नमागिएको सल्लाह :
हिन्दू धर्मावलम्बीले एकपटक पुग्नुपर्ने भनेर सुन्दै आएको वृन्दावन र मथुरा धाम तीर्थयात्रा गर्ने चाँजोपाँजो मिलाएर २०८२ पुस दुई गते इण्डिगोको वायु यानबाट दिल्लीतिर लागियो । दिल्लीबाट लगभग १६० किलोमिटर सानोगाडीको यात्रापछि वृन्दावन पुगिने रहेछ । दिल्लीबाट राजमार्गमा जोडिने क्रममा फोहोरी र अव्यवस्थित बाटो देखिए तापनि राजमार्ग समातेपछि धेरै लेन भएका बाटा भएको कारण खासै अवरोधको सामना गर्नुपरेन । चालकले पनि ट्राफिक जामको डर देखाउँदै हाम्रो टोलीको खाजा खाने अनुरोधलाई पनि नम्रतापूर्वक पन्छाउँदै आजको यात्राको अन्तिम बिन्दु नजिक पुर्याएर एक सफा सुधर ढावाअगाडि हामीलाई रोकिदिए ।
वृन्दाको अर्थ पवित्र तुलसी र वनको अर्थ बगैँचा भएकाले तुलसीको बगैँचाको रूपमा पनि यो चिनिन्छ । बाँके विहारी मन्दिर जाने बाटामा बिक्रीका लागि राखिएका प्रशस्त तुलसीका मालाको भण्डारले पनि यस्को पुष्टि गरेको थियो । श्रीमद्भागवत अनुसार कंसको अत्याचारबाट बच्न नन्दजी, नाता कुटम्बसहित वृन्दावनमा बस्नका लागि आउँनुभएको विश्वास गरिन्छ ।
ढावाको अर्थ खासै नबुझेको कारण सबै खाने पसलमा ढावा लेखेको देखेर हाम्रो टोलीमा रहेका भारतको रसोबसो बुझेका सुसिम बरालजीलाई सोधेपछि थाहा भयो-सडक किनारमा रहेको भोजनालयलाई ढावा भनिने रहेछ । पारम्परिक रूपमा माटोको संरचनाको चुलोमा पकाइने चारपाइमा बसेर खानेस्थानलाई ढावा भनिन्थ्यो । समयको क्रममा भएको प्रगति अनुसार अहिले यस्ता ढावाहरू सुविधा सम्पन्न भएका छन् । आफ्नो रुचि अनुसारको खाजा खाएर हामी लगभग चालीस किलोमिटर यात्रा गरेपछि साँढे चार बजे अपराह्न हाम्रो आज एक दिनका लागि प्रबन्ध गरिएको वासस्थानमा पुग्यौं । उत्तर प्रदेश राज्यको मथुरा जिल्लामा पर्ने वृन्दावनमा हिन्दु देवता श्रीकृष्णले आफ्नो बाल्यकाल बिताएको विश्वास गरिन्छ । राधा र कृष्णका विभिन्न मन्दिर रहेको यस क्षेत्रलाई वैष्णवहरूले पवित्र तीर्थस्थलका रूपमा लिन्छन् ।
वृन्दाको अर्थ पवित्र तुलसी र वनको अर्थ बगैँचा भएकाले तुलसीको बगैँचाको रूपमा पनि यो चिनिन्छ । बाँके विहारी मन्दिर जाने बाटामा बिक्रीका लागि राखिएका प्रशस्त तुलसीका मालाको भण्डारले पनि यसको पुष्टि गरेको थियो । श्रीमद्भागवत अनुसार कंसको अत्याचारबाट बच्न नन्दजी, नाता कुटम्बसहित वृन्दावनमा बस्नका लागि आउँनुभएको विश्वास गरिन्छ । दिल्ली-आगरा-कोलकोता राजमार्गबाट तीन किमी पर भक्तिवेदान्त स्वामीमार्गबाट वृन्दावन पुग्न सकिन्छ ।
बाँके विहारी मन्दिर दर्शन
बाँके विहारी मन्दिर, वृन्दावनको मुख्य धार्मिक दर्शनीयस्थल भएकाले हाम्रो पाँचजनाको भ्रमण टोली एउटा तीनपांग्रेको सहारामा त्यतातर्फ प्रस्थान गर्यौँ । मन्दिर जाने बाटोको अवस्था, ढल निकासको दयनीयता, अव्यवस्थित भिडभाड देख्दा लग्यो–हाम्रो आजको अस्थायी घरको अवस्था उच्च कोटिको रहेछ । हाम्रो भ्रमण टोलीका सदस्य केशव शिवाकोटीजीले-यहाँ चाहिँ मोदीजीको ध्यान किन नपुगेको होला भन्ने प्रश्न गर्नुभयो । उहाँकी पत्नी मीनाजीले स्थानीयको अवरोध र असहयोगको कारण यस्तो दुरावस्था भएको होला भनेर अनुमानित जवाफ फर्काउँनु भयो । तीनपांग्रेबाट ओर्लेपछि पनि लामो समय हिँड्नुपर्ने र छिचोलिनसक्नु भिड भएका कारण अलमलिन सक्ने सम्भावनाले सबैलाई पिरोल्यो । सबैसँग रोमिङ सुविधा र भारतीय सिम नभएको कारण हराए केही झन्झटिलो हुने अवस्था थियो ।
त्यो जोखिमबाट जोगिन बाँके विहारीको दर्शनको भन्दा हाम्रो टोलीका अनुभवी साथी छुट्लान् भन्ने चिन्ताले सताएको अवस्था थियो । पत्नी रञ्जुलगायतका टोलीका साथीहरू अनुभवी साथी बरालजीको अनुयायी बनेका थियौं । बेलुकाको भीडलाई छिचोल्दै मन्दिर पुग्दा, भगावानलाई छोप्ने गरिएको पर्दा खुला भएको अवस्था थियो । जसको कारण दूरदर्शन सहज भयो । अव्यवस्थित भीड भएको कारण आफूसँग भएको पूजासामग्री उपयुक्त स्थानमा चढाएर ढिलो नगरी हामी फर्कियौं ।
प्रेम मन्दिर
जगद्गुरु कृपालुजी महाराजको अगुवाइ र सक्रियतामा बनेको यो मन्दिर भारतीय शिल्पकलाको पुनर्जागरणको नमुना भन्न सकिन्छ । यसको भव्यताले काल्पनिक रूपमा वर्णन गरिएको स्वर्गको झल्को दिन्छ । भगवान राधा-कृष्ण, सीता-रामप्रति समर्पित यो मन्दिर इटालियन मार्बलबाट बनेको उत्कृष्ट र भव्य संरचना हो । मन्दिर परिसरमा निर्माण गरिएका कृष्णलीलाका जीवन्त दृश्यले मन नलोभिने को होला र ? यहाँ गोवर्धन पर्वत उचालेको, कालिय नागमाथि नृत्य गरेको, गोपिनीहरूको लीलालगायत अन्य लीलीहरूको जीवन्त संरचनाहरू बनाइएको छ । रात्रिकालीन समयमा गरिने लाइट सोको समयमा देखाइने दृश्य देखेर त्यहाँबाट बाहिर निस्कन मन लाग्दैन ।
मुख्य मन्दिरमा छिनछिनमा फेरिने बत्तीको रंगले रमणीयताको परिभाषालाई सार्थक बनाइरहेका थिए । भिडियो तस्वीर लिँदा मनबाट ‘क्षणेक्षणे यन्नवतामुपैति तदेव रुपं रमणीयताया’ भन्ने सुन्दर श्लोकको भावार्थलाई सार्थक बनाएको महसुस भएको थियो । मनबाट उक्त श्लोक प्रस्फुटित भइरहेको थियो । मुख्य मन्दिरको गर्भगृहमा रहेको राधा-कृष्ण मन्दिर, साँझ सात बजेको लाइट सो, विशाल सत्संगहल यसका मुख्य आकर्षण हुन् । निर्माणका लागि एघार वर्ष समय लागेको यो मन्दिर निर्माण गर्न लगभग १०० करोड भारतीय रुपैयाँ खर्च भएको थियो । टेडी खम्बा मन्दिर, यमुना तट, पागल बाबा मन्दिर, स्कन मन्दिर आदि यहाँका दर्शनीय स्थान हुन् ।
मथुराधाम
मथुरा भगवान श्रीकृष्णको जन्मभूमि हो । मधुवन नामले चिनिने यो नगरी कुनै समयमा कुषाणहरूको राजधानी, बौद्ध र जैन धर्मको केन्द्र पनि थियो । मुगल साम्राज्यको समयमा औरंगजेबले धेरै मठ मन्दिर ध्वंश गरे तापनि अद्यापि यसको अस्तित्व जीवित छ । क्रमिक रूपमा विकास भइरहेको छ । समृद्ध कला मानिने मथुरा कलाको उद्गमस्थलको रूपमा पनि यो क्षेत्र परिचित छ । पौराणिक कथामा मधु नामक दैत्यको नामबाट मधुवन नामकरण भएकाले शत्रुघ्नले राक्षसलाई बध गरेर मथुरा नगरी बसाएको इतिहास पनि पाइन्छ । यो क्षेत्रमा वराह, कालीय दमन, सूर्य, युगल, श्रीविहार, आँधेर, इमलीतला, शृंगारघाट, गोविन्द, चीर, भ्रमर, धीरसमीर, राधाबाग, पानी, आदिवद्री, राजघाटलगायत २५ भन्दा बढी घाट रहेका छन् ।
मानिसको दिमाग एकोहोरो पार्ने एउटा गजबको सूत्र हो भक्ति । कसैले कसैको भक्ति गरेर पनि मानसिक शान्ति महसुस गरेको भए त्यो उपलब्धि भयो । अन्यथा, भगवान् भनिन चाहनेलाई अनुयायीलाई पछि लगाइराख्न बनाएको जालो हो । गुरु र कथित भगवानहरू नयाँ नयाँ शब्दावली प्रयोग गरेर गीताको मर्मलाई चतुर्याइँपूर्वक ग्रहण गरिरहेका हुन्छन् ।
मथुरामा कृष्णजन्मभूमिको दर्शनपश्चात् श्री डी साई मन्दिर जानका लागि मथुरा रेल्वे स्टेसनतर्फ लाग्यौं । स्टेसनमा तलमाथि गर्न लिफ्टको व्यवस्था भएको कारण यस पटक धेरै कठिनाइको सामना गर्नु परेन । प्रतीक्षालयमा पुगेपछि थाहा भयो-रेलको प्रस्थान समय ढिलो भएको रहेछ । दुई बजे दिउँसो चढेर बिहान सात बजेतिर ओर्लिने कार्यतालिका भएकोमा साँझ पाँच बजेमात्र प्रस्थान गरेकाले हामी ११.३० बजे बिहानमात्र श्री डी साई रेल्वे स्टेसनमा पुग्यौं । त्याहाँबाट सानो गाडीमा जाँदा दिउँसो दुई बजेतिर मात्र श्री डी साई धाम पुग्न सकियो । हाम्रो लगभग पाँच घण्टा रेलको ढिलाइको कारण खेर गयो ।
श्री डी साई धाम
श्री डी साई धाम, महाराष्ट्र राज्यको साइनगर मुम्बईबाट लगभग ३०० किमी टाढा पर्दछ । साइनगर नामकरणबाट नै थाहा पाउँन सकिन्छ-साई बाबा बसेकै कारण यो स्थानको सर्वांगीण विकास भएको छ । हरेक धर्मका लागि खुला भएको कारण पनि यो अन्य हिन्दु मन्दिरभन्दा फरक छ । मन्दिर नजिक रहेको द्वारका माई मस्क जसलाई धुनी पनि भनिन्छ, त्यहाँ श्री डी साईले धेरै समय बिताएको मानिन्छ । मन्दिरभित्र साई बाबाको प्रतिमाको पूजन गरिन्छ । मन्दिर परिसरमा एकतर्फ श्रद्धा र अर्कोतर्फ सबुरी लेखिएको छ, दुबैतर्फ अलग पूजारीले पूजा गरेको देख्न सकिन्छ । आध्यात्मिक उन्नतिका लागि साई बाबाले सिकाएका दुई सिद्धान्तको रूपमा श्रद्धा र सबुरीलाई मानिएको छ ।
श्रद्धाको अर्थ आफ्नो उद्देश्य पूरा नहुन्जेल जीवनमा आउँने चुनौतीलाई पार लगाउँदै गुरु अथवा भगवानप्रति गरिने स्नेहपूर्ण विश्वास हो । परिणाम तुरुन्त नआए तापनि आत्मस्वीकृति नभएसम्म धैर्यतापूर्वक गरिने निरन्तर प्रतीक्षा सबुरी हो । श्रद्धा र सबुरी नयाँ शब्द जस्तो लागे तापनि धेरै हिन्दू भगवान् र गुरुहरूले भन्ने गरेको अविचलित भक्तिको अर्को शब्दावली हो । श्रीमद्भागवत गीतामा श्रीकृष्णले भनेको ‘कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन’ कै सार हो । मानिसको दिमाग एकोहोरो पार्ने एउटा गजबको सूत्र हो भक्ति । कसैले कसैको भक्ति गरेर पनि मानसिक शान्ति महसुस गरेको भए त्यो उपलब्धि भयो । अन्यथा, भगवान् भनिन चाहनेलाई अनुयायीलाई पछि लगाइराख्न बनाएको जालो हो । गुरु र कथित भगवानहरू नयाँ-नयाँ शब्दावली प्रयोग गरेर गीताको मर्मलाई चतुर्याइँपूर्वक ग्रहण गरिरहेका हुन्छन् ।
यहाँ पनि श्रद्धा र सबुरी प्रयोग गरेर श्री डी साईले आफ्ना अनुयायीलाई पछि लागिरहने अथवा भक्ति गरिरहने शब्दजाल छोडेर गएका छन् । त्यसैले त श्री डी साईले सामान्य मानिस भएर पनि धेरै अनुयायी बनाएका छन् । ती अनुयायीले उनलाई भगवान बनाएका छन् । उनको देवत्वकरणको कारण त्यो क्षेत्रको धार्मिक पर्यटनले देशकै समृद्धिमा भूमिका खेलेको छ । नगरको नाम, रेल्वे स्टेसनको नाम, हरेक प्रतिष्ठानको नाम साईको नामबाट भएको कारण उनको देवत्वकरण अद्भूत छ । समय बित्दै जाँदा उनी अझ ठूलो भगवानको रूपमा पुजिने अनुमान गर्न सकिन्छ ।
श्री डी साई क्षेत्रमा धुनी मन्दिर र खान्डवा भनिने भैरव मन्दिरको दर्शन, अवलोकनपछि हाम्रो टोली आफ्नो वासस्थानतर्फ लाग्यो । बिहान रन्जु र मैले प्रातभ्रमणको समयमा मन्दिर परिसर र शहरी क्षेत्रका केही तस्वीर खिच्यौ । बिहानको नास्ता गरेर साइबाबा रेल्वे स्टेसनबाट दिल्लीतर्फको रेल चढेर यात्रालाई घरतर्फको दिशा सोझो गर्ने प्रक्रिया सुरु गरियो । क्रमशः....





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच