अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई सैन्य अपरेसनमार्फत नियन्त्रणमा लिएको भन्ने समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो तरंग पैदा भएको छ । यो घटनाले केवल ल्याटिन अमेरिकाको राजनीतिलाई मात्र होइन, विश्व शक्ति सन्तुलन, अन्तर्राष्ट्रिय कानुन र सार्वभौमसत्ताको अवधारणामाथि नै गहिरो प्रश्न खडा गरेको छ । एक सार्वभौम राष्ट्रको निर्वाचित राष्ट्र प्रमुखलाई अर्को कुनै देशले बलात् प्रयोगमार्फत नियन्त्रणमा लिएको दाबीले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको छ ।
अमेरिकाको यस कदमप्रति अर्को महाशक्ति राष्ट्र रुस र आजको शक्तिशाली राष्ट्र चीनसहित अनेक ल्याटिन अमेरिकी र एसियाली राष्ट्रहरूले कडा प्रतिक्रिया जनाएका छन् । रुसले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन र विश्व व्यवस्थालाई अस्थिर बनाउने खतरनाक कदम भनेको छ । चीनले अमेरिकाको व्यवहारलाई ‘दबदबापूर्ण’ भन्दै ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा शान्ति र सुरक्षामाथि गम्भीर खतरा उत्पन्न भएको आरोप लगाएको छ ।
ब्राजिलले यसलाई स्वीकार्न नसकिने हदको हस्तक्षेप भनेको छ भने क्युबाले ‘आपराधिक हमला’ को संज्ञा दिँदै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल प्रतिक्रिया दिन आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सैन्य कारबाहीले क्षेत्रीय अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
विरोध र समर्थनका सन्दर्भमा युरोपको शक्ति राष्ट्रहरू बेलायत र फ्रान्सले भने अमेरिकी कदम जायज ठहराएको अवस्था छ । अमेरिकी समूहसँग निकट रहेका राष्ट्रहरूले मदुरोविरुद्धको कारबाहीलाई उचित भन्दै टिप्पणी गरेका छन् । अमेरिकाले भने यस अपरेसनलाई ‘नार्को-आतंकवाद’ र अवैध लागू औषध कारोबारविरुद्धको कदमका रूपमा प्रस्तुत गरेको छ ।
विगत केही महिनायता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुलियाली राष्ट्रपतिको प्रत्यक्ष संलग्नतामा नाकोर्टिक्सको व्यापार चलेको र यसले अमेरिकी समाजदेखि अन्यत्र मुलुकलाई पनि असर पारिरहेको टिप्पणी गरिरहनुभएको थियो । क्यारिवियन क्षेत्रबाट हिँड्ने भेनेजुलियन जहाजहरूलाई खानतलासी गर्ने, रोक्ने जस्ता कामहरू अमेरिकीबाट भइरहेका थिए । एक प्रकाले अमेरिकाले लागू औषध व्यापार र तस्करीविरुद्ध चेतावनी दिइरहेको थियो ।
अमेरिकी चेतावनीले पहिले नै केही न केही कारबाहीको संकेत दिइरहेको धेरैको अनुमान थियो । पूर्वानुमान जस्तै भेनेजुयेलामा सैनिक हस्तक्षेप गरी राष्ट्रपतिलाई अपदस्त गर्ने र पक्राउ गर्ने काम अमेरिकी सुरक्षादस्ताबाट गरिएको छ । यतिखेर मदुरो र उनकी पत्नीविरुद्ध न्यूयोर्कको अदालतमा मुद्दा चलाउने तयारीसमेत सार्वजनिक गरिएको छ ।
तर, अमेरिकी कांग्रेसको स्पष्ट स्वीकृति बिना गरिएको भनिएको यो सैन्य हस्तक्षेपको कानुनी आधार अस्पष्ट छ । कानुन विज्ञहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनमात्र होइन, अमेरिकी आन्तरिक कानुनका दृष्टिले पनि विवादास्पद मानिरहेका छन् । सन् २००३ मा इराकमा गरिएको अमेरिकी आक्रमणपछि देखिएको ‘शासन परिवर्तन’को अभ्याससँग तुलना हुनथालेको यस घटनाले विगतका पीडादायी स्मृतिहरू पुनः ताजा बनाएको छ ।
यसैकारण अमेरिकामा नै ट्रम्प कदमको तीव्र विरोध हुनलागेको छ । गत निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसले यो कदम सही नभएको टिप्पणी गरेकी छिन् भने न्यूयोर्क सिटीका मेयरले भेनेजुयेलामा अमेरिकी कारबाहीप्रति निकै रोष प्रकट गरेका छन् । एसियाको पारमाणविक शक्ति भएको उत्तरकोरियाको प्रतिक्रिया त सबैभन्दा कठोर रहेको छ । अमेरिका विरुद्ध विगतमा आक्रामक उत्तरकोरियाली राष्ट्रपतिको प्रतिक्रियालाई स्वाभाविक मान्नुपर्ने हुन्छ ।
यस घटनाको पृष्टमा महत्वपूर्ण पक्ष भेनेजुएलाको विशाल तेल भण्डार हो भन्ने सबैको धारणा रहेको छ । विश्वकै सबैभन्दा ठूलो कच्चा तेल सञ्चिति भएका मुलुकमध्ये भेनेजुएलाले करिब तीन खर्ब तीन अर्ब ब्यारेल तेल भण्डारण गरेको अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए)को तथ्यांकले देखाउँछ, जुन विश्व कुल तेल सञ्चितिको झण्डै पाँच भागमध्ये एक हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा भेनेजुएलाको प्रशासनमा प्रभाव राख्ने र तेल भण्डारलाई अन्तर्राष्ट्रिय बजारमा बेच्ने योजना रहेको संकेत गर्नुले यस हस्तक्षेपको आर्थिक र रणनीतिक पृष्ठभूमि झनै स्पष्ट बनाएको छ । यो केवल सुरक्षा वा कानुनी विषयमात्र नभएर ऊर्जा राजनीति र भूराजनीतिक प्रतिस्पर्धासँग प्रत्यक्ष रूपमा जोडिएको मुद्दा हो ।
काराकासमा भएको छोटो समयको सैन्य आक्रमण, विष्फोट र त्यसपछि सिर्जित त्रासको वातावरणले भेनेजुएलाका आमनागरिकको जीवन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । सडकमा विरोध प्रदर्शन, बिजुली अवरुद्ध क्षेत्रहरूमा फैलिएको आतंक र अनिश्चितताले देशलाई गहिरो संवैधानिक संकटतर्फ धकेल्न सक्छ ।
यस घटनाले दक्षिण अमेरिकी राष्ट्रहरूमा मात्र होइन, विश्वव्यापी कूटनीतिक वृत्तमा पनि गहिरो असर पारेको छ । कोलम्बियाको आग्रहमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउने तयारी हुनु यसैको प्रमाण हो । यस्तो संवेदनशील परिस्थितिमा एकपक्षीय सैन्य कदमभन्दा बहुपक्षीय संवाद, कूटनीतिक पहल र अन्तर्राष्ट्रिय कानुनी मापदण्डको पालना अत्यन्त आवश्यक हुन्छ ।
इतिहासले बारम्बार देखाएको छ- बाह्य शक्तिद्वारा जबर्जस्ती गरिने नेतृत्व परिवर्तनले अल्पकालीन रणनीतिक लाभ त दिनसक्छ, तर दीर्घकालीन रूपमा राजनीतिक स्थिरता, सामाजिक एकता र आर्थिक विकासमा गम्भीर नकारात्मक प्रभाव पार्ने सम्भावना बढी हुन्छ । इराक, लिबिया र अफगानिस्तानका अनुभवहरू यसका ज्वलन्त उदाहरण हुन् ।
भेनेजुएलामा अमेरिकी हस्तक्षेप कुनै एक राष्ट्रको आन्तरिक मामिलामा सीमित विषय होइन । यो अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता, मानवअधिकार, क्षेत्रीय स्थिरता र विश्व ऊर्जा बजारसँग गाँसिएको जटिल मुद्दा हो । त्यसैले अमेरिका र अन्तर्राष्ट्रिय समुदायले यस घटनालाई शक्ति प्रदर्शनको आँखाले होइन, जिम्मेवार विश्व नेतृत्वको दृष्टिकोणबाट मूल्यांकन गर्नुपर्छ । लोकतान्त्रिक प्रक्रिया, संविधान र जनताको आत्मनिर्णयको अधिकारको सम्मान नगरी गरिएको हस्तक्षेपले दीर्घकालमा विश्व शान्ति र स्थिरतालाई नै कमजोर बनाउने खतरा रहन्छ ।
अन्ततः, अमेरिकी हस्तक्षेपले विश्व तरंगित भएको यो क्षणमा आवश्यक कुरा बहुपक्षीय संवाद, कानुनी मापदण्डको कडाइका साथ पालन र राजनीतिक समाधानतर्फको इमानदार प्रयास हो । भेनेजुएलाको भविष्यमात्र होइन, सम्पूर्ण दक्षिण अमेरिकी क्षेत्र र विश्व व्यवस्थाको स्थायित्व यसैमा निर्भर रहनेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच