पुरानो जमानाको कुरा हो कुष्ठ रोगी (कोह्री, कोरी) कोर्याहालाई पर लगेर घरबाट पर कुनै चौतारो/दोबाटो वा मूलबाटोको छेउमा कुटी, गुफा/पाटी वा छाप्रा बनाएर त्यहीँ राखीदिने गर्दथे । परिवारका मानिसले दिनको एकपटक खानेकुरा पानी लगेर दिने वा राखिदिने खानदिने या कोरीको आफैं पानी सारेर खानसक्ने वा नसक्ने अवस्था हेरी बन्दोबस्तका सामान लाने गर्दथे । कोर पनि थरीथरीका हुन्छन् भन्थे । कतिपयले १६ थरीको कोर हुन्छ पनि भन्थे । फूल्वा, झरूवा, पुत्ले, सरूवा, टाटेपाटे, अंगभंग अनेक थरीका कुरा गर्थे । पाकापुस्ताका मुखबाट सुने अनुसार सरकारी पूर्व–पश्चिम दौडाहाको मूलबाटोमा पर्ने मुक्तिखोलाको तीन चौतारेलाई पूर्व-पश्चिम मूलबाटो हिँड्नेहरू कोर्याहा चौतारा पनि भन्ने गर्थे । त्यहाँ धेरै अघिदेखि कुष्ठरोगीलाई कुटी बनाएर राख्ने गर्दथे किनभने मुलबाटो हिँड्ने बटुवाबाट दयामाया सहयोग होस् भन्नाका लागि पनि । अन्यत्र कतै कतै मूलबाटोको छेउमा कोर्याहा पाटी भनेको पनि सुनिन्थ्यो ।
काँधमा कसैले हात राखेर मधु तिम्रो सत्को परिणाम हो यो भनेकोले झसङ्ग झस्किएर फरक्क फर्किएर हेर्छिन त आफ्नै स्वामी फत्ते पहिले जस्तो थिए सर्लक्क जस्ताको तस्तै कान्तिमय रूप देखेकिले ए ! मेरो हजुर भनेर अँगालो मारिन् र हर्षको आँसु झारिन् ।
यसैगरी एउटा पहाडी माली गाउँका गणपति साहुका छोरा माइला मनवीर (फत्ते)लाई अचानक फुल्वापक्वा कुष्ठी रोग लाग्यो । गणपतिका चार भाइ छोरा माशिरा तिनै थिए । गाउँका सबैले इनेगिनेका मान्नेगुन्ने सबैका सहयोगी कुनै पनि काम फत्ते गरेरै छाड्ने भएकाले मनवीर/माइला भन्नुभन्दा सबैले पछिपछि फत्ते माइला फत्तेमात्र भन्न थाले । साह्रै बेस मान्छे थिए फत्तेमाइला तर तिनैलाई कुष्ठी रोग लागेर गाउँबाटै पन्छाउनु पर्दा उनको घरपत्नी माधुरीमात्र होइन गावै बहुतै दुखित भयो । तर केर्नु मान्छे राम्रा बानी बेहोर राम्रो भएर बेथाले गाँजेपछि मान्छे त राम्रै हुन् बेथै नराम्रो भयो हिजो गाउँभरिका आडभरोसाका मान्छे आजाउलाई आडभरोसादिने कोही भएन तर मूलको पानी, कुलको नानी ।
मूलको धारा, कूलका छोरा भनेझैं पीडामा पत्नी, सुखमा स्वास्नी । जसको साथमा छ आइमाई, उसका दुःख परपर जाई भने झैं माइला कि श्रीमती यस्ती परिछन् कि १२ वर्षको छोरा र दश वर्षकी छोरी दुईटाको हात समातेर लगेर सासू र ससुराको हातमा सुम्पँदै भनिन् मेरा स्वामी पर्गलिएर पर बस्ने म घरमा सुखसुविधा भोगेर बस्न सुहाउँदैन म त्यसरी बस्दिन उहाँलाई जहाँ राखिन्छ म त्यहीँ साथमा बस्छु । जे होस् मलाई पर्वाह छैन जुन गति पतिको सोही गति पत्नीको । यी दस बाह्रका नाबालक सन्तान हजुरहरूको जिम्मा लगाएर मेरा पतिदेव जहाँ म त्यहीँ जान्छु । हजुरहरूले यी लालाभूलाको जिम्मा लिनुहोस् मलाई नरोक्नु होस् ।
यति सुनेपछि फत्तेले भने माधुरी तिमी त्यसो नभन यी दुई सन्तानका लागि बाउ र आमा दुवै भएर बस जिद्दी नगर भनेको सुनेर भनिन् मूलालाई डोब कसैले खन्दैन हजुर त्यसमा पनि बालबच्चाका लागि हजुरबा र हजुरआमा जत्तिको मायावी अरू हुँदैन । त्यसैगरी हजुरबा आमाका पनि नातिनातिना हुन् । तीभन्दा प्यारा छोराछोरी हुँदैनन् हजुर लहन लाउने साहुले ब्याज पाएपछि सावाँ नखोजे झैं नातिनातिना पाएपछि छोराबुहारी खोज्दैनन् । त्यही भएर भन्छन् सावाँभन्दा ब्याजको माया धेरै’ तसर्थ तपाईंसँग म, मसँग तपाईं । नानीबाबु बाआमासँग ।
यति कुरामा हजुरले नाइँनास्ति गरे म मेरो जिउको माया गरेर बस्दिन । स्वास्नीले किन भनि यसो सोच्नु होला ? पतिको साथ रहने भएर, पतिको सतमा रहने भएर र मर्दा सँगै चितामा जाने भएकाले पत्नीलाई सती भनिएको हो । त्यसैले म सती हँु साथमै जान्छु यत्ति सबैले बुझिदिनुहोस् । कोही बोल्न सकेनन् तब गणपति बा बुढाले आँखा रसिलो पार्दै नातिनातिनीलाई अँगालो हाल्दै भने ठीकै भन्यौ बुहारी म बाँचुन्जेल यिनको जिम्मा मेरो भयो । ए ! ठूले किन बा ? जा भाइहरूलाई र अरू मान्छे बोलाएर खान बस्न मिल्ने र सुरक्षित झ्याल ढोका राखेर एउटा कुटी त्यहीँ मूलबाटाको छेउको इजारबारीमा बनाइदेओ किनभने यहाँबाट र त्यहाँबाट बोलाएको पनि सुनिन्छ । हुन्छ बा । ल हिँड भाइ हो भन्दै जेठा बाटो लागे । पछि पछि अरू ।
केही दिनमा पूरा तयारी भयो दुईचार दिन आगो फुकेर घर धुवाँएर तताएर सबै एकसरो खाने बस्ने सुत्ने फाल्ने प्रबन्ध मिलाएर श्रीपञ्चमीको दिन रुँदैरुँदै छोराबुहारी कुटीमा पठाए नमिठो र गह्रुंगो मन लिएर । फत्तेले भने कोही पनि दुःख नमान्नु म मरिगएको त होइन नि बेथा पो लाग्यो त कोही नरुनु म गएँ कुटीमा भनेर बाटो लागे । यता गणपति पिडीँको खाटमा घोप्टो परेर घककुक्क घककुक्क गर्न थाले । बुढीभित्र हे भगवान यो उल्टो के गर्यौ भनेर मजेत्राले मुख छोपेर मुलओच्छ्यानमा क्वककाक्व रुँदै घोप्टिइन् । यो सबै देख्ने सुन्ने र जम्मा भएका गाउँले छिमेकी सबै आँखामा आँसु नलिने कोही भएन । सबै भक्कानिँदै घरघरतिर लागे । कस्तो दिन पनि यही मान्छेको जुनीमा आउने है ? भनेर महटारे साइलो आँसु पुछ्दै फत्तेको पछिपछि खाट बोकेर ओरालो लाग्यो ।
झण्डै दश महिनाफत्ते र माधुरीले तेही कुटीमा समय बिताए । दशैँ जसोतसो बित्यो । लगत्तै दोस्रो ठूलो चाड तिहार आयो । गाउँघरका गृहस्थीले एकादशीको दिनबाटै तिहार सुरु भएको मान्न्थे । घाट जाने नुन ल्याउने एकादशी भन्ने गर्दथे । किनकि गाईवस्तुलाई खुवाउने पिँडो बनाउने भोटेनुन त्यही दिन किन्नैपर्ने चलन थियो । तिहारको सुरुवातदेखि नै माधुरीले पनि कुटी सफा राख्ने र तिहारमा कुटी उज्यालो पारिराख्ने चोखो खाने खुवाउने चोखीनीति आचारबिचार गर्दै आइन् । जब लक्ष्मीपूजाको दिन आयो बिहानैदेखि नुहाई धुवाई गरिन् पति फत्तेलाई पनि नुहाएर सफा बनाइन् शुद्ध गराइन् ।
भनिन् हजुर आज व्रत बस्न सक्नुहुन्छ भने ब्रत बस्नुस् सक्नुभएन भने पनि म खाना बनाएर राखिदिन्छु नसके खानुहोला हुन्छ ? तिमी त्यसो भन्छ्यौ भने हुन्छ नि म पनि बस्छु, सक्छु होला आँटेपछि दैवले पुर्याउँछु मधु । दुवैजना सल्लाह गरेरै लक्ष्मीको व्रत बसे । लक्ष्मीपूजाको दिन सबैतिर साँझमा दीपमालिका गरे । दीपावली मनाएर भुराहरू गाउँमा देउसी भैलो खेलेको कराएको आवाज सुनिइरहेको थियो तर फत्ते र माधुरीको कोर्याहा कुटीमा कुष्ठी सर्छ भनेर कोही आउने कुरै भएन । मनमनमा आज पो पर्गलियो भने जस्तो लाग्यो तापनि माधुरीले लक्ष्मीको आह्वान गरेर साँझको मूलदियो जलाइन् । केराको सुप्लाको दियोमा दैलामा, आँगनमा, पिँडीमा, भित्र चारै कुनामा बत्ती बालिन् ।
अनि एक हातमा लट्ठी र अर्को हातमा केराको सुप्ला लिएर सुप्लामा लौरोलो ठटाउँदै दरिद्री देवीलाई लखेटिन् (जुन घरमा कुनाकानी फोहर र अँध्यारो हुन्छ त्यो ठाउँमा लक्ष्मी बस्दिनन् दरिद्रीदेवी बस्छिन् तिनले रोग, अनिकाल, महामारी ल्याउँछिन्, अभाव बनाउँछिन्) त्यसैले उज्यालो बनाएर लक्ष्मीपूजाको दिन दरिद्रीदेवीलाई लखेट्ने चलन भएकाले माधुरीले पनि लखेटिन् । त्यसपछि मझेरीमा केराको सुप्लाको डुँडमा कुलदेवता, वायु देवता, पाञ्चायन, बास्तु, गौडी, सारा देवी देवता, नाग, भुमे, स्थानी, तीर्थ सबैलाई सम्झी सम्झी एकएक जोर बाल्दै दिँदै गरिन् ।
(जोर किन ? फत्तेले भने । सुन्नु दुइटा नभई जोर हुँदैन जोर नभई एक गणना हुँदैन । जोर भए बल्ल एक हुन्छ । त्यसरी नै जोर गनेर एक लाख दश हजार र त्यसको पनि दसौंदी लाउँदा ११ हजार हुन आउँछ जुन आठम् बाह्रम् पर्न जाँदा एक लाख बाह्र हजार हुने भएकाले बरू एक हजार थपी एक लाख तेह्र हजार बनाएर लाखबत्ती बाल्नुपर्ने लोकाचार, शास्त्राचार, देशचार र कुलाचार रहिआएको छ ।) । अन्तिममा अर्सलबिर्सल भए लौ है भनिन् र बालिन् बीचबीचमा फत्तेले पनि सम्झाई सहयेग गरे । आज सुखरात्रि भएकाले मध्यरातमा सबैतिर चकमन्न शान्त भएपछि माधुरीले लक्ष्मीको पूजा गर्न थालिन् ।
आफ्नो संस्कार आचार कुलाचार अनुसार लक्ष्मी (सरस्वती, काली ) गणेश, कुबेरको आराधना गरी त्येतिखेर गच्छेनुसार साथमा जे थियो त्यही द्रव्य गहना राखी पूजा गरिन् । आफ्नो शुद्धासनबाट पतिलाई पनि पूजा गराईन् । आफू रातभर लक्ष्मीको भजनकीर्तन र प्रार्थाना गरेर जाग्रम बसिन् । पतिदेवलाई सोधिन् हजुरलाई भोक लाग्यो होला ? अब मैले बनाई दि इराखेको यी खानेकुरा खानुहोस् । तपाईं निरस भएर लड्नुभयो भने म के गरूँला ? हुन्छ अब लक्ष्मीमातालाई पुकार्न उनकै प्रसाद स्वरूपयी चोखो फलाहार गर्नुहोस् र सुत्नुहोस् भनिन् ।
माधुरीले भनिन् धन्य हौ लक्ष्मी माता तिम्रो जय मनाउँछौं । तिम्रै शरण तिम्रै चरण पर्छौं । सबै आपसमा भन्दैथे देउदेवताले दिए नहुने नपाउने के छ र है । हर्ने भर्ने उनै त हुन् । आजतक पनि त्यतातिर लोकले भन्ने गरेको सुनिन्छ ‘लक्ष्मी पसिन् कोरीको कुटीमा, धन पर्यो माधुरी मुठीमा’।
मधु ! हेर तिमीले किन चिन्ता गरेकी मलाई अहिलेसम्म न भोक छ न आलश्य खोइ किन हो ? उनै लक्ष्मीको कृपा र शक्तिले अनि तिम्रो धर्मले त होइन ? नत्र किन आज पहिलेकै जस्तो सारसौंदो छु । त्यसैले म पनि तिमीसँगै निलाहार बसे हुन्न ? आधारात पनि घर्किसक्यो । भोलि बिहान सँगै खाउँला नि हुन्न ? तीस घडीको रात बीस घडी बितिसक्यो होला अब उज्यालो हुन दशै घडी त होला ? म पनि जाग्रामै बसेँ भने तिमीलाई पनि त मुखबोला साथी हुन्छु । निद्राले दावा गर्न सक्दैन जागा बस्न सक्छ्यौ कसो लौ भन ? ए ! हजुर तपाईं नै त्यसो भन्नुहुन्छ भने म के भनूँ ? हजुरको जो मर्जी मेरो नीति त्यही अर्ति ।
हस् सक्दासम्म बस्नुहोस् नसके बल गरेर नबसौँ है हजुर फेरि ‘गृहराखी दान, आत्मा राखी धर्म’ लोकवेदले भनेको छ त्यसैले हजुर आफैं-आफैंमा निर्णय लिन सक्नुहुन्छ म त साथ कि साथी र इमान्दार साक्षी न हँु । क्या वात् ठीक भन्यौ तर मधु ! तिमी मेरो साथी साक्षी मात्र होइनौ मेरो जीवनको आधार र साहारा पनि हौ र त म यो समाजमा मरेर पनि बाँचेको छु । भयो भयो त्यति भावुक नहुनुहोस् । छातीमा ताप बढ्छ, घाउहरू पोल्न थाल्छन्, त्यता नजाऊँ बरू म लक्ष्मीको भजन गाउँछु तपाईं पनि स्वरमा साथ दिनु बाँकी अब यो चौथो प्रहरको रात पनि सहजै मातालक्ष्मीका कृपाले कटिहाल्छ भनिन् ।
मधुले लक्ष्मीको भजन थालिन् । भजन गर्दागर्दै रात बितेछ पूर्व उज्यालो भइसकेछ भजनमै दम्पत्ती लिप्त रहेका बेला अचानक बाहिरबाट आइमाई मान्छेको मसिनो आवाज आयो माधुरी ढोका खोल, माधुरी ढोका खोल ? उज्यालो हुनै लाग्यो छिटो ढोका खोल भनेको सुनेपछि भजन गर्दागर्दै उठेर ढोकामा पुगेर नडराई ढोका पूरै खोलिन्, मान्छे देखिनन् तर कोहीभित्र पसेको हल्का आवाज भने उनलाई आभास भयो । एकै चोटि कराइन् लक्ष्मीमाता हजुर गरिब कोरीको कुटीमा आउनुभयो मैले दर्शन पाएँ अब मुक्ति पनि पाऊँ माता भनेर । फत्ते अक्क न बक्क भएर टुलुटुलु बत्तीमा हेरिरहे तर शरीरमा सरर केही हिँडे जस्तो कसैले हल्का मसारे जस्तो अनुभव गरे तब जिउसिरिङ्ग भयो । हल्लिए र भने मधु हामीलाई लक्ष्मीमाताको कृपा भयो ।
यत्तिकैमा आकाशवाणी भयो, ‘हामी लक्ष्मी, सरस्वती, काली तीनै बहिनी यो संसारमा आज कस्तो के छ भनी खोजी हेरी हिँड्दा कसैले ढोका खोलेनन् तर तिमीहरू खुलामात्र राखेनौ पूरै ढोका खोलेर हामीलाई स्वागत गरेकाले तिम्रा कुटीमा प्रवेश गरायौ किनकि हामीले उज्यालो हुनुअघि नै हाम्रा भक्तका साथमा पुग्नुपर्ने हुनाले तिमी नै हाम्रा परम् भक्त भएकाले तिमीहरूले मागेका बर हामीले दिइसकेका छौँ, पाइसकेका छौ लौ हामीलाई होइन अब आफैँलाई हेर त भनेको आवाज सपना हो कि विपनाजस्तो भयो । मधु बाहिर निस्किएर चारैतिर हेरिन् उज्यालो भइसकेको छ । आफ्नु आर्को चिनिन्छ तर कोही देखिनन् ।
काँधमा कसैले हात राखेर मधु तिम्रो सत्को परिणाम हो यो भनेकोले झसङ्ग झस्किएर फरक्क फर्किएर हेर्छिन त आफ्नै स्वामी फत्ते पहिले जस्तो थिए सर्लक्क जस्ताको तस्तै कान्तिमय रूप देखेकिले ए ! मेरो हजुर भनेर अँगालो मारिन् र हर्षको आँसु झारिन् । अँगालोबाट मधुलाई छुटाएर भने प्यारी तिम्रो सतीशक्तिले चमत्कार भयो अब नरोऊ हाम्रा दुःखका दिन गए । बरू हाँस र यज्ञ समापन भक्तिपूर्वक गरौँ ।
दुवैले धारामा गएर नित्य स्नान गरेर आए जपतप गरे । तब लक्ष्मीमातासहितको पूजा प्रार्थाना भजन गरेर लक्ष्मीपूजा बिसर्जन गरे । पूजाको निर्मल लगेर धाराको छेउमा बिसर्जन गरेर कुटीमा फर्के । कुटी भएको ठाउँमा चमत्कार पो भो विशाल महल हवेली बगैंचासमेत देखेर आँखा तिल्मिलाए । आँखा पुछेर हेरे हो साँच्चै लक्ष्मीले दिइन् भने भक्तले नपाउने कुरा के छ र ? दुवैले हर्षाश्रु बहाउँदै लक्ष्मीमाताको स्तुतिगान गर्न थाले । गणपतिबा लक्ष्मीको प्रसाद लिएर आउनुभएको देखेर फत्तेले हातमा प्रसाद राखिदिएर पाउमा शिर राखे, माधुरीले शिर निहुराएर ढोग गरिन् । यी छोरा बुहारीको तेजिलो रूप देखेर बाको वाक्यै फुटेन बल्ल हातको प्रसाद देखाउँदै भने हे भगवती माता लक्ष्मी तिम्रो कृपाले रोग, भोक र शोक सबै निवारण भयो, माता सधैं तिम्रो कृपा रहिरहोस् है भनेर छोरालाई अँगालो मारेर हर्षले रोएको देखेर बुहारी माधुरीले भनिन् ।
ससुरा बा हो लक्ष्मीमाताकै कृपा हो बिहानीपखद र्शनमात्र होइन यो सब वैभव चमत्कार दिएर गइन् । जय लक्ष्मीमाता भनेर हात जोडिन् । माधुरी लक्ष्मीमाताले प्रत्यक्ष दर्शन दिएको कुरा भुलेर पनि अब आइन्दा कसैसँग नगरे है । हवस् । हवस् । यति बेरमा त फत्ते माधुरीको महलमा गाउँले केटाकेटीहरूको भिडले खुट्टा हाल्ने ठाउँ पनि नहुने गरी जम्मा भए । माधुरीले भनिन् धन्य हौ लक्ष्मी माता तिम्रो जय मनाउँछौं । तिम्रै शरण तिम्रै चरण पर्छौं । सबै आपसमा भन्दैथे देउदेवताले दिए नहुने नपाउने के छ र है । हर्ने भर्ने उनै त हुन् । आजतक पनि त्यतातिर लोकले भन्ने गरेको सुनिन्छ ‘लक्ष्मी पसिन् कोरीको कुटीमा, धन पर्यो माधुरी मुठीमा’।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम