भएकोभन्दा अलग, चलेकोभन्दा भिन्न, देखिएकोभन्दा फरक, अनुभूत भएकाभन्दा परको सत्य, समुद्घाटन भएको क्षितिजबाट गर्नु नै सच्चा सिर्जनात्मक सोचको उपल्लो सिँढी हो । उसको क्रमबद्ध निरन्तरको विश्वस्त यात्रा नै सिर्जनात्मक शृङ्खलाको पहिलो तला हो । चाहे आख्यान होस् चाहे निरपेक्ष आख्यान कम बढीमात्र हो तर दुवैको उचाइ यही अविदित खोजको निरन्तर यात्रा हो । यो वर्तमानबाट सुरु हुन्छ । अतीतको सेरोफेरोमा फैलिन्छ र जम्मैभन्दा अलग समाजको, शासनको, सत्ताको, व्यवस्था र व्यवस्थापनको अन्तरघोषित आग्रहमा रमाउँछ ।
नयाँ वैचारिक/सामाजिक यथार्थ धरातल स्थापनाको खोज यस कृतिको नितान्त मौलिक प्राप्ति हो । अन्धविश्वासी परम्परागत भेडेपनविरुद्ध अघोषित कार्यिक विद्रोह यसको अर्को विश्वसमाजकै सन्दर्भमा धनात्मक उपलब्धि हो भने अन्धपरम्परालाई जस्ताको तस्तै शिरमा राखेर विश्वासको बुटी बनाउने नेपाल र भारतजस्ता सामाजिक देशका लागि यो चौडा नवपथ प्रदर्शक हो ।
जे छ त्यसकै पछि लागेर लेख्न पाइन्छ र हुन्छ तर त्यसको अन्तर अस्तित्वको अर्थ रहन्न । नयाँ दिन नसक्नुको औचित्य सङ्ख्या दियाइभन्दा उता रहन्न, रहेको छैन पनि । आदर्शको उचाइ उक्लनेहरू कल्पनात्मक वायुयान उडेर छुट्टै नयाँ संसारको क्षितिज उघार्छन् । त्यो उत्कृष्ट कला सामथ्र्यको संसार बनेर मुस्कुराउँछ । त्यसको भाव सङ्गममा पौडिनु भनेको नै उच्च कलाको सुधामृत पिउनु हो । अलग संसारको सयरमा पखेटा फट्फटाउनु हो । आख्यानात्मक संसारमा रुद्रराज पाण्डे, केही हदसम्म गुरुप्रसाद मैनाली, बीपी कोइराला, विजय मल्ल, गोविन्दबहादुर गोठाले, पारिजात, पोषण पाण्डेसम्मले पनि यसलाई आधार बनाएको हामी पाउँछौँ । मनोआदर्शको उच्च कलात्मक परिधिमा यी लगायत भवानी भिक्षु र इन्द्रबहादुर राईसमेत मजाले उभिएका छन् ।
अर्को यथार्थ वर्णनात्मक/आख्यानात्मक लेखनको धरातल छ जसमा देखिएका/भोगिएका/अनुभव गरिएका परम्परित मान्यताका आधारमा आइरहेका वस्तुगत कुरालाई कथा वा उपन्यासका माध्यममार्फत अभिव्यक्त गर्ने साहित्यिक लेखनधार छ । यस लेदनधारमा रहेर पनि अलग अनुपम, साहसी निर्णयात्मक क्षमताको निर्भीकताका साथ प्रस्तुति दिने आख्यानकारका रूपमा देखिन्छन् प्राडा.अर्जुनदेव भट्ट ।
भट्टको प्रकाशित भएर बजारमा आउन लागेको औपन्यासिक कृति हो-‘मेटामर्फोसिस’ । नाममै अनौठो र नयाँ झलक दिने यस शीर्षकमा अनेक अर्थ लगाउन सकिन्छ । वास्तविक अभिधा अर्थमा यो एक किसिमको किरो हो । यसै अर्थमा प्रयोग गरे पनि अर्थिने अन्य अर्थमा लगे पनि अर्थिने शीर्षक बनेर यो कृति हाम्रासामु आएको छ । साहित्यिक अर्थमा यसले व्यापक परिधि परिभ्रमण गर्दछ । नयाँ वैचारिक/सामाजिक यथार्थ धरातल स्थापनाको खोज यस कृतिको नितान्त मौलिक प्राप्ति हो । अन्धविश्वासी परम्परागत भेडेपनविरुद्ध अघोषित कार्यिक विद्रोह यसको अर्को विश्वसमाजकै सन्दर्भमा धनात्मक उपलब्धि हो भने अन्धपरम्परालाई जस्ताको तस्तै शिरमा राखेर विश्वासको बुटी बनाउने नेपाल र भारतजस्ता सामाजिक देशका लागि यो चौडा नवपथ प्रदर्शक हो ।
उपन्यासको सुरु नै कौतुक वा कौतुहलपूर्ण विषयबाट भएको छ । अन्धविश्वासका ठेकेदारहरू कलिला बालबच्चा जो बाबुआमाका काखमा सौन्दर्यका मुस्कान मुस्कुराउँछ, मुस्कुराएकै थिए । सात वर्षकी जेठी छोरी, पाँच र दुई वर्षका दुई छोरालाई सङ्केतसम्म नदिई एकाबिहानै अर्थात् छोराछोरी बिउँझनुअघि नै भाइबुहारीको जिम्मा लगाउने सानो सतही औपचारिकता चाहिँ पूरा गरेर भारततिर ढुङ्गे मन्दिरको पूजाबाट पाइने कथित ईश्वरको खोजमा निस्कन्छन् काखका कलिला ईश्वरलाई धुलामा फालेर ।
बाबुआमा यसरी हिँडेको काका प्रेमबाट थाहा भएपछि उनीहरूका आर्त कारुणिक कथन र चित्कार साँच्चै मानव संवेदनाका सागर बनेर छचल्किएका छन् । अब के होलाको कौतुहल स्थिति सुरुमै सिर्जना गराएर उपन्यासकार प्राडा.अर्जुनदेव भट्टले बालमनोविज्ञानमार्फत भावकलाई चुम्बकले फलाम तानेझैँ कृतितिर आकर्षित गराएका छन् । औपन्यासिक कथावस्तुको सुरु पात्रका तहमा बालजगत्बाट हुन्छ भने पारिवेशिक हिसाबले नेपाल भारतको व्यापक भूगोल साङ्केतिक भएको छ ।
लालाबाला सह्यार्ने मानसिक अवस्था सिर्जना गर्दै गरेका काकाकाकी-प्रेममायाको गतिविधिमा उपन्यासको विकास/विस्तार मजाले अघि बढ्छ । एकाएक दाजुभाउजू चढेको गाडी दुर्घटनाको खबर छिमेकीले सुनाउनासाथ उपन्यासको औपन्यासिक कलात्मक चरम बिन्दु देखा पर्दछ । सनाखतका लागि देवर वा भाइ प्रेम जानु, क्षतविक्षत कुरूप लासका रूप देखेर डि.एन.ए परीक्षणपछि बँचेखुचेका मांशपिण्ड र हड्डीका टुक्रा लिनका लागि लाम बस्नुको औचित्यमाथि प्रेमका एकपछि अर्को प्रश्नहरू लाम लाग्नु र लिनुको औचित्य निरर्थक सिद्ध भई मर्नेका टुव्रmाभन्दा बाँचेका लालाबालाको मनोगतिलाई ठिकसँग अगाडि बढाउनु परिवर्तित समयको माग भएको निष्कर्षमा प्रेम पुग्नु नितान्त नयाँ परम्पराको उद्घोष हो ।
नाराले नभई, सभाजुलुसले नभई, गुलिया वचनले, करुणाका आँसुले तिर्पन्ताम्का डल्ला शिरमुण्डन गरेर खोलामा बगाउने विद्रुप दुर्गन्धे परम्पराको विरुद्ध मौनताका साथ कार्यरूपमै प्रेम र माया अगाडि सरेर परम्परागत सामन्ती पुरेतलाई दक्षिणाले पोस्नुको साटो चेतना जागृति र कार्यक्षमता अनि सीप विकासको बलबुतालाई निरन्तर अघि सार्ने प्रेम मायाको सङ्कल्प उपन्यासको उच्चत्तर प्राप्ति हो ।
छोरी ललिता, छोराद्वय-गोकुल र पदम जसलाई छाडेर गएका बाबुआमा अन्धविश्वासको गाडी दुर्घटनामा समाप्त भए ती अभिभावकविहीन बाबुआमा गुमेका बालबच्चाको रेखदेख महत्वपूर्ण हो कि अन्धविश्वासी यात्रामा मरेका बाबुआमा वा दाजुभाउजूका नाममा शोकसन्तप्त हुँदै नचाहिँदा काममा कर्मका गतिलाई बन्द गर्ने ? यस महत्वपूर्ण प्रश्नको उत्तरमा गतिशील कर्मचाहिँ निर्णय बनेर प्रेममायाले कार्य रूपमा अगाडि सार्दै अन्धविश्वासी पिण्डे परम्पराको समाप्ति मनसावाचाकर्मणा लेखक प्राडा.अर्जुनदेव भट्टको जीवनगति पनि हो र यस कृतिमा यस लेखकीय सर्वपक्षीय समग्रको प्रतिनिधित्व गरेर देखा परेका छन् प्रेम पात्र ।
वैचारिक सैद्धान्तिक आडमा विकृत अन्धपरम्पराविरुद्धको कार्यिक अभियान वाम विचारको मूल एवं खास सच्चा यथार्थवादी जग पनि हो । नेपालका त कुरै छाडौँ विश्वकै वामविचारमा जीवनयात्रा गर्ने नेताहरू, कार्यकर्ताहरू, बुद्धिजीवीलगायत कोही पनि सही बिन्दुमा उभिएको पाइन्न । डाक्टरी पेशाामा मन, वचन र कर्मसमेतले समर्पित वरिष्ठ युरोलजिष्ट प्राडा.अर्जुनदेव भट्टमात्र म यस जगमा उभिएको पाउँछु । साधा जीवन र उच्च विचारका एक स्तम्भका रूपमा परिचित कथाकार, कवि, उपन्यासकार, निबन्धकार, आत्मवृत्तान्तकारका रूपमा समेत परिचित प्राडा.अर्जुनदेव भट्टका विषयमा आफूले यात्रा गरेका विश्वका विविधस्थल, अध्ययन गरेका संस्था, पेशामा संलग्न अस्पतालहरू देखा पर्दछन् । बिमारी उनका कृतिका पात्र हुन् । यिनै पात्रभित्र रहेका संवेदनालाई यथार्थ प्रस्तुतिको सहायतामा साहित्यिक धरोहर खडा गर्नु प्राडा.अर्जुनदेव भट्टको इन्द्रियगत सर्वसन्तुष्टि हो ।
पुराना अन्धसंस्कारप्रतिको मौन घृणा र नयाँ समसापेक्षित कार्य गराइ, संस्कार लियाइ र संस्कृतिसंवाहक राष्ट्रिय ध्वनि अर्थात् देशभक्तिको कार्यिक समर्पण प्राडा.अर्जुनदेव भट्टका हरेक कृतिका दृष्टिबिन्दु बनेर देखा परेका पाउन सक्छौँ । यो कृति मेटामर्फोसिस यसै दृष्टिबिन्दुको अझ टड्कारो, अझ परिष्कृत, अझ माझिएको कृति हो ।
जीवित ईश्वरीय कलिला मुनालाई छलेर मूर्तिपूजामार्फत प्राप्त गर्न खोजेको कथित ईश्वरको अविदित यात्राका यात्रीप्रति उपन्यासकार कठोर छन् । अव्यक्त घृणा गर्दछन् र श्रोतापाठकलाई पनि त्यस परम्पराको प्रक्षालन मनदेखि नै सहज रूपले निर्णयात्मक गहिराइमा पुगेर गर्न उपन्यासकार प्राडा.अर्जुनदेव भट्ट कलात्मक आग्रह गर्दछन् । प्रेम जो मृतकको भाइ देवर हो यसको सगरमाथा जस्तै बलियो खम्बा बनेर देखापरेको छ । डि.एन.ए.को डल्लो लिन प्रक्रियागत लामो लाममा जाम नलाग्नु यसको उदाहरण हो । ऊ आफूले गरेका विकृत अन्धपरम्पराविरुद्धको सोचमा अलिकति पनि विचलित छैन । पत्नी मायालाई यसै उचाइमा बिस्तारै उचाल्छ । एकाएक गरिएका कुनै पनि विद्रोहले स्थायित्व पाउन्नन् ।
यो चेतनको जग लेखक आफैँमा जराजस्तै बनेर फैलिएको छ जसलाई न कसैले तानेर तानिन्छ न टुटाएर टुट्छ, न छिनाएर छिन्छ । बरू विस्तारै मृतकका दुई छोरा-गोकुल, पदम र एक छोरी ललितामा समेत सञ्चरित गराउँदै जान्छन् प्रेम अनि माया । यो नवीनतम चेतनाका परम्पराविरोधी झिल्काले जिउस दरबार आगोझैँ बल्छ । धराधारका जनमानसमा हिम्मतका साथ निरङ्कुश आपराधिक बाबु जिउसको दरबारका द्वार फोडेर वितरण गर्ने प्रमिथस भएझैँ नेपाली उपन्यासका माध्यमले नवचेतनाको अगुल्टो बाँड्ने काम कृतिका रूपमा मेटामर्फोसिसले गरेको पाइन्छ भने व्यक्ति लेखकका रूपमा कृतिकार प्राडा.अर्जुनदेव भट्टले नयाँ धारको मुहान निस्केर झर्नाका रूपमा खोलाकिनारका हरिया झारजस्ता तर अन्धसंस्कारले मृतकका पिण्डदानमा धर्मका आँखा उघारेका नेपाली जनमानसमा नयाँ चेतनाको शीत छर्न सफल कृतिकार प्राडा.अर्जुनदेव भट्टलाई साधुवाद सुम्पन्छु ।
लेखक डा.अर्जुनदेव भट्ट नारीप्रति अत्यन्तै कोमल हृदय राख्ने लेखक हुन् । कठोरभन्दा कठोर नारीप्रति पनि चाहिँनेभन्दा बढी कोमल हुनु अन्य कृतिका आधारमा भन्ने हो भने उनको विशेषता नै हो । नारी सशक्तीकरणको नारा दिने नेता, समाजसेवी, अझ सामान्य अवस्थाभन्दा माथि उठेका नारीहरू नै छन् यस देशमा ।
पद्य लेखनतिर महाकवि लक्ष्मीप्रसाद देवकोटाले यसको सुरुवात विसं २००३ मा नै गरेका थिए । सुलोचना महाकाव्यमा तिमिरमर्दन, अरिमर्दन, चण्डमर्दनका नास्तिक दार्शनिक वकालतमा यसका गहन वहस भएका छन् । आख्यानका क्षेत्रमा पनि निकै आख्यानकारले कुनै न कुनै पात्रलाई माध्यम बनाएर यसको झड्का दिन खोजेको पाइन्छ तर सम्पूर्ण कृति नै यसै विचारलाई केन्द्रबिन्दु बनाएर सुरुदेखि अन्तिमसम्म यसकै वकालतमा अन्त्य गरिएको चाहिँ मेरो जानकारीमा यो नै हो । यसर्थ पनि अन्ध परम्पराको समाप्तिका लागि यो एक कोशे ढुङ्गाका रूपमा उभिएको तथ्य इतिहाससम्मले सिद्ध गर्दछ । नयाँ विचारको चुल्ठी एकपछि अर्को गर्दै सफलताका अग्रिम पाइतालामा एक सिङ्गो पुस्तालाई नै उभ्याउन सक्नु लेखकको निर्णयात्मक वैचारिक अन्तर सङ्कल्पको उदाहरणलायक कृति हो यो ।
कोराभित्र किरियामा झुमेर कलिला मस्तिष्कमा लामो समयसम्म शोकाकुल अवस्थाको सिर्जना गरी भित्री ऊर्जालाई निरासाका पल्ला किनारामा पुर्याउँदै लङ्गडो बनाउने धार्मिक ठेकेदारलाई मजाले झापड दिनु यस कृतिको उपल्लो भावको चमत्कृति हो । पदमलाई के गर्छस् बाबु ? भनेर सोद्धा सजिलैसँग आफू मेसिनको पार्टपुर्जा बनाउँछु भन्ने उत्तरमा अस्तित्ववादको अग्लो सगरमाथा खडा भएको छ । धेरै पढेर इन्जिनियर, डाक्टर, प्रोफेसर, नेता, मन्दिरको पूजारी, गुम्बाको लामा, मस्जिदको मुल्लाह, चर्चको पण्डा बन्छु भन्ने अधिकांश मान्छेका सपनाका महल भत्काएर आफू पढेलेखेर पनि सामान्य श्रमिकको काममा रमाउने इच्छा जानेर होस् वा अनजानमै होस् पदमको यो आशय अस्तित्ववादी दर्शनको उत्कृष्ट उदाहरण हो ।
लेखक डा.अर्जुनदेव भट्ट नारीप्रति अत्यन्तै कोमल हृदय राख्ने लेखक हुन् । कठोरभन्दा कठोर नारीप्रति पनि चाहिँनेभन्दा बढी कोमल हुनु अन्य कृतिका आधारमा भन्ने हो भने उनको विशेषता नै हो । नारी सशक्तीकरणको नारा दिने नेता, समाजसेवी, अझ सामान्य अवस्थाभन्दा माथि उठेका नारीहरू नै छन् यस देशमा । विश्वका अनुपातमा हेर्ने हो भने नेपाल नै यस्तो देश हो जहाँ प्राक् इतिहासदेखि नै नारीहरू सर्वतन्त्र स्वतन्त्र छन् । यस कृतिमा भने लेखक आफैँ समावेश नभई नारीहरूलाई स्वस्फुर्त रूपले मैदानमा खटाएर सङ्घर्षरत रही श्रम एवं आफ्नै पुरुषार्थका माध्यमले अग्रगमनको अनौठो लडाइँमा आफैँ होमिन लगाएका छन् । तीन जना जेठानीजेठाजुका लालाबाला समालेर, उनीहरूलाई चेतनाका उज्याला दिलदीप जलाउन लगाउँदै बाहिरी जगत्मा पनि उत्तिकै संलग्न भएकी माया यसको राम्री उदाहरण हुन् ।
नयाँ मार्गावलम्वनको यात्रा, श्रमसङ्घर्षको आफ्नै अनुहारका गति, पुराना समाजमा आवश्यक तर अहिले गलित/स्खलित प्रचलनविरुद्धको कलात्मक विद्रोहको कर्मशील गति, परिवर्तन मुखले होइन, नाराले होइन, आश्वासन र खोक्रा आलापले होइन आफ्नै अन्तक्र्रियात्मक निर्णय शक्तिले गर्नु अबको आवश्यकता हो भन्ने सूक्ष्माख्यानमा यस उपन्यासभित्रका उपन्यासकार देखिन्छन् । यसरी अत्यन्तै जड् भएर रहेको अन्धविश्वासी परम्परा विरुद्ध उभिने प्रा.डा अर्जुनदेव भट्टलाई मुरी बधाई दिँदै यस्तै खाले अझ नौला एवं आयामगत अझ ठूला पनि कृति आउने अपेक्षाका साथ अक्षरको खेती यहीँ मैजारो गर्छु ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच