको बजार ठूलो छ । यो क्षेत्रमा समस्या पनि छ । अलिकति लो, मिडल क्लास फेमिलीहरू घर बनाउँदै गर्दा ठगिएको, ठेकेदारहरूले कामहरू बिगारिदिएको व्यापक गुनासो सुनिन्छ । एउटा सानो पुँजी जम्मा गरेर, बैंकबाट लोन लिएर घर बनाएको हुन्छ । गलत आउटपुट ननिक्लियोस्, समस्यारहित घर बनोस् भन्नु नै हाम्रो मुख्य एजेण्डा हो । हामीसँग काम गर्ने जोसुकै क्लाइन्टलाई पनि हामी के भन्छांै भने तपाईंले खर्च गर्दै हुनुहुन्छ भने तपाईंलाई चाहिने जतिमात्रै खर्च गर्नुस्, चाहिनेभन्दा बढी खर्च नगर्नुस् भन्छौं ।
घर बनाउँदा इँटा, सिमेन्ट, छडलगायत परम्परागत निर्माण सामग्री नै बढी प्रयोग हुने गरेको देखिन्छ । अन्य वैकल्पिक प्रविधिका घरहरू टिकाउ नभएर हो ?
पछिल्लो समय अल्टरनेटिभ हाउजिङका कन्सेप्टहरू पनि नेपालमा सुरु भएका छन् । मेटल्सहरूमात्रै जोडेर पनि घरहरू बनिरहेका छन् । मेटलमाथि ढलान गरेर हाइब्रिड सिस्टमका घरहरू पनि बनिरहेका छन् । प्यानल, डिफरेन्ट खालका इँटाहरू प्रयोग गरेर पनि घरहरू बनेका छन् । तर, हाम्रो इमोसन कस्तो छ भने आरसिसी स्ट्रक्चर्समै मन गएको छ । त्यही भएर ८० प्रतिशत बजार आरसिसी घरकै छ । कमर्सियल काम, कमर्सियल प्रोपर्टी बिल्डमा भने अल्टरनेटिभ हाउजिङमा जाँदा बेटर हुन्छ तर रेसिडेन्टल र अल्टरनेटिभ हाउजिङमा धेरै ठूलो कस्टमा डिफरेन्स भने आउँदैन । कस्टमा ठूलो डिफरेन्स नआउने हुँदा रेसिडेन्टल बिल्डिङमा अल्टरनेटिभ सोच नराख्दा नै बेटर हुन्छ । भोलि इँटा नै विस्थापित भएछ भने अरू केही चिज आउला, त्यो अल्टरनेटिभ पनि हामीले खोज्नुपर्छ तर अहिलेसम्म ट्रेडिसनल नै बढी मन पराइएको र प्रयोग भइरहेको अवस्था छ ।
नयाँ घर बनाउने कुरा त भयो तर बनिसकेको घरमा समस्या आए के गर्ने ?
हो, तपाईंको घर अलि पुरानो डिजाइनको छ भने त्यसलाई नयाँ मोर्डन लेआउटमा चेन्ज गर्ने, त्यसलाई स्ट्रेन्थनिङ गर्ने, तलाहरू थप्नुपर्नेछ । घरमा सिपेज छ, ढलानहरू बिग्रेको छ । यस्ता समस्याहरूमा पनि हामी काम गर्छौं । अर्थात् निर्माणदेखि मर्मत सम्भार सबै काम हामी गर्छौं ।
अहिले घरदरबारका ग्राहक कति छन् ?
ग्राहक संख्याभन्दा पनि यसको बजार ठूलो छ भन्छु । हालसम्म हामीसँग जे-जति क्लाइन्टहरू जोडिनुभएको छ, उहाँहरू हामीले दिएको सेवामा खुसी र सन्तुष्ट हुनुहुन्छ । विस्तारै यसतर्फ आकर्षण बढ्दैछ । अहिले हामीले काठमाडौं उपत्यका, पोखरा, चितवन, बुटवल, इटहरी र दाङमा सेवा दिइरहेका छौं । इटहरीमा भने कन्ट्रक्सन चाँडै सुरु गर्दैछौं भने पोखरामा पनि यही जनवरीपछि काम सुरु गर्ने तयारीमा छौं । भविष्यको योजना भनेको कम्पनीलाई नेपालमा मात्रै नभई इन्टरनेसनल बनाउनेछ । इन्टरनेसनलतर्फ सुरुमा हामी दुबईतिरको प्लान गर्दैछौं ।
पछिल्लो समय घर निर्माणमा इञ्जिनियरिङमात्रै नभई वास्तुप्रति पनि धेरैको लगाव देखिन्छ, वास्तुमा पनि काम गर्नुहुन्छ ?
हो, हामी वास्तु अलि बढी नै हेर्छौं । हामीसँग जो जति पनि क्लाइन्ट हुनुहुन्छ, सबैले वास्तु फलो गर्नुहुन्छ । हामी वास्तुलाई पनि स्पेसिफिक काम गरेर दिन्छौं । वास्तुकै लागिमात्रै कन्सल्टेसन पनि हामी गर्छौं ।
घर निर्माणमा नीतिगत समस्या पनि छन् ?
समस्याहरू छन् । सबैभन्दा पहिले कसले घर बनाउन पाउने भन्ने मापदण्ड नै छैन । त्यही भएर अहिले जसले पनि घर बनाइरहेको छ । रेसिडेन्टल अथवा कमर्सियल बिल्डिङभन्दा बनाउन कसले पाउने भन्ने एउटा मापदण्ड हुनुपर्छ । सरकारी भवनहरूका लागि त निश्चित मापदण्ड छ तर निजी आवासीय भवनहरूमा छैन, निजी भवनको लगानी पनि लगानी हो, त्यसलाई जोगाउनु सरकारको पनि दायित्व हुन्छ । त्यसैले घरको काम गर्ने ठेकेदारदेखि कामदारसम्म सबैलाई ट्रेनिङ प्रोग्रामदेखिबाट लिएर रेगुलेसनका लागि सरकारले एउटा मापदण्ड बनाइदिनुपर्छ । जसले पायो, त्यसलाई घर निर्माण गर्न दिँदा घरमा समस्या आयो भने कसले जिम्मेवारी लिने ? अहिले त्यसको जोखिम बहन त सम्बन्धित घरधनीले नै गर्नुपर्ने अवस्था छ । नगरपालिकाबाट नक्सा पास भए पनि अनुगमन पक्ष एकदमै कमजोर छ । नक्साअनुसार घर त बनेको हुन्छ । निर्माणको गुणस्तर हेरिँदैन ।







चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा
बिलिङ संस्कारको विकास गर्न ‘नेशनल
मकवानपुरमा पाँच वर्षमा ४२ जनाको