साहित्यको प्रयोजन
साहित्य के हो र यसले के गर्छ भन्ने प्रश्नको उत्तर त्यति सहज छैन जति साहित्येतर समुदायले सोचेको हुन्छ । तिनका सतही विचारमा साहित्य भनेको उडन्ते कल्पनाको उपज हो; स्वैरकल्पना हो; शब्दको खेल हो; गफाडीहरूको मनोविलास हो; यसले प्रकृतिको यथार्थ चित्रण पनि गर्दैन र समाज रूपान्तरण पनि झन् गर्न सक्दैन, त्यसैले यसले केही सकारात्मक काम गर्दैन । किन्तु साहित्यानुरागी समुदायका लागि साहित्य भनेको मानव कल्पनातीत उच्चस्तरको सीर्जना हो जसले प्रकृतिको सौन्दर्य प्रस्तुत गर्छ र समाजलाई अझ सुन्दर बनाएर देखाउँछ, तसर्थ यो जहिलेसुकै अग्रगामी हुन्छ ।
हाम्रा सामुन्ने केही जटिल प्रश्नहरू उपस्थित छन्- विश्वका महान् साहित्यकारहरूका कृतिले केवल यथार्थ प्राकृतिक–सामाजिक चित्रण गरेका छन् वा त्यसलाई बदल्ने सन्देश दिएका छन् ? त्यसपछि विकास भएको साहित्य के कस्तो रहेको छ ? त्यसले समाजमा के कस्तो प्रभाव पारेको छ ? साहित्यिक प्रतिनिधित्वजस्तो अमूर्त अवधारणाले स्वाभाविकरूपमा विकास हुने संस्कृतिलाई कसरी प्रभाव पार्न सक्छ होला ? विज्ञान र प्रविधिद्वारा नियन्त्रित जीवनका सन्दर्भमा साहित्यको सिर्जना समय र ऊर्जाको बर्बादीमात्र होइन ? यसले लाखौं भोका-नांगालाई खुवाउन सक्छ ? के यसले अपार शोकमा परेका दुखी मानिसहरूलाई सान्त्वना दिन सक्छ ? यसले गरिब र रोगीहरूको पीडा कम गर्न सक्छ ?
सूचना र प्रविधिको हिसाबले द्रुत गतिमा अघि बढिरहेको विश्व भूमण्डलीकरणको प्रभाव साहित्यमा पनि परी नै हाल्छ । फेरि नेपालका लेखक तथा कलाकारहरूमा उत्तर आधुनिकताले गहिरो गरी जरा गाडिसकेकाले साहित्य पनि त्यसरी नै विकास हुँदैछ । तथापि अबको दशकमा पनि नेपाली साहित्यको प्रवृत्ति मुख्यरूपमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सवालमा नै केन्द्रित हुने बढी सम्भावना छ ।
सिद्धान्त र साहित्य
प्रकृति र जीवनको सम्बन्धबारे लामो समयसम्म अध्ययनपछि चाल्र्स डार्विनले प्राकृतिक छनोटको सिद्धान्त प्रस्तुत गरे । यस सिद्धान्तअनुसार, प्राकृतिक संघर्षको क्रममा सक्षम जीव बाँच्छन् भने असक्षम जीव अन्ततः मर्न बाध्य हुन्छन् । यसै सिद्धान्तको आधारमा हर्बर्ट स्पेन्सरले समाजमा पनि प्राकृतिक नियम लागू हुने दाबी गरे र त्यसलाई सामाजिक डार्विनिजम भनियो ।
यो सोच साहित्यसँग पनि सम्बन्धित हुन सक्छ। प्राचीन ग्रीक दार्शनिक अरस्तुका अनुसार, साहित्यले प्रकृति वा समाजलाई ऐनामा देखिने प्रतिबिम्बजस्तो यथार्थरूपमा प्रस्तुत गर्दछ । यदि यो विचार सही मान्यौं भने, डार्विन र स्पेन्सरले बताएझैं साहित्यले प्राकृतिक वा सामाजिक यथार्थलाई देखाउन सक्छ । त्यस अनुसार, यदि समाज उन्नतिशील छ भने साहित्यले त्यसको सुन्दर पक्ष चित्रण गर्छ; यदि समाज अविकसित वा पतनशील छ भने साहित्यले त्यसको कुरूप पक्ष प्रकट गर्छ । यस दृष्टिले, प्राकृतिक र सामाजिक सिद्धान्तसँग साहित्यको गहिरो सम्बन्ध रहेको देखिन्छ ।
अरस्तुको दृष्टिकोणभन्दा फरक तर समान सन्दर्भमा, सोह्रौं शताब्दीका सर फिलिप सिड्नी साहित्यलाई सुन्दर संसारको निर्माता भनेर प्रस्तुत गर्छन् । उनको कृति एन अपोलोजी फर पोएट्री (१५८३) मा कविलाई आदर्श संसारको सर्जकका रूपमा चित्रण गरिएको छ । सिड्नीका अनुसार, ‘प्रकृतिको संसार पित्तलको हुन्छ, कविले यसलाई सुनौलो बनाउँछन् ।’ यसको अर्थ, साहित्यले समाजलाई अग्रगामी र उन्नत बनाउने शक्ति राख्छ ।
यस्तै, उन्नाइसौं शताब्दीका रोमान्टिक कविहरू वड्र्सवर्थ र कॉलरिजले साहित्यलाई प्राकृतिक र अलौकिक सौन्दर्यको सर्वोच्च माध्यमको रूपमा प्रस्तुत गरेका छन् । उनीहरूका अनुसार, साहित्यले जीवनलाई सौन्दर्य र प्रेरणाको माध्यमबाट उजागर गर्छ ।
तर, अन्य लेखकहरू भौतिक संसारका कुरूप पक्षलाई पनि साहित्य मार्फत प्रस्तुत गर्न चाहन्थे । अठारौं शताब्दीका जोन ड्राइडेनले व्यंग्यमार्फत भ्रष्ट समाजको आलोचना गरे । त्यसैगरी, चाल्र्स डिकेन्सले शोषित, पीडित, अपांग, अनाथ जस्ता अभागी मानिसहरूको कठिन जीवनलाई उजागर गरे । उनीहरूको उद्देश्य समाजमा सुधार ल्याउनु थियो । यस अर्थमा साहित्यले केवल जीवनको सुन्दर पक्ष मात्र देखाउने होइन, जीवनलाई रूपान्तरण गर्ने, सुधार गर्ने र चेतना जगाउने माध्यमको रूपमा काम गर्छ । यसरी हेर्दा, साहित्यले समाज र प्रकृतिको वास्तविक चित्रण मात्र गर्दैन, यसले मानव चेतना, मूल्य र जीवन दृष्टिकोणलाई पनि समृद्ध बनाउने शक्तिशाली साधन हो ।
पाश्चात्य साहित्य
पाश्चात्य साहित्य भनेको युरोपमा सोह्रौं–सत्रौं शताब्दीको पुनर्जागरण काल, अठारौँ शताब्दीको तर्कको युग, उन्नाइसौं शताब्दीको रोमान्टिसिजम हुँदै बीसौं शताब्दीको पूर्णआधुनिक कालमा विकास भएको साहित्य हो । बीसौं शताब्दीको सुरुमा साहित्यको अवधारणामा एक महत्वपूर्ण परिवर्तन आयो । साहित्यले समाजलाई अझ व्यापकरूपमा सम्बोधन गर्न थाल्यो । धेरै लेखकहरूले कला र साहित्यमार्फत् आधुनिकतावादी सपनाको प्रक्षेपण गरे । जसरी राजनीतिक, आर्थिक र सांस्कृतिक शक्तिहरूले मानिसहरूलाई नयाँ युगमा अनुकूलन गर्न प्रेरित गरे, त्यसरी नै साहित्यकारहरूले पनि उपरोक्त शक्तिहरूको प्रभावलाई सक्रियरूपमा समर्थन गरे ।
उदाहरणका लागि पाब्लो पिकासोले आधुनिकतावादी सपनाको प्रक्षेपण गर्ने कला सिर्जना गरे । बीसौं शताब्दीको उत्तराद्र्धलाई उत्तर–आधुनिक काल मानिएको छ, जुन आधुनिक कालकै निरन्तरतालाई अलि फरक ढंगले प्रस्तुत गर्दछ । जर्मन सिद्धान्तकार ह्याबरमासले उत्तर आधुनिक काललाई आधुनिक कालकै निरन्तरता हो भने तापनि उत्तर आधुनिक कालको साहित्यको विकास अलि बेग्लै ढंगले विकास भएको देखिन्छ । यी सबै कालखण्डका परिस्थितिजन्य आफ्नै विशेषता र प्रवृत्तिहरू रहेका छन् ।
नेपाली साहित्य
नेपालका सन्दर्भमा पनि साहित्यको उदय र विकासका विभिन्न चरणहरू देखिन्छन् । साहित्यका बारेमा विभिन्न कालखण्डमा विद्वानहरूले फरक–फरक दृष्टिकोण प्रस्तुत गरेका छन् । छोटो आलेखमा सबै पक्षलाई विस्तृत रूपमा विश्लेषण गर्न कठिन भए तापनि, विभिन्न समयमा प्रकाशित साहित्यका रूपहरू समाज विकासको उपज थिए वा साहित्यकारहरूले समाज सुधार्न प्रयत्नरत थिए भन्ने विषयमा संक्षिप्त चर्चा गर्नु पर्याप्त हुन्छ । यसबाट आगामी दशकमा नेपाली साहित्यको स्वाभाविक विकासक्रम कस्तो हुनेछ र साहित्यकारको मानवीय प्रयत्नले सामाजिक तथा सांस्कृतिक विकासमा कस्तो योगदान पुर्याउन सक्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
पाश्चात्य साहित्यको प्रभावमा लगभग समरूप विकास भएको नेपाली साहित्यमा पनि विभिन्न कालखण्डहरू छुट्टै पहिचानका साथ देखिन्छन् । यद्यपि, यी कालखण्डहरूको स्वरूप र प्रवृत्ति पूर्ण रूपमा उस्तै छैनन् । रचनाको कालक्रम र प्रवृत्तिका आधारमा, वि.सं. १८२६-१८७२ को अवधिलाई वीरगाथा र वीरधाराको कालखण्ड भनिन्छ । यसपछि भक्तिधाराको युग सुरु भएको थियो ।
विक्रम सम्वत् १९४१ देखि सुरु भएको माध्यमिक काल मोतीराम भट्टदेखि आदिकवि भानुभक्तसम्मको रचना कालका रूपमा चिनिन्छ । त्यसपछि, विक्रम सम्वत् १९४६ देखि विकसित नेपाली साहित्यलाई आधुनिक साहित्यको रूपमा मानिन्छ। यस युगका परिष्कारवादी कवि लेखनाथ पौडेल र बालकृष्ण समले उत्कृष्ट साहित्य नेपाली समाजलाई प्रदान गरेका छन् । साथै, यससँगै विकसित स्वच्छन्दतावादी धाराका प्रखर कवि माधवप्रसाद देवकोटा हुन् । देवकोटाको भौतिक जीवनको अन्त्यसँगै, विक्रम सम्वत् २०१७ देखि प्रयोगवादी धारा विकसित भएको देखिन्छ। यसपछि मनोवैज्ञानिक-यथार्थवादी तथा प्रगतिवादी धाराको विकास भएको छ ।
त्यसपछि नेपाली साहित्यमा सामाजिक यथार्थवादी, ऐतिहासिक यथार्थवादी, अति यथार्थवादी, आलोचनात्मक यथार्थवादी जस्ता प्रवृत्तिहरू देखा परेका छन् । साथै, अस्तित्ववादी वा विसंगतिवादी धारा पनि नेपाली साहित्यको महत्वपूर्ण विकासक्रमको रूपमा देखिन्छ ।
कतिपय अवस्थामा यी पछिल्ला प्रवृत्तिहरू पाश्चात्य साहित्यको आधुनिक युगसँग मिल्दाजुल्दा छन् । यसकारण, यी धाराहरूलाई नेपाली सन्दर्भमा उत्तर आधुनिक कालका रूपमा पनि परिभाषित गर्न सकिन्छ । उल्लेखनीय कुरा के छ भने, माथि वर्णित प्रवृत्तिहरूमध्ये केही धाराहरू समय र परिस्थिति अनुसार आफैं विकास भएका हुन् भने केही साहित्यिक प्रवृत्तिहरू साहित्यकारहरूले अन्य देशबाट नेपालमा भित्र्याएका हुन् ।
यस प्रकार, नेपाली साहित्य निरन्तर विकासरत रहेर समाजको सामाजिक, सांस्कृतिक र बौद्धिक जीवनसँग गहिरो सम्बन्ध राख्दै आएको छ । विभिन्न युगका साहित्यिक प्रवृत्तिहरूले नेपाली समाजलाई न केवल मनोरञ्जन प्रदान गरेका छन्, बल्कि सामाजिक चेतना र मानव मूल्यहरूको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।
आगामी दशक
अबको दशकमा पनि नेपाली साहित्यको प्रवृत्ति मुख्यरूपमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सवालमा नै केन्द्रित हुने बढी सम्भावना छ । सतहमा हेर्दा भावी साहित्यले एकातिर सामाजिक विकृति र विसंगतिलाई उजागर गर्नेमात्र देखिन्छ भने अर्कातिर त्यस्ता साहित्यको मूल ध्येय त्यस्ता विसंगतिलाई हटाउँदै सुन्दर संस्कृतिको निर्माण गर्नु पनि हो । मानवीय प्रयत्न अझै पनि पूरै प्रभावहीन भएको छैन । जीवनोपयोगी सन्देश नबोकेको साहित्य निरर्थकजस्तै हुन्छ । अहिलेका केही मानिसहरूमा सामाजिक सञ्जालमा अराजक र अश्लील भाषा प्रयोग गर्ने केही नकारात्मक प्रवृत्तिको विकास हुन थालेको भए पनि साहित्यमार्फत् परिवर्तनको सन्देश दिन खोज्ने यति धेरै साहित्यकारहरू हामीसँग छन् कि उनका सिर्जनाले समाज रूपान्तरणमा केही न केही गरिरहेकै हुन्छ ।
(लेखक प्रा. धमला साहित्यकार तथा त्रिविको अंग्रेजी साहित्य विभागबाट निवृत्त हुनुहुन्छ ।)







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर