सुन्दरताका पारखीहरूको मनपर्ने ब्राण्डका रूपमा स्थापित ‘ब्युटी सलुन फेसियल हाउस’ काठमाडौंको मुटु सुन्धारास्थित काठमाडौं मलमा रहेको छ । यो फेसियल हाउसलाई सबैको रोजाइमा पुर्याउने सफल नाम हो, सञ्चालिका सुस्मा महरा । विगत डेढ दशकदेखि सौन्दर्य व्यवसायमा क्रियाशील रहँदै आउनुभएकी महरा धेरैका लागि प्रेरणाको स्रोत पनि हुनुहुन्छ । विभिन्न आरोह-अवरोह, चुनौती र आलोचनाबीच नबिराउनु, नडराउनु भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अघि बढिरहनु नै उहाँको सफलता सुनिश्चित गर्ने कारण हो । हाल काठमाडौं मलमा हेड अफिससहित ११ वटा विभिन्न शाखा सञ्चालनमा ल्याइसक्नुभएको छ । ग्राहक सन्तुष्टि नै सफलता हासिल गर्ने मुख्य आधार रहेको उहाँको भनाइ छ । उहाँको फेसियल हाउसले १८औँ वार्षिकोत्सव पनि मनाइरहेको छ । सुस्मा महराले हजारौं विद्यार्थीलाई सौन्दर्यकला सिकाएर दक्ष बनाइसक्नुभएको छ भने सयौंलाई रोजगारीको अवसर पनि प्रदान गर्नुभएको छ । भित्री र बाहिरी सुन्दरता दुवैको महत्व उत्तिकै रहेको उहाँ बताउनुहुन्छ । मेकअपलाई केवल महिलासँग मात्र सम्बन्धित भन्ने प्रचलित सोचमाथि प्रश्न उठाउँदै महरा पुरुषका लागि पनि मेकअप उत्तिकै आवश्यक रहेको बताउनुहुन्छ । उहाँको फेसियल हाउसमा महिला-पुरुष दुवै प्रकारका ग्राहक आउँछन् । पछिल्लो समय सौन्दर्य चेत बढ्दै गएको उहाँको अनुभव छ । सुस्मा महराको यात्रा हामी सबैका लागि प्रेरणादायी छ । नेपालको सौन्दर्य उद्योगमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको फेसियल हाउसकी सञ्चालिका सुस्मा महरासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंश :-
व्यस्त हुनुहुन्छ है ?
हो, व्यस्त नै छु भन्नुप¥यो । मेरा दिनहरू काम, पारिवारिक जिम्मेवारी र सामाजिक गतिविधिहरूका बीचमा व्यस्तताले भरिएका छन् । बिहानदेखि साँझसम्म कार्यस्थलका कामहरूमा ध्यान दिनु, घरका आवश्यक जिम्मेवारीहरू पूरा गर्नु अनि साथीभाइ र समाजसँगको सम्बन्धमा पनि सक्रिय रहनु, यी सबै कुराहरूले मेरो दिनचर्यालाई निरन्तर व्यस्त बनाइरहेका छन् । यसरी विभिन्न दायित्व र जिम्मेवारीमा व्यस्त रहँदै गर्दा कहिलेकाहीँ आफैंलाई केही समय छुट्याएर विश्राम लिनुपर्ने आवश्यकता पनि महसुस हुन्छ ।
यति धेरैतिर व्यस्त हुनुहुन्छ, बढी फोकस केमा रहन्छ ?
म सबै कुरामा समय दिन खोज्दैछु तर अधिकांश समय मैले मेरो व्यवसायमा नै लगाएकी छु । पछिल्लो समय देशले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । यस्तो परिस्थितिमा मलाई अब कमाउनेभन्दा पनि जीवन जिउनु महत्वपूर्ण भएको महसुस भइरहेको छ । आर्थिक चुनौतीहरूले गर्दा दैनिक जीवनमा सधैं सतर्क रहनुपर्छ र खर्च र बचत दुवैमा सजग हुनु अपरिहार्य छ । यसले मलाई वर्तमान परिस्थितिलाई स्वीकार गर्दै योजनाबद्ध तरिकाले अघि बढ्न सिकाएको छ ।
यहाँको यस हाउसका विभिन्न अफरहरू सामाजिक सञ्जालमा आइरहेका हुन्छन्, यसले कत्तिको ग्राहकलाई आकर्षित गर्दोरहेछ ?
मलाई लाग्छ, अहिले देशभरि आर्थिक संकटको प्रभाव देखिन्छ । यस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि ग्राहकहरू हाम्रो सेवा वा उत्पादनतर्फ आकर्षित हुनुले यसको मूल्य अझ बढ्छ । मानिसहरू सधैं राम्रो हुने, सुविधा पाउने र अवसरको सदुपयोग गर्ने इच्छा राख्छन् । यसै कारणले जब हामी अफरहरू प्रस्तुत गर्छौं, धेरै ग्राहकहरूले त्यसलाई उपयोग गर्ने सोच राख्छन् र हाम्रोतर्फ आकर्षित हुन्छन् । अर्को महत्वपूर्ण कुरा के हो भने हामी एउटा स्थापित ब्राण्ड हौँ । हामी सधंै गुणस्तरीय र भरपर्दो उत्पादनमात्र प्रस्तुत गर्छौं । जब गुणस्तरीय उत्पादनसँगै विशेष अफर उपलब्ध हुन्छ, यसले ग्राहकहरूको विश्वासलाई अझ सुदृढ बनाउँछ र उनीहरूलाई हाम्रो ब्राण्डप्रति आकर्षित गर्छ । यसले ग्राहकहरूलाई हामीसँग आउन प्रेरित गर्छ र हाम्रो सेवा वा उत्पादनको अनुभव लिन प्रोत्साहित गर्दछ । संक्षेपमा भन्नुपर्दा गुणस्तरीय ब्राण्ड र रणनीतिक अफरको संयोजनले कठिन आर्थिक परिस्थितिमा पनि ग्राहकहरूलाई तान्छ र ब्राण्डको मूल्यमा वृद्धि गर्छ ।
पछिल्लो समय सौन्दर्य चेतनामा निकै वृद्धि भएको छ ।
हामी एउटा स्थापित ब्राण्ड हौं ।
हामी सधैं गुणस्तरीय र भरपर्दो उत्पादनमात्र प्रस्तुत गर्छौं ।
हामीकहाँ स्किन र हेयर दुवै प्रकारका ग्राहकहरू आउनुहुन्छ ।
पछिल्लो समय हरेक टोलदेखि लिएर महल र व्यापारिक केन्द्रहरूमा धेरै पार्लर खुलेका छन् ।
अरूलाई होच्याएर वा नकारात्मक तरिकाले प्रतिस्पर्धा गर्दा कहिल्यै दीर्घकालीन सफलता मिल्दैन ।
कम्पिटिसनले व्यवसायलाई प्रगतिशील बनाउँछ ।
फेसियल हाउस हाल देशभरि विस्तारमा छ र यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।
मानिसहरूमा सौन्दर्य चेतमा वृद्धि भएको हो ?
पछिल्लो समय सौन्दर्य चेतनामा निकै वृद्धि भएको छ । पहिला, सामान्यतया कलेज सुरु भएपछि मात्र अलिकति राम्रो देखिन खोज्ने प्रवृत्ति हुन्थ्यो । त्यतिबेला पनि सौन्दर्यको ख्याल गर्दा साधारण र सादा तरिकाले मात्रै गरिन्थ्यो, डराइ–डराइ वा हल्का मेकअप लगाउने बानी थियो । त्यो पनि यस्तो हुन्थ्यो कि अरूले थाहा नपाओस् भन्ने उद्देश्यले । तर, अहिलेको समय बिल्कुलै फरक छ । छोराछोरी दुवै सानैदेखि आफ्नो शरीर र सौन्दर्यको ख्याल राख्ने बानी विकास भएको पाउँछु । अहिले बच्चादेखि किशोरावस्थासम्मका मानिसहरू आफ्नो छालाको स्याहार, कपालको स्वास्थ्य र सम्पूर्ण सौन्दर्यप्रति सचेत छन् । मानिसहरूले आफ्नो स्किन र केशलाई कसरी स्वस्थ राख्ने भन्ने विषयमा प्रारम्भिक चरणबाटै जानकारी लिने र अभ्यास गर्ने गरेका छन् ।
पहिले अरूले जे लगायो त्यही लगाउने प्रवृत्ति सामान्य थियो । तर, अहिले व्यक्तिले आफ्नो छालाको प्रकारअनुसार कुन उत्पादन वा उपाय उपयुक्त हुन्छ भन्ने निर्णय आफैं गर्ने गर्छन् । आफ्नो स्किन र शरीरको आवश्यकतालाई मध्यनजर राखेर सही स्याहारको तरिका अपनाउने बानी विकास भएको छ । यस परिवर्तनमा सामाजिक मिडियाको पनि ठूलो भूमिका रहेको छ । युट्युब, इन्स्टाग्राम, टिकटक जस्ता प्लेटफर्महरूले सौन्दर्य र स्वास्थ्यसम्बन्धी जानकारी सजिलै उपलब्ध गराउँछन् । व्यक्तिहरू यसमार्फत् नयाँ–नयाँ उपाय, टिप्स र ट्रेन्डहरू सिक्छन् र आफूमा लागू गर्छन् । यसरी सामाजिक मिडियाले सौन्दर्य चेतना र व्यक्तिगत स्याहार प्रवृत्तिलाई अझ बढावा दिएको देखिन्छ ।
फेसियल हाउसमा कस्ता प्रकारका मानिसहरू बढी आउँछन् ?
हामीकहाँ स्किन र हेयर दुवै प्रकारका ग्राहकहरू आउनुहुन्छ । तपाईंले यहाँ हेर्नु भएजस्तो बाहिर हाम्रो टिम हेयर टेस्टमा व्यस्त छ भने भित्र स्किन टेस्टमा व्यस्त छ । हामीसँग दुवै प्रकारका विशेषज्ञहरू उपलब्ध छन्, जसले तपाईंको आवश्यकतालाई पूर्णरूपमा बुझेर सेवा प्रदान गर्छन् । सबैभन्दा पहिले हामी ग्राहकसँग संवाद गरी बुझ्छौं कि उहाँलाई स्किन वा कपालको समस्या कसरी सुरु भयो । समस्या पहिचान भएपछि मात्र उपचारको योजना बनाइन्छ । यसबाहेक हामी केवल समस्या समाधानमा मात्र सीमित रहँदैनौं तर भविष्यमा त्यस रोग वा समस्या दोहोरिन नदिनका लागि आवश्यक सावधानी र जीवनशैलीसम्बन्धी सुझावहरू पनि दिन्छौं । धेरैजना त केवल हाम्रो विशेषज्ञहरूले दिने ज्ञान, सुझाव र जानकारी लिनकै लागि यहाँ आउँछन् । यसरी हामी हरेक ग्राहकलाई न केवल उपचारमात्र प्रदान गर्छौं तर उनीहरूको सौन्दर्य र स्वास्थ्यसम्बन्धी सचेतनालाई पनि बढाउँछौं ।
सामान्यतया ड्राई, ओएली स्किन भनेको सुनिन्छ, कति प्रकारको हुन्छ स्किन ?
स्किन टाइपलाई सामान्यतया ड्राई, ओएली, कम्बिनेसन र सेन्सेटिभका रूपमा वर्गीकृत गरिन्छ । तर, केवल स्किनको प्रकार मात्रै हेरेर स्किनलाई पूर्णरूपमा बुझ्न सकिँदैन । मौसम वा वातावरणले पनि स्किनको अवस्था निर्धारण गर्न ठूलो भूमिका खेल्दछ । उदाहरणका लागि ओएली स्किन भएकाहरू पनि जाडो महिनामा अत्यधिक ड्राई हुन सक्छन् भने गर्मी महिनामा उनीहरूको स्किन बढी तेलीय हुन सक्छ । त्यसैले ‘ओएली स्किन’ वा ‘ड्राई स्किन’ भन्ने स्थायी वा सदाबहार श्रेणी छैन । स्किनको अवस्था मौसम, हर्मोन, जीवनशैली, आहार र अन्य वातावरणीय कारणले समेत बदलिन सक्छ । यसको अर्थ स्किनको हेरचाह गर्दा केवल टाइपमात्र होइन, वर्तमान मौसम र व्यक्तिगत अवस्था पनि ध्यानमा राख्नु आवश्यक हुन्छ । यसले तपाईंको स्किनलाई सन्तुलित, स्वस्थ र राम्रो देखिने बनाउँछ ।
आफूले मेरो स्किन कस्तो भनेर कसरी थाहा पाउने ?
साधारण कुरा छ । जब हामीले बेलुका फेस वास गरेर सुत्यौँ र सुतिसकेपछि बिहान उठेर एउटा ड्राई टिस्यु लिएर स्किनमा ड्याप गरौँ, ड्याप गर्दा तेल देखियो भने त्यो ओएली छ, देखिएन भने त्यो ड्राई छ । होइन टि जोनमा मात्रै चिल्लो आएको छ, छेउ-छेउमा ड्राई छ भने त्यो कम्बिनेसन छ ।
कत्तिको छ कम्पिटिसन यो क्षेत्रमा ?
पछिल्लो समय हरेक टोलदेखि लिएर महल र व्यापारिक केन्द्रहरूमा धेरै पार्लर खुलेका छन् । यसले स्पष्टरूपमा देखाउँछ कि व्यवसाय क्षेत्रमा कम्पिटिसन निकै उच्च छ । तर, मलाई लाग्छ कि व्यवसायमा कम्पिटिसन अनिवार्य छ । कम्पिटिसनले व्यवसायलाई प्रगतिशील बनाउँछ, नयाँ आइडियाहरू र प्रविधिहरू लागू गर्न उत्प्रेरणा दिन्छ । सिर्फ कम्पिटिसन हुनु मात्र पर्याप्त छैन, यसले फेयर (निष्पक्ष) हुनुपर्छ । निष्पक्ष कम्पिटिसनले सबै व्यवसायलाई टिक्न र विकास गर्न मद्दत पु¥याउँछ । यदि कम्पिटिसन अस्वस्थ र अनुचित भयो भने न त तपाईंले राम्रो कमाउन सक्नुहुन्छ, न अरूले । यसले व्यावसायिक वातावरणलाई विषाक्त बनाउँछ । त्यसैले व्यवसायमा स्पष्ट पोलिसी र नियमहरू हुनु आवश्यक छ । नयाँ थिम, नवीन आइडिया र विशेष सेवाहरू प्रस्तुत गर्नुपर्छ, जसले ग्राहकलाई आकर्षित गर्छ र व्यापारलाई अघि बढाउँछ । अरूलाई होच्याएर वा नकारात्मक तरिकाले प्रतिस्पर्धा गरेर कहिल्यै दीर्घकालीन सफलता मिल्दैन । साँचो कुरा यो हो कि हरेक देश, हरेक शहर र हरेक व्यवसाय क्षेत्रमा कम्पिटिसन अवश्य हुन्छ । हरेक पसल, व्यवसाय वा ब्राण्डको आफ्नै अधिकार र पहिचान हुन्छ । ग्राहकलाई आकर्षित गर्नु, गुणस्तरीय सेवा दिनु र नयाँ आइडिया लागू गर्नु नै सफलताको कुञ्जी हो । बाटोबाट कसैले तपाईंलाई ल्याएर उपलब्धि दिलाउँदैन, मिहिनेनत, प्रतिबद्धता र सिर्जनात्मक सोचले नै तपाईंलाई अघि बढाउँछ ।
फेसियल हाउसलाई नै किन छान्ने ?
पछिल्लो समय हामीले रिभ्यु लिन पनि थालेका छौँ । तपाईं यहाँ किन आउनुभयो भनेर पनि सोध्न थालेका छौँ । कहाँदेखि र किन हामीकहाँ आउनुभयो भनेर सोध्ने गर्छौं । पार्लर भनेर पहिलोपल्ट हामीकहाँ आएको पनि पाएका छौँ भने नियमित ग्राहक पनि हुनुहुन्छ । अनि अर्को कस्तो पनि छ भने वाक्कदिक्क सबै पार्लर चहारेर हामीकहाँ आएको पनि हामीले धेरै पायौँ । मेरा भिडियोहरू हेरेर, कस्टमरको रिभ्यु हेरेर पनि धेरै आउनुभएको छ । धेरैतिर गयौँ एकचोटि त्यहाँ लास्ट ट्राई गरौँ भनेर पनि धेरै आउनुभएको छ ।
यहाँको फेसियल हाउस एउटा ब्राण्ड भएको छ । यहाँ पनि यो बिजनेसमा सक्सेस हुनुभएको छ । कत्तिको ग्राहो रहेछ ?
धेरै गाह्रो रहेछ । जन्माउन त जन्माइयो, त्यसलाई राम्रो बनाउन धेरै गाह्रो काम हो । अनेक आरोहअवरोहबीच अघि बढ्नुपर्ने रहेछ । विभिन्न आरोप–प्रत्यारोपबीच आफूलाई अघि बढाउँदै जानुपर्ने रहेछ । मैले देश–विदेशबाट आफूले सिकेका चिजहरू देशमा नै केही गराँै भनेर यो सुरुवात गरेकी थिएँ । तर, हौसलाभन्दा पनि अनेक लाञ्छना लगाउने काम भए । काम गर्न होमिइसकेपछि यसलाई कसरी राम्रो बनाउने भन्नेतिर नै मैले दिनरात लगाएँ । यसले मलाई नाम दियो, सबैको माया दियो । यो नाम र माया बढ्दै जाँदा यसको लोकप्रियता बढ्दै गयो । १६ वटा ब्राञ्च पनि मैले मेरै हातले खोलेँ । यो बीचमा कहिले भूकम्प र कहिले कोभिडका कारण मैले पाँचवटा ब्राञ्च बन्द गर्नुप¥यो । अहिले ११ वटा ब्राञ्च सञ्चालनमा छन् । सफल हुनका लागि हिम्मत हार्नुहुँदैन । मिसन र भिजनका साथ निरन्तर आफ्नो लक्ष्यमा अघि बढ्नुपर्छ । काम कहिल्यै पनि ठूलोसानो हुँदैन । जसले जे काम गर्छ, त्यही काम उसका लागि ठूलो हो । निरन्तर गरियो भने सफल पनि भइन्छ ।
फेसियल हाउसको नाम अगाडि-पछाडि जोडेर पार्लर सञ्चालन गर्ने गरेको पाइन्छ नि ?
हो, हामीले पनि यस्तै पाएका छौं । फेसियल हाउसले छोटो समयमा नेपालको सौन्दर्य उद्योगमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । यसले नेपालभरका विभिन्न सामाजिक र आर्थिक वर्गका ग्राहकहरूलाई सहज र आरामदायी सेवा उपलब्ध गराउने वातावरण सिर्जना गर्दै आएको छ । फेसियल हाउस हाल देशभरिको विस्तारमा छ र यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ । यस ब्राण्डको विश्वसनीयता र सफलतालाई दृष्टिगत गर्दै कतिपयले ‘फेसियल हाउस’ नाम जोडेर आफ्नै पार्लर सञ्चालन गर्ने गरेको हामीले पाएका छौं । यस प्रवृत्तिले ब्राण्डको प्रभावकारिता र बजारमा यसको स्थायित्वलाई स्पष्टरूपमा देखाउँछ । सिर्फ नाम जोड्न पाउँदामात्र व्यापार चल्ने अवस्था सिर्जना हुनु फेसियल हाउसको विश्वसनीयताको प्रमाण हो । तर, यससँगै ग्राहकहरूलाई सचेत रहनुपर्ने आवश्यकता पनि बढ्दै गएको छ । फेसियल हाउस पूर्णरूपमा कर्पोरेटस्तरमा सञ्चालन हुने संस्था हो र यसको सबै शाखा मानक र गुणस्तर कायम राख्दै सञ्चालन गरिन्छ । यसैले ग्राहकहरूले सेवा लिँदा गुणस्तर र पेशेवर व्यवहार सुनिश्चित हुने वातावरणमा रहने विश्वास गर्न सक्दछन् ।
यो बीचमा यहाँले विभिन्न आरोप-प्रत्यारोप पनि खेप्नुपर्यो ?
हो, मैले माथि इंगित गरेकी थिएँ, तपाईंले यसलाई सोध्नुभयो । ममाथि विभिन्न मिथ्या आरोप पनि लगाइयो । नेपालमा भनौँ या विश्वमै म एउटा यस्तो अचम्मको पात्र बनेकी छु आफ्नै देशमा केही गर्छु भनेर कति जनालाई रोजीरोटी दिएर बसेको एउटा श्रमिकलाई ब्युटिपार्लरमा अनैतिक काम गर्छ भनेर राज्य नै लाग्यो । यसमा छानबिन समिति पनि गठन गरियो । सायद विश्वमा नै अहिलेसम्म यस्तो रेकर्ड छैन होला एउटा ब्युटिसियनलाई यत्रो केस लागेको । विसं. २०८० सालमा मलाई लागेको थियो । यो केस गृह मन्त्रालयको एउटा कर्मचारीले जुन किसिमको मलाई आरोप लगाएको थियो, त्यो आरोपको प्रतिकार गर्दा मलाई एक वर्ष लाग्यो । उसले मलाई लगाएका मिथ्या आरोप पुष्टि हुन सकेनन् । यतिसम्म भनियो कि नेकेट भिडियो बनाएर बेच्छ । उसले मलाई एघारवटा मुद्दा लगाएको थियो । यी मुद्दामा म आफैं गएर, उपस्थित भएर त्यसको प्रतिकार गरेँ । यी मुद्दामा मैले एउटा वकिल लगाउँथे भने उसले आठदेखि १० वटा वकिल लगाउँथ्यो । यसरी मलाई चौतर्फी हमला गर्दा पनि म डगमगाइनँ । किनकि नखाएको विष लाग्दैन भन्ने मलाई थाहा थियो । पूरै राज्य नै लाग्दा पनि आजको दिनमा मैले सबै मुद्दा जितेँ । उनीहरूले गरेकोलाई पदीय दुरूपयोग भनेर अदालतले पनि लेखिदियो । आफ्नो देशमा नै केही गर्छु भन्ने मान्छेलाई अरू देशमा त अवार्ड पो दिन्छन्, कति सम्मान पो गर्छन् तर यहाँ त यस्तो छ के । यस्तै भयो भने के होला हाम्रो देश भन्ने लाग्छ ।
यस ब्राण्डको विश्वसनीयता र सफलतालाई दृष्टिगत गर्दै कतिपयले ‘फेसियल हाउस’ नाम जोडेर आफ्नै पार्लर सञ्चालन गर्ने गरेका छन् ।
सिर्फ नाम जोड्न पाउँदामात्र व्यापार चल्ने अवस्था सिर्जना हुनु फेसियल हाउसको विश्वसनीयताको प्रमाण हो ।
ग्राहकहरूलाई सचेत रहनुपर्ने आवश्यकता पनि बढ्दै गएको छ ।
फेसियल हाउस पूर्णरूपमा कर्पोरेटस्तरमा सञ्चालन हुने संस्था हो । यसका सबै शाखा मानक र गुणस्तर कायम राख्दै सञ्चालन गरिएको छ ।
आवश्यकता महसुस भएमा राजनीतितर्फ सोच्न सकिन्छ ।
यहाँले हाम्रो कला, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पनि विभिन्न कार्यक्रम गरेको पाइन्छ नि ?
मलाई के लाग्छ र सत्य पनि के हो भने त्यो देशको मूल सम्पत्ति नै भाषा, साहित्य, संस्कार, कला र संस्कृति हो । मैले पनि यसको संरक्षण र संवद्र्धनमा सकेजति आफूलाई उभ्याउने कोसिस गरेकी छु । हरेक चाडबाडमा कल्चर थिममा कति वटा फोटो सुट गरिरहेकी हुन्छु । भोलिको पुस्ता विकृतितर्फ उन्मुख नहोस् भनेर हामी सचेत हुनुपर्छ भन्ने लाग्छ । मैले पनि त्यही आफ्नो कर्तव्य पूरा गरिरहेकी हुँ । आफूलाई माया गर्ने एकपल्ट मर्छ, देशलाई माया गर्ने घरी–घरी मर्छ भनिन्छ । सायद ममा पनि त्यो लागू हुन्छ । धेरैचोटि मरेर बाँचेकी छु । माथिका यस्ता आरोप लगाउँदा मलाई ज्युँदै मारेको जस्तो भयो नि होइन र ? हिजोको दिनमा काठमाडौं मलमा अध्यक्ष हुँदा यहाँ भएको अनियमितताका विषय बाहिर ल्याउँदा मलाई ज्यान मार्ने धम्कीहरू आए, विभिन्न व्यक्तिहरू परिचालित भए । तर, म आफू कति नडगमगाइकन अघि बढेँ ।
महिला भएकै कारण केही समस्या खेप्नुभएको छ कि ?
निकै खेपेकी छु नि । राइट बोल्दा पनि पोथी बास्यो भन्छ यो समाजले । अझै पनि त्यस्तो बोली आउँछ । काम गर्न गाह्रो नै छ । यति धेरै भोग्दै गर्दा पनि मलाई धेरै कुरा समाजले दिएको छ । अजम्बरी कोही छैन, मर्न त एकदिन छँदै नि तर जति बाँचिन्छ राम्रो काम गरौँ, देशका लागि केही गरौँ भन्ने नै हो । जस्तोसुकै बाधा अड्चन आए पनि त्यसलाई फेस गर्ने हिम्मत छ ममा । हरेक चुनौती पार गरेर अघि बढ्छु ।
समयको व्यवस्थापन कसरी गर्नुहुन्छ, सोसियल मिडियामा पनि सक्रिय देखिनुहुन्छ ?
सबैभन्दा ठूलो कुरा मानिसको इच्छा हो । इच्छा भयो भने सबै सम्भव हुन्छ । तपाईंमा ती चिजमा लगाव छ भने त्यो भइहाल्छ । खाली भएको बेला श्रीमान् र छोरालाई समय दिन्छु ।
जीवन के रहेछ ?
जीवन संघर्ष हो । संघर्षभित्र पारिवारिक विश्वास हुनुपर्छ । उहाँहरूले दिएको विश्वासमा हामी खरो उत्रनुपर्छ ।
राजनीतितिर पनि आउने सोच बनाउनुभएको छ कि ?
तत्काललाई त त्यस्तो सोच बनाएको छैन । हेरौँ आवश्यकता महसुस भयो भने त्यतिबेला सोच्न सकिन्छ । समयको माग भयो भने त्यसलाई नकार्न सकिँदैन । हाललाई भने त्यस्तो सोच बनाएकी छैन । एउटा सचेत नागरिकको कर्तव्य समाजलाई कसरी सही मार्गमा अघि बढाउने भन्ने पनि हुन्छ ।
अन्त्यमा ?
हामीले १८औँ वार्षिकोत्सव मनाइरहँदा, केवल उत्सवमात्र नभई अझ बढी जिम्मेवारी र कर्तव्यबोधका साथ अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छौँ । यो अवसरले हामीलाई सम्झाउँछ कि हामी विदेशिनु नपरी, आफ्नो देशमै केही गरौँ भन्ने उद्देश्यका साथ अघि बढिरहेका छौँ । हामीले जे गर्छौँ, त्यसलाई माया गर्ने, आफ्नो कामप्रतिको निष्ठा र लगनशीलता कायम राख्नु महत्वपूर्ण हुन्छ । साथै, कला, संस्कृति र परम्पराप्रति हाम्रो सम्मान र माया अविचलित रहोस् । सत्यको मार्गमा अडिग भएर अघि बढ्नु नै हाम्रो सम्पूर्ण प्रयासको आधार हुनुपर्छ । कसैमाथि अनावश्यक वा मिथ्या आरोप लगाउने काम गर्नुअघि हामीले दशपल्ट सोच्नुपर्छ । अन्यथा, केवल व्यक्तिगत होइन, समाज र देशकै प्रतिष्ठामा असर पर्न सक्छ । हाम्रो व्यवहार सधैं न्यायपूर्ण, सचेत र जिम्मेवार हुनुपर्छ । देशलाई छातीमा राखेर, आफ्नो कर्म र सोचमा देशप्रेमको भाव समेट्दै, हामीले समाजको रक्षार्थ र प्रगतिका लागि निरन्तर योगदान दिनुपर्छ । यही भावनासहित हामीले अघि बढ्दा हाम्रो व्यक्तिगत सफलतामात्र होइन, देशको समग्र प्रगति पनि सुनिश्चित हुनेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच