काठमाडौं । मुलुकका प्रमुख दुई राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पुनः पार्टी एकता भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी तथा राष्ट्रवादी शक्तिहरू एकीकृत भएका हुन् । कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङ्देन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गर्नुभएको छ । यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । २०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गर्नुभएको थियो । बुधबार काठमाडौंमा एक समारोह गरी दुवै पार्टीका अध्यक्षहरूले ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी एकता घोषणा गर्नुभएको हो ।
पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गर्नुभएको छ । पार्टी अध्यक्ष पनि लिङ्देन नै रहने, पार्टीको विधान, झण्डा र चुनाव चिह्न हलो रहने सहमतिमा उल्लेख गरिएको छ । कमल थापाको भूमिका के रहने ? भन्ने सहमति पत्रमा खुलाइएको छैन । सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको ०७८ साल मंसिर सम्पन्न एकता महाधिवेशनबाट पारित सम्बन्धनवादको वैचारिक दर्शनअन्तर्गत सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त एकीकरणपश्चात् मार्ग दर्शन हुनेछ ।’
सहमतिपत्रमा राप्रपाको २०७८ को महाधिवेशनबाट निर्वाचित भएर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीमा सोही पदमा कायम गरिने उल्लेख छ । राप्रपा नेपालका अन्य पदाधिकारी र सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिने भनिएको छ । यसैगरी, जिल्ला तथा स्थानीय तह (वडा, गाउँ, नगर) मा २०७८ को महाधिवेशनको समयमा कायम रहेका संरचनालाई आधार मानी सम्मानजनक ढंगले समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ । राप्रपाको ३५ वर्षे इतिहासमा बारम्बार विभाजन र एकता दोहोरिएको छ । हालसम्म राप्रपा ६ पटक विभाजन र सातपटक एकता भइसकेको छ । पार्टीभित्रको नेतृत्व विवाद, सत्ताको लोभ र वैचारिक मतभेदले निरन्तर फुटजुटको परम्परा राप्रपामा कायम रहँदै आएको छ । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि पञ्चायतमा रजगज गरेकाहरू राजनीतिक दल बनाएर जाने निष्कर्षमा पुगेसँगै राप्रपा गठन भएको थियो ।
कमल दाइ नहुँदा अपूर्ण जस्तो लाग्थ्यो, रुँदै हिँड्न पनि मिलेको थिएन : लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा अपूर्ण जस्तो लागिरहेको र अब पूर्ण भएको बताउनुभएको छ । बुधबार राप्रपा-राप्रपा नेपालबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘कमल दाइ नहुँदाको राप्रपा मेरो मनमा अपूर्ण जस्तो लाग्थ्यो । उहाँले छाडेर जानुभयो, म पार्टीको अध्यक्ष, मैले रोएर हिँड्न पनि नहुने । कमल दाइ नभएर यो पार्टी भएन भन्न पनि नहुने । उहाँ नभएर पनि चल्छ भन्नुपर्यो । चलायौँ पनि । तर, मनमा एक प्रकारको रिक्तता भइरहेको थियो । आज त्यो पूरा भएको छ । सबैजना बेखुसी हुनुहुन्थ्यो, आज त्यो पूर्ण भएको छ । सबैजना खुसी हुनुहुन्छ, सबैभन्दा बढी म खुसी छु ।’ पार्टीलाई कसैले पनि एक्लै चलाउन नसक्ने उल्लेख गर्दै लिङ्देनले भन्नुभयो, ‘कोही एक्लैले चलाउने होइन, हामी सबैले मिलेर चलाउने हो । पार्टी अध्यक्षको हिसाबले सबैलाई मिलाएर लान्छु । तपाईंहरूले अन्यथा सोच्नुपर्दैन, सबैलाई मिलाएर लैजाने जिम्मा मेरो हो ।’ अध्यक्ष लिङ्देनले राप्रपाले उठाउँदै आएको एजेण्डाको लोकप्रियता बढेको दाबीसमेत गर्नुभएको छ ।
प्रधानमन्त्रीको दलाली सुरु भइसकेको टिप्पणी
अध्यक्ष लिङ्देनले नयाँ भनिएका दलहरूमा प्रधानमन्त्रीको दलाली सुरु भइसकेको आरोपसमेत लगाउनुभएको छ । रास्वपासँग काठमाडौंका मेयर बालेन साह र ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीसमेतको एकतातर्फ इंकित गर्दै उहाँले भन्नुभयो, ‘अब धेरै के आलोचना गर्नु, कसरी जोडिइराखेका छन् । अघिल्लो दिन एकले अर्कालाई के भनेर गाली गरिरहेको थियो ? अर्को दिन के भनेर जोडिए ? जोडिएर के गर्ने भन्ने केही थाहा छैन । को कहाँबाट उठ्ने भन्ने थाहा छैन, प्रधानमन्त्रीको दलाली पार्टीभित्र सुरु भइसक्यो ।’ अध्यक्ष लिङ्देनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्ने पनि बताउनुभएको छ ।
देश संकटमा रहेकाले निःस्वार्थ पार्टी एकता गरेँ : थापा
राप्रपाका नेता कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डासँगै देश नै संकटमा रहेकाले निःस्वार्थ पार्टी एकता गरेको दाबी गर्नुभएको छ । बुधबार राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै नेता थापाले भन्नुभयो, ‘पार्टी एकताको कुनै स्वार्थ छैन, पार्टी अध्यक्ष र वार्ताकारहरू जानकार हुनुहुन्छ । एउटै चिन्ता के हो भने हाम्रो एजेण्डा संकटमा छ, हिन्दूराष्ट्र र राजसंस्थाको विचारसहित देश संकटमा छ । एकताको उद्देश्य नै हिन्दूराष्ट्र र राजसंस्थाको रक्षा गर्दै भ्रष्ट शासन व्यवस्थाबाट देश र जनतालाई मुक्ति दिने मात्र हो ।’ नेता थापाले आफूले चार वर्षअघि राप्रपा छाड्दा मन रोई रोई छाडेको र अहिले फर्कंदा खुसी लागेको उल्लेख गर्दै भन्नुभयो, ‘यसलाई एकता भनिए पनि पुनर्मिलन हो । घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना बगाएर खडा गरेको घरमा फर्कंदा जुन किसिमको अनुभूति हुन्छ अहिले मलाई त्यही भइरहेको छ ।’
भदौ २४ गते राति राजालाई ल्याउनैपर्यो भनेर दुई नेताको फोन आएको दाबी
नेता थापाले गत भदौ २४ गते देश जलिरहँदा अहिलेका प्रमुख पार्टीका दुईजना नेताले फोन गरेर राजा ल्याएर देश जोगाउन प्रयास गर्न प्रस्ताव गरेको खुलासा गर्नुभएको छ । थापाले ती नाम भने खुलाउनुभएन । आवश्यक परे ती नेताको नामसमेत सार्वजनिक गर्ने जिकिर गर्दै थापाले भन्नुभयो, ‘एउटा सानो घटना ‘जेन-जी’ आन्दोलनका क्रममा भदौ २४ गते राति ११ बजेतिर मलाई अहिलेका प्रमुख राजनीतिक दलमध्येका दुई नेताले फोन गर्नुभयो । अहिले नाम भन्दिनँ, आवश्यक प¥यो भने भनौँला । जब सर्वोच्च, सिंहदरबार, नेताहरूको घर जलिरहेको थियो । त्यसबेला उहाँहरूले फोन गरेर कमलजी देश जलिसक्यो, जोगाउनुपर्छ तपाईँले केही प्रयास गर्नुभयो भने जोगाउन सक्नुहुन्छ कि ? राजालाई त ल्याउनैप¥यो देश जोगाउनैप¥यो ।’ ती दुवै नेताको बोली उस्तै रहेको भन्दै आफूहरू राजनीतिक वातावरण तयार गर्ने भन्दै राजा ल्याउन भूमिका खेल्न आग्रह गरेको उहाँको दाबी छ ।
यस्तो छ- ६ बुँदे सहमति
-राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ साल मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित सम्बर्धनवादको वैचारिक दर्शनअन्तर्गत सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त एकीकरणपश्चात्को मार्गदर्शन हुनेछ ।
-राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट पारित विधान पार्टीको विधान हुनेछ । एकीकरणपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न (हलो) र झण्डा नै कायम हुनेछ ।
-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको केन्द्रीय अध्यक्ष हुनु हुनेछ ।
-राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट निर्वाचित भएका तर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय कार्य समितिका सदस्यहरू एकीकृत पार्टीमा तत्कालीन महाधिवेशन हुँदा कायम रहेको पदमा रहने छन् । सहमतिको आधारमा एकीकृत पार्टीमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरू केन्द्रीय कार्यसमितिमा रहनेछन् ।
-सहमतिको आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ मंसिरमा सम्पन्न महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरूलाई तत जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिनेछ ।
राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्बन्धित भातृसंगठनहरूमा सम्मानजनक ढंगबाट समायोजन गरिनेछ ।





समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर