अरुणा रुम्बाले नेपाली गीत-संगीतमा आफ्नै पहिचान स्थापना गर्नुभएको छ । आफू अरूणा लामाको ठूलो फ्यान भएका कारण अरुणा नै नाम राखेको बताउनुहुने उहाँ बाबा पदमबहादुर तामाङ र माता सुकुमाया तामाङको कोखबाट भुटानमा जन्मिनुभएको हो । उहाँका बुबाआमा कामको सिलसिलामा रामेछापबाट भुटान जानुभएको रहेछ, अरुणाको त्यहीँ जन्म भयो । उहाँका बुबालाई पछि अब छोराछोरीलाई आफ्नै देश लगेर बढाउनु, पढाउनुपर्छ भन्ने महसुस भएछ त्यसैले उहाँले सबैलाई नेपाल ल्याउनुभयो । रामेछापमा उहाँका दाजुभाइले तेरो यहाँ केही छैन भनेपछि उहाँका बुबा काभ्रेपलाञ्चोक ज्याम्दी आएर बस्नुभयो । अरुणा त्यहीँ हुर्किनुभयो । पछिल्लो समय अरुणा परिवारसहित अमेरिकामा बस्दै आउनुभएको छ । उहाँ समाज सेवामा पनि आबद्ध हुनुहुन्छ । अरुणाको पहिलो गीत ‘उपहार भो’ रहेको छ । यस्तै, उहाँका ‘हजार सपना, टाढा नजाऊ, बिर्सुं भन्छु, किन किन, उपहार भो जिन्दगी, प्रभु तिम्रो, माया किन पर’ जस्ता गीत श्रोता-दर्शकबीच अत्यधिक मन पराइएका छन् । पछिल्लो समय पहिलाका जस्ता गीत बजारमा नआएको, क्षणिक चर्चाका लागि गीत गाउने गरेको गुनासो गर्नुहुने उहाँ गीत-संगीत व्यावसायिक भएकोमा भने खुसी लाग्ने बताउनुहुन्छ । गीतकारका रूपमा आफ्नो परिचय स्थापित गर्नुभएकी अरुणा रुम्बासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
आजकल केमा व्यस्त हुनुहुन्छ ?
परदेशी भएपछि भोक मार्न पनि काम गर्नुपर्छ । नेपालीहरूको विडम्बना आफ्नो देश बाध्यतावस छाड्नुपर्ने, नेपालजस्तो आज गाह्रो भयो जान्न भन्न पनि नपाउने काम काम काम । दुई डेज होलिडे हुन्छ, त्यही समय मिलाएर गीत लेखेर कहिलेकाहीँ आफ्नो रहर भने पनि, सपना भने पनि पूरा गर्छु ।
नयाँ केही आउँदैछ ?
भर्खरैमात्र एउटा नयाँ गीत भिडियो भएर आएको छ । गीत त धेरै पहिला नै रेकर्ड भएको थियो तर अहिले बल्ल भिडियो बनाएर ल्याएकी छु । गीतको पनि आफ्नै भाग्य हुने रैछ, योभन्दा पछि बनेका गीतहरू पहिले आइसके, यसको पालो अहिले आयो । गीतको बोल ‘माया किन पर’ शब्द-संगीत मेरो र यसलाई स्वर दिनुभएको छ चर्चित गायक राजेशपायल राई दाइले । निर्देशक शान थापाज्यूको टिमले यसको श्रव्य-दृश्यको काम गर्नुभएको छ । अब अरू नयाँ कामहरू पनि आउने क्रममा छन् ।
‘गीत लेखन त म गरिरहेको छु, मैले देखेको गायिका बन्ने सपना पूरा गर्न अझै बाँकी छ । त्यो पनि चाँडै पूरा गर्ने कोसिसमा छु । नेपाल फर्किएर संगीत र समाज सेवामा जीवन व्यतित गर्ने इच्छा छ ।’
अहिलेसम्म यहाँका कति वटा गीत बजारमा आएका छन् ?
गीत रेकर्डिङ त धेरै नै भए तर भिडियोको कुरा गर्ने हो भने एक दर्जन जति भए कि ! धेरै त अरूको च्यानलमा छन्, पछिल्लो समय केही मेरो आफ्नै युटुबमा राखेकी छु । जस्तै– ‘हजार सपना, टाढा नजाऊ, बिर्सुं भन्छु, किन किन, उपहार भो जिन्दगी, प्रभु तिम्रो, माया किन पर’ लगायतका छन् ।
विदेशमा बसेर पनि गीत-संगीतमा सक्रिय हुनुहुन्छ नि ?
विदेशमा सोचे जस्तो छैन साह्रै गाह्रो छ । हप्तामा दुई दिन फुर्सद हुन्छ, त्यही समय हो आफ्नो घरको काम गर्ने, बालबच्चालाई टाइम दिने अनि बचेको समय आफ्ना लागि, त्यही समय गीत कोरी बस्छु । समय भन्ने कुरा मिल्ने भन्दा पनि मिलाउनु पर्दोरैछ । यसरी नै मेरो गीत–संगीतको सपना पूरा गरिरहेकी छु ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
हाहाहा... कथा लामो छ । म स्कुल पढ्दादेखि नै गीत-संगीतको माहोलमा हुर्कन पाएँ । खासमा म स्कुलमा गाउँथें । प्रतियोगितातिर पनि गायनमा भाग लिएर प्रथम, द्वितीय भइरहन्थें । भविष्यमा गायिका बन्ने ठूलो इच्छा थियो । सरहरूले पनि राम्रो गाउँछ्यौ भनेर निकै प्रोत्साहन, माया गर्नुहुन्थ्यो । तर, सोचेजस्तो हुन्न जीवन– तारा देवीले भनेजस्तै, नहुनेरैछ । सानै उमेरमा बिहेबन्धनमा बाँधिदिनुभयो परिवारले त्यसपछि जिन्दगीले अर्को मोड लियो । सबै सपना सपना नै रहने भो भन्ने लाग्यो । तर, पछि मेरो श्रीमान्ले मेरो गायनप्रति हुटहुटी महसुस गरेर होला मलाई संगीत गुरू घरमै राखिदिनुभयो । मलाई नारायण गोपाल, अरूणा लामाका गीतहरू खुब मन पथ्र्यो, उहाँहरूकै गीत सधैँ गाइरहन्थें । पछि बच्चा भयो फेरि ब्रेक लाग्यो, कन्टिन्यु गर्न सकिनँ । श्रीमान् पनि विदेश लाग्नुभयो । यसै बेलादेखि गीत लेखनतिर मोडियो र आफ्नो गाउने सपनालाई लेखनबाट आत्मसन्तुस्टि लिन थालें । नेपालमा पहिलो नेपाल आइडल, त्यसको एक प्रोडुसर भएर पनि काम गरें, यो सब गीत-संगीतको मायाले । मेरो पहिलो लेखन नेपाल आइडलको एक प्रतियोगीले गाउनुभएको थियो । गीत ‘उपहार भो’ अमित परियार । यसरी प्रवेश भयो ।
अहिले नेपाली संगीतको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
मलाई त अहिलेभन्दा पहिलेका गीत साह्रै मनपर्छ । टेक्निकल्ली पक्कै फड्को मारेको छ तर गीतको जुन सुगन्ध पहिलाकोमा थियो नि अहिले पाउँदिन । अहिले पनि केही गीत त साँच्चिकै गीत जस्तो लाग्छ नत्र बाँकी त के हुन् के हुन् ? युट्युबको भ्युज हेरेर गीतको गुणस्तर मापन हुन्छ । यो त साह्रै अन्याय हो जस्तो लाग्छ होइन र ? नराम्रो गीत पनि पैसाले गर्दा भ्युज किन्ने भन्ने पनि हुँदोरैछ, श्रोताहरू पनि कस्ता फेरि भ्युजकै पछि लाग्ने ? यसले सही स्रष्टालाई डिप्रेसन नै बनाएको जस्तो छ । नेपाली गीत-संगीतको विकासका लागि राज्यले नै सेन्सरबोर्ड स्थापना गर्नुपर्ने अवस्था देख्छु । अहिले गीत-संगीत व्यावसायिक भएको कुरामा खुसी लाग्छ ।
फुर्सदमा के-के गर्न रूचाउनुहुन्छ ?
धेरै त म फुर्सदमा गीत-संतीतमै रमाउँछु । विदेशमा भए पनि समाज सेवामा आबद्ध छु, हाम्रो एउटा लायन्स क्लब छ, त्यसमा केही समय दिनुपर्छ । उमेरको बढ्दो क्रमसँगै पछिल्लो समय फिटनेसमा पनि ध्यान दिइराखेकी छु । बाँकी परिवारसँगै ।
तपाईंको सपना ?
गीत लेखन त म गरिरहेकी छु, मैले देखेको गायिका बन्ने सपना पूरा गर्न अझै बाँकी छ । त्यो पनि चाँडै पूरा गर्ने कोसिसमा छु । अरू धेरै सपना छैनन् मेरा । बच्चाहरू हुर्केपछि नेपाल फर्किएर संगीत र समाज सेवामा जीवन व्यतित गर्ने इच्छा छ ।
जिन्दगी के हो जस्तो लाग्छ ?
जिन्दगी संघर्ष र अनुभवहरूको यात्रा हो । हामी हाँस्छौँ, रुन्छौँ, सिक्छौँ, लड्छौँ र फेरि उठ्छौँ । कहिले खुसी, कहिले पीडा-दुवै मिलेर नै जिन्दगी बन्छ । कसैका लागि जिन्दगी सपना पूरा गर्ने बाटो हो, कसैका लागि परिवार र मायाको नाम । कसैका लागि संघर्ष, कसैका लागि सेवा । अन्ततः जिन्दगी बाँच्ने तरिका हो-आफूलाई चिन्ने, अरूलाई बुझ्ने र हरेक दिनलाई अर्थ दिने प्रयास । जीवनमा हरेक चुनौती पार गर्दै केही उपलब्धि पाए जस्तो ।
अन्त्यमा ?
गीत-संगीतकी प्यासी हुँ । म योबिना त जीवन सोच्न पनि सक्दिनँ । मेरो दुःख सुखको सारथी हो । कहिलेकाहीँ दर्शक-श्रोतामाझ मेरो सिर्जना पस्किन्छु । मिठो नमिठो कस्तो लाग्छ प्रतिक्रियाको आशा पक्कै गरेकी हुन्छु । हामीजस्तै परदेशिएकाहरू फर्किएर आफूले सिकेको सीप आफ्नै देशमा प्रयोग गर्ने वातावरण चाँडै बनोस् । देशमा स्थायी सरकार बनोस् । संगीत क्षेत्रको विकास होस् । सबैको कल्याण होस् । जय गीत जय संगीत ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच