काठमाडौं । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले आगामी आठौँ अधिवेशनलाई लक्षित गर्दै शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । यस सम्बन्धमा शाखाले गठित निर्वाचन समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाएको जानकारी सार्वजनिक गरेको छ ।
महासंघको केन्द्रीय विधान २०६० (पाँचौँ संशोधन २०७५) तथा शाखा निर्वाचन कार्यविधि २०७७ अनुसार, मिति २०२५ डिसेम्बर १४ मा सम्पन्न शाखा कार्यसमितिको बैठकको निर्णयअनुसार निर्वाचन समिति गठन भएसँगै औपचारिक प्रक्रिया सुरु गरिएको हो ।
निर्वाचन समितिको संयोजकमा कोरिया शाखाका पूर्वअध्यक्ष अशोकप्रसाद मैनाली चयन हुनुभएको छ । समितिका सदस्यमा शाखाका राष्ट्रिय परिषद् सदस्य डा. किशोर कोइराला र विनोद पौडेल रहनुभएको छ । समितिले निर्वाचनलाई पूर्णरूपमा निष्पक्ष, स्वतन्त्र, पारदर्शी र मर्यादित ढंगले सम्पन्न गराउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।
निर्वाचन समितिले आगामी चरणहरूमा चरणबद्ध रूपमा मतदाता नामावली प्रकाशन, विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया र मतगणनासम्बन्धी सम्पूर्ण विवरणहरू आधिकारिक सूचनामार्फत जानकारी गराइने जनाएको छ ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौँ अधिवेशन सन् २०२६ जनवरी ११ मा दक्षिण कोरियाको राजधानी सोल मा आयोजना हुने तय भएको छ । उक्त अधिवेशनमा कोरियामा क्रियाशील सयौँ नेपाली पत्रकार, महासंघका सदस्य तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
निर्वाचन समिति तथा शाखाले आठौँ अधिवेशनलाई पत्रकारिता पेसाको सुदृढीकरण, संगठनात्मक एकता र लोकतान्त्रिक अभ्यासको सशक्त मञ्चका रूपमा सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ तयारीहरू तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर