सारिका घिमिरे नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो बहुमुखी प्रतिभाका कारण परिचित हुनुहुन्छ । सुरुमा उहाँ कलाक्षेत्रमा प्रवेश गर्नुभयो । मोडलिङ हुँदै अभिनेत्रीका रूपमा परिचित उहाँले अन्ततः गायन क्षेत्रमा चर्चा कमाउनुभयो । अहिले उहाँ गायिकाका रूपमा सर्वत्र परिचित हुनुभएको छ । अभिनयमा आफ्नो यात्रा सुरु गर्नुभएकी सारिकाले केही सिरियल र करिब आधा दर्जन चलचित्रमा अभिनय गर्नुभयो । उहाँको डेब्यु चलचित्र ‘रक्षा’ हो भने त्यसपछि उहाँले ‘आगो २’, ‘परिणाम’ र साहित्यकार झमक घिमिरेको बायोपिक ‘जीवन काँडा कि फूल’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ । विशेषगरी ‘जीवन काँडा कि फूल’ मा उहाँको अभिनयलाई दर्शक र समीक्षकमध्येबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो । करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरेपछि पनि उहाँले आफू अभिनयमा पूर्ण सन्तुष्ट नभएको अनुभव गर्नुभयो । ‘अभिनयमा म कम्फर्टेबल छैन भन्ने लाग्दा गीत गाउन सक्छु भन्ने आत्मविश्वास आयो । साथीभाइ र आफन्तले पनि गीत गाउन सुझाव दिए,’ उहाँ सुनाउनुहुन्छ । गायनतर्फ लागेपछि पनि उहाँको संघर्ष थामिएन । ५० भन्दा बढी गीत गाइसक्नुभएकी उहाँले लोकप्रियता पाउन केही समय लाग्यो । केही गीतहरूले युट्युबमा करोडौँ भ्युज पाए पनि पब्लिकले उहाँलाई गायिकाका रूपमा पूर्णरूपमा चिनेको थिएन । साथै, मेला महोत्सव र सार्वजनिक कार्यक्रममा उहाँको डिमाण्ड पनि थोरै थियो । ‘अभिनयमा चाहेजस्तो सफलता हात लागेन, गायनमा पनि सोचेजस्तो चर्चा नपाएपछि यो क्षेत्र मेरा लागि होइन कि भन्ने पनि लाग्यो । तर, हरेस नखाई निरन्तर लागिरहेँ । सफल नभए के भयो त, म एउटी गायिका त हुँ नि भन्ने सोचेर आफूलाई सम्हालेँ । मैले गरेको काम केही सीमित मान्छेले सुन्नुभयो, त्यो नै मेरा लागि उपलब्धि हो,’ सारिका सम्झिनुहुन्छ । सकारात्मक सोच र अडिग प्रयासका कारण अहिले सारिकाले सफलता चुम्नुभएको छ । उहाँको आफ्नो अनुभवमार्फत् दर्शकलाई एक स्पष्ट सन्देश दिन्छ-संघर्षको बाटोमा निरन्तरता नै सफलताको प्रमुख सूत्र हो । पछिल्लो समय उहाँका गीतहरू ‘गुन भुल्यौ पित्तलको’ र ‘मैनाचरी’ले सर्वाधिक चर्चा बटुल्न सफल भए । यस्तै, विविध विषयमा गायिका सारिका घिमिरेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
देशका विभिन्न ठाउँमा भइरहेका मेला महोत्सवमा बोलाउनुहुन्छ, त्यतै आफूलाई संलग्न गराइरहेकी छु । अनि केही गीतको काम पनि भइरहेको छ ।
सकारात्मक सोच र अडिग प्रयासका कारण अहिले सारिकाले सफलता चुम्नुभएको छ । उहाँको आफ्नो अनुभवमार्फत् दर्शकलाई एक स्पष्ट सन्देश दिन्छ- संघर्षको बाटोमा निरन्तरता नै सफलताको प्रमुख सूत्र हो । पछिल्लो समय उहाँका गीतहरू ‘गुन भुल्यौ पित्तलको’ र ‘मैनाचरी’ले सर्वाधिक चर्चा बटुल्न सफल भएका छन् ।
निकै व्यस्त हुनुहुन्छ है ?
त्यति धेरै व्यस्त पनि होइन तर पनि आफूलाई विभिन्न कार्यक्रममा संलग्न गराइरहेकी छु ।
यहाँको केही समय पहिला सार्वजनिक भएको गीत ‘गुन भुल्यौ पित्तलको’ अहिले पनि चर्चामै छ, यसबारे के भन्नुहुन्छ ?
हो, यो गीत सामाजिक सञ्जालदेखि सबैतिर चर्चामा छ । टिकटकमा बालकदेखि वृद्धसम्मले यसलाई गाएर भिडियो बनाइरहेका छन् । लाग्छ, गीत सबैको जीवनसँग जोडिएको छ । साथै यो गीत धेरै ‘भर्सन’मा आएको छ । यसलाई भजन, लोकलय, पप, रक र्यापलगायतमा बनाएर धेरैले पोष्ट गर्नुभएको छ । यस्तै यो गीत एआई भर्सनमा पनि चर्चामा छ ।
यस गीतमा व्यक्त पीडा तपाईंको व्यक्तिगत अनुभवसँग सम्बन्धित छ ?
होइन, यो मेरो व्यक्तिगत अनुभवबाट जन्मेको होइन । गीतका शब्दहरू व्यक्तिगत भावनामात्र होइन, हरेक मान्छेको जीवनमा घट्ने घटनामा आधारित छन् । त्यसै कारण पनि यो गीतलाई सबैले आफ्नो ठानेको हुनुपर्छ ।
गीतको सफलताले तपाईंलाई व्यक्तिगतरूपमा कस्तो महसुस गराएको छ ?
अपार खुसी लागेको छ । धेरैले मेरो व्यक्तिगत कथा बुझ्ने प्रयास गरे पनि गीतले सबैको मन छोएको महसुस गराउँछ ।
तपाईंले गीत हिट बनाउने तरिका सोचेर बनाउनुभएको हो त ?
होइन । मैले गीत बनाउँदा कुनै व्यावसायिक योजना थिएन । धेरै गीतमा प्रयास गर्दा पनि सफलता नपाउँदा निराश भएर आफ्नै युट्युब च्यानलका लागि सामान्य कन्टेन्ट जस्तो सोचेर यो गीत बनाएकी थिएँ ।
गीतको संगीत र शब्द आफैंले सिर्जना गर्नुभएको छ नि ?
हो, गीत लेख्दा जे लय मनमा आयो, त्यही संगीतमा उतारेकी हुँ । यही सरलता र साँचोपन श्रोता÷दर्शकलाई मन परेको हो ।
यो क्षेत्रमा यहाँको संघर्ष करिब दशकको छ, कति जति गीत श्रोता/दर्शकमाझ ल्याउनुभएको छ ?
करिब दशक संघर्ष गरेँ । ५० भन्दा बढी गीत गाइसकेकी छु । केही गीतले युट्युबमा करोडौँ भ्युज पाएका छन् तर म पूर्ण परिचित गायिका बनेकी थिइनँ । निरन्तर प्रयासपछि मात्रै अहिलेको सफलता मिल्यो ।
यहाँका केही गीतको नाम लिनुपर्दा ?
‘रातो गलबन्दी, मैनाचरी, झम्केफुली मनपर्छ भन्छौ रे, हेल्लो, ऐंसलुको पात, मेरो मायाले छुन्छ छुँदैन, घिन्ताङ घिन्ताङ, घुर्कोट, मायालु, हजारै जुनी, एउटा फूल, मेरो मनको फूलबारी, दिल टुट्यो, जुन दिन तिमीले, जन्म जन्म, मायाको सुगन्ध, जूनतारा, दूरी अलिक बढेकै हो, गुन भुल्यौ पित्तलको’ लगायतका थुप्रै छन् । यस्तै, मेरै शब्द रचना रहेका तीज गीत, ‘छम्म छम्म, यतै घमाइलो उतै घमाइलो, बजाउँदै चुरा, तीजमै ब्रत बसी’ लगायतका पनि छन् ।
गायनमा आउनुको कारण के थियो ?
अभिनयमा कम्फर्टेबल नहुनु र गीत-संगीतमा आत्मविश्वास पाएपछि साथीभाइ र आफन्तले पनि गीत गाउन सुझाउनुभयो ।
अबको योजना ?
गीत-संगीतलाई जीवनको अभिन्न हिस्सा मान्दै सबैको मन-मस्तिष्कमा बस्ने उत्कृष्ट गीत सिर्जना गर्ने लक्ष्य छ । अब गर्ने हरेक काममा अझ राम्रो दिने प्रयास मेरो रहनेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच