काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत तथा मेला आजदेखि सुरु भएको छ । पौराणिक, ऐतिहासिक र धार्मिक महत्व बोकेको शंखरापुर नगरपालिका–साँखुस्थित शालिनदी क्षेत्रमा व्रतको पहिलो दिनदेखि नै श्रद्धालु भक्तजनको उल्लेख्य भीड देखिएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घर–घरमा एक महिनासम्म विधिपूर्वक गर्ने स्वस्थानी व्रत आज औपचारिक रूपमा आरम्भ भएको हो । यस अवधिमा स्कन्द पुराण अन्तर्गत केदार खण्डको माघ माहात्म्यमा वर्णित कुमार र अगस्त्य ऋषिबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आजैदेखि सुरु गरिएको छ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने यो व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्नेछ । माधवनारायणको व्रत बस्ने व्रतालुहरूले पूर्णिमाको अघिल्लो दिन हात–खुट्टाका नङ काट्ने, निराहार तथा एकचित्त भई बस्ने र पूर्णिमाको बिहान सबेरै नदीमा स्नान गरी पूजा गर्ने परम्परा रहिआएको छ । त्यसपछि मन्त्रोच्चारणसहित शंखजल ग्रहण गर्ने धार्मिक विधि पालना गरिन्छ ।

शंखजल ग्रहण गरेपछि कसैलाई नछुने र जुत्ता नलगाउने मान्यता रहेको छ । माधवनारायणको पूजा नगरे स्वस्थानी व्रत अधुरो हुने विश्वास गरिन्छ । स्वस्थानी देवी र माधवनारायणको पूजा–आराधनाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता छ ।
व्रत अवधिभर व्रतालु तथा अनुष्ठानकर्ताहरू पशुपतिनाथ, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूल लगायतका तीर्थस्थलहरूमा पैदल यात्रा गर्दै दर्शनका लागि जाने परम्परा पनि रहेको छ । यस परम्पराले धार्मिक आस्था मात्र नभई सामाजिक र सांस्कृतिक एकताको सन्देशसमेत प्रवाह गर्ने विश्वास गरिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच