मेलवर्न । विश्व क्रिकेट इतिहासका सर्वकालीन महान् खेलाडीमध्ये एक अष्ट्रेलियाका महान ब्याट्सम्यान सर डन ब्राडम्यानको नाम फेरि एकपटक विश्व क्रिकेटमा चर्चाको केन्द्रमा आएको छ । आजभन्दा २४ वर्षअघि अर्थात् सन् २००१ फेब्रुअरी २५ मा ९२ वर्षको उमेरमा उहाँको निधन भइसके पनि उहाँका उपलब्धि र स्मृतिहरू आज पनि क्रिकेटप्रेमीका लागि प्रेरणाको स्रोत बनेका छन् । सारा विश्व सन् २०२६ को स्वागतको तयारीमा जुटिरहेका बेला ब्राडम्यानसँग जोडिएको ऐतिहासिक धरोहर– उहाँले सक्रिय खेलजीवनमा लगाएको टेष्ट क्याप (ब्यागी ग्रिन) लिलामीमा राखिने भएको समाचार सार्वजनिक भएको छ । उक्त क्यापलाई विश्व क्रिकेटकै सबैभन्दा दुर्लभ र भावनात्मक धरोहरका रूपमा लिइन्छ ।
समाचारअनुसार उक्त क्याप आउँदो जनवरी महिनामै लिलामीमा राखिनेछ । लिलामी प्रक्रिया एक डलरको न्यूनतम मूल्यबाट सुरु गरिनेछ भने जनवरी २६ तारिखमा समाप्त हुने बताइएको छ । यस लिलामीमा विश्वभरका निजी संकलनकर्ता, क्रिकेट संग्रहालय, विभिन्न संस्था तथा क्रिकेटप्रेमीहरूको व्यापक सहभागिता रहने अनुमान गरिएको छ ।
७५ वर्षसम्म निजी परिवारमै सुरक्षित
सर डन ब्राडम्यानले यो ऐतिहासिक क्याप आफ्नो खेलजीवनको उत्तराद्र्धतिर आफ्ना एक घनिष्ठ साथीलाई उपहार दिनुभएको थियो । ती साथी स्वयं पनि अष्ट्रेलियाका एक टेष्ट क्रिकेटर थिए । ब्राडम्यानबाट उपहार पाएको उक्त क्याप झण्डै ७५ वर्षसम्म उहाँकै परिवारसँग सुरक्षितरूपमा राखिएको थियो ।
उल्लेखनीय कुरा के छ भने, यो अवधिभर उक्त क्याप कहिल्यै सार्वजनिकरूपमा प्रदर्शनमा राखिएको थिएन । पहिलोपटक सार्वजनिक लिलामीमा आउन लागेको यस क्यापलाई विश्व क्रिकेट इतिहासकै सबैभन्दा भावनात्मक र ऐतिहासिक धरोहरका रूपमा हेरिएको छ ।
भारतविरुद्धको ऐतिहासिक शृंखला
क्रिकेट इतिहासमा यो क्यापको महत्व अझ बढाउने एउटा महत्वपूर्ण प्रसंग पनि जोडिएको छ । सन् १९४७-४८ मा भारतीय टोलीले पहिलोपटक अष्ट्रेलिया भ्रमण गर्दा सर डन ब्राडम्यानले यही क्याप लगाएर मैदान उत्रिनुभएको थियो । भारतविरुद्धको उक्त टेष्ट शृंखलामा ब्राडम्यानले ६ पालीमा कुल ७१५ रन बनाउनुभएको थियो, जुन उपलब्धि आज पनि क्रिकेट इतिहासमा उल्लेखनीय कीर्तिमानका रूपमा दर्ज छ । स्वतन्त्र भारतको पहिलो अष्ट्रेलिया भ्रमण र ब्राडम्यानको विस्फोटक प्रदर्शनले यो क्यापलाई ऐतिहासिकरूपमा अझ मूल्यवान् बनाएको छ ।
अघिल्लो उदाहरण र सम्भावित मूल्य
यसअघि पनि अष्ट्रेलियाका अर्का महान् क्रिकेटर शेन वार्नको क्याप लिलामीमा राखिएको थियो । सन् २०१९-२० मा शेन वार्नको ब्यागी ग्रिन क्याप १० लाख अष्ट्रेलियन डलरमा बिक्री भएको थियो । त्यसैले ब्राडम्यानको क्यापले अझै उच्च मूल्य प्राप्त गर्न सक्ने अनुमान गरिएको छ । सन् १९०८ अगष्ट २७ मा जन्मिएका सर डन ब्राडम्यानले सन् १९२८ देखि टेष्ट क्रिकेट खेल्न सुरु गर्नुभएको थियो । उहाँले खेलेका ५२ टेष्टमा ९९.९४ को अविश्वसनीय औसतमा ६,९९६ रन बनाउनुभएको थियो, जुन कीर्तिमान अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले तोड्न सकेका छैनन् ।
उहाँको नाममा २९ शतक र १३ अर्धशतक दर्ज छन् । क्रिकेट इतिहासमा ‘डन’ उपनामले चिनिने ब्राडम्यानलाई आज पनि क्रिकेटको सबैभन्दा महान् खेलाडीका रूपमा सम्मान गरिन्छ । ब्राडम्यानको उक्त ऐतिहासिक क्याप लिलामीमा जानु केवल एउटा वस्तुको बिक्रीमात्र नभई विश्व क्रिकेट इतिहासको अमूल्य स्मृतिको हस्तान्तरण हो । यसले क्रिकेटप्रेमीलाई फेरि एकपटक क्रिकेटको स्वर्णयुगतर्फ फर्काउने अपेक्षा गरिएको छ । एजेन्सी







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर