अराजकशैलीमा केही गैरजिम्मेदार व्यक्तिहरूले केही दिनयता सनातनी हिन्दूहरूलाई नेपालबाट भगाउनुपर्छ भन्ने नारा लगाइरहेको सुनिन्छ । सामाजिक सञ्जालमा पर्याप्त सुनिएका यस्ता नाराले नेपालजस्तो सद्भावकासाथ बसेको जाति र समुदायमा विष प्रवाह गर्न सक्छ भन्ने स्ष्ट छ । कहिलेकाहिँ कुनै सामान्य घटनाका कारण त्यसमा विभिन्न खालका स्वार्थी समूहहरूको घुसपैठ भएर सद्भाव भड्किएका अनेकौं घटना छन् । तुलनात्मक रूपमा नेपालमा यस्ता घटना कमै हुने गर्छन् । तैपनि कहिलेकाहिँ कतै यिनले स्थान पाउने गर्छन् । मौकाको ताकमा रहेका त्यस्ता स्वार्थी समूह कुनै सन्दर्भमा बिथोलिन र भड्किन पाए भने तिनले दुष्परिणाम सिर्जना गर्छन् । हाल धनुषाबाट पैदा भएको एउटा सामान्य झिल्काले वीरगञ्ज तनाव ग्रस्त बन्न पुग्यो । जसले जुन कारणले यस्ता घटना गराएको भए पनि त्यसको प्रभाव अर्को ठाउँमा समेत गएर ठोकिन र देखिन पुग्छ । अहिले वीरगञ्जमा यस्तै भएको छ ।
आगाको झिल्काले डडेलाको रूप लिएजस्तो यस्ता केही घटनाहरू जसले विश्वमा ठूला तहल्का मच्चाएका छन् । कुनै एक ठाउँमा कुनै धर्म, वर्ण, आस्था, जात आदिका आधारमा अल्पसंख्यकमाथि दमन भयो भने त्यहाँ तिनको सामथ्र्यले विजयी भएका जस्ता देखिन्छन् तर त्यसको असर त्यसो गर्नेहरू अल्पसंख्यकमा भएको अर्को ठाउँ वा अर्को देशमा परिरहेको हुन्छ । त्यो कुरातिर तिनीहरूले सोचेका हुँदैनन् । विशेष गरेर हाम्रो छिमेकी देश भारत, बंगलादेश र पाकिस्तानमा यस्ता घटना भइरहन्छन् । बंगलादेश र पाकिस्तानमा बहुसंख्यक मुस्लिमहरूले अल्पसंख्यक हिन्दुहरूमाथि गरेको दमनको प्रभाव भारतमा देखापर्न सक्छ र भारतका अल्पसंख्यक मुस्लिममाथि शंका सुरु हुन्छ ।
बेलाबेलाका यस्ता घटनाले उक्त कुरालाई प्रमाणित गरेको छ । हाम्रो देशमा भने यस्ता घटना कमैमात्र हुने गर्छन् तर यसो भन्दाभन्दै पनि कतिपय क्षेत्रमा सामाजिक सद्भाव बिथोलिएका र केही घटना छन् । कहिले नेपालगञ्जमा, कहिले वीरगञ्ज, कहिले गौरमा त कहिले रूपन्देहीमा यस्ता घटना भएका छन् । तिनले ठूलो विध्वंश गर्न भने पाएका छैनन् तर धार्मिक सहिष्णुताको कमीका कारण सरस्वती पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजाका बेलामा यस्ता घटना हुनेगरेका केही उदाहरण छन् । नेपाल बहुजाति, बहुधर्म बहुल संस्कार भएको मुलुक हो । सानो मुलुक तीन करोडभन्दा कम जनसंख्या भएको देश भए पनि बहुधर्मावलम्बी रहेको यहाँ १२३ जातजाति र त्यसभन्दा केही बढी संख्यामा भाषाभाषी भएको देश हो ।
कसैले कहिलेकाहिँ दुई पक्ष वा दुई व्यक्तिका बीचमा जात, धर्म, भाषाभेषका आधारमा भनाभन गरे पनि त्यो सामान्य मानिन्छ । सबै जात, सबै भाषा, सबै वर्गका मानिसहरू एकै ठाउँ बसेर पठन-पाठनलगायत विभिन्न कार्य गरिरहेका हुन्छन् । संस्कार संस्कृतिहरू पनि मनाइरहन्छन् र एकले अर्काको संस्कृतिको सम्मान गर्ने, भाषा सिक्न प्रयास गर्ने, एक जातिले अर्को जातिको भाषाका माध्यममा भाव सम्प्रेषण गर्ने जस्ता काम भइरहेका छन् । जातीय अल्पसंख्यक धार्मिक लैंगिक र क्षेत्रीय रूपमा पछि परेकाहरूलाई राज्यले आरक्षण पनि दिएको छ । माथिदेखि तलसम्मका निकायमा र विभिन्न राजनीतिक पदहरूमा यसरी दिएको आरक्षणले प्रजातन्त्र आएदेखि यता उनीहरू लाभान्वित पनि भइरहेका छन् ।
आदिवासी जनजातिहरूका, मुस्लिमका आयोगहरू छन्, महिला आयोगहरू पनि छन् र तिनले आरक्षणका माध्यमबाट अवसर पाइरहेका छन् । त्यस्ता आयोगहरूका माध्यमबाट उनीहरूका संस्कार, संस्कृति, भाषा, भेष आदिको संरक्षणमा जोड पु¥याइएको छ । जनजातिहरूको सूचीकृत भएको छ जसमा ६० भन्दा बढी जनजाति सूचीकृत छन् र अझै केही सूचीकृत हुने क्रममा रहेका छन् । बाहिर रहेकाहरू आफू विभेदमा परेको भनेर आवाज उठाउँदै त्यस सूचीमा समेटिन चाहिरहेका छन् । एउटै जातिका अनेकौं भाषा भएका कारण भाषाको संख्या सवासयभन्दा बढी छ । राई जातिहरू गावैपिच्छे फरक-फरक भाषा बोल्छन् । यसलाई दृष्टान्तका रूपमा लिने हो भने यस्तै कारणले गर्दा जातिको संख्याभन्दा भाषाको संख्या बढी भएको हो । एउटै गाउँमा एउटै ठाउँमा घुलमिल भएर विभिन्न जातका मानिसहरू बसेका छन् ।
सामाजिक सद्भाव तिनीहरूका बीचमा कायम भइरहेकै छ अथवा उनीहरू सामाजिक सद्भाव कायम गरेर मेलमिलापूर्ण तरिकाले बसेका छन् । यो हाम्रो प्राचीनकालदेखिको सद्भाव हो । राजनीतिक रूपमा बरू केही भड्काउ सिर्जना होला तर जात, धर्म, भाषाका आधारमा त्यस्तो भड्काउ भएको छैन । कहिलेकाहिँ कसैले बिनाप्रमाणका तर्क गरेर आफ्नो राजनीतिको रोटी सेक्ने प्रयास गर्छन् तर त्यसो गर्नेका समूहभित्रैबाट अध्ययनले विद्वान बनेका व्यक्तिहरूमा त्यसको नकारात्मक प्रभाव पर्नेगर्छ । जनजातिबाट संस्कृतको अध्ययन गरी विद्वता प्राप्त गरेका स्वनामधन्य व्यक्तिहरूको संख्या पनि कम छैन । उहाँहरूबाट लेखिएका पुस्तक र दिइएका प्रवचनहरू अति नै विद्वतापूर्ण र ग्राह्य पनि छन् ।
यस्तै भारतबाट प्रसारण भएको प्रसिद्ध रामायण र महाभारतका कथाहरूको पटकथा तयार गरी तिनलाई त्यसरी प्रसारण गर्न सहयोग पुर्याउने व्यक्तिहरू इस्लाम धर्मावलम्बीहरू पनि थिए भन्ने कुरा कतैबाट छिपेको छैन । हामीले एउटा साँघुरो सोच राखेर एकले अर्कामाथि इष्र्या गर्नु, अर्कालाई होच्याउनु, दबाउनु र अर्काको धर्म, संस्कार, जात, भाषामाथि उपहास गर्नु बुद्धिमानीपूर्ण कार्य हुँदै होइन । अझ भन्ने नै हो भने त यस्ता कार्य कुनै उरन्ठेउला उट्फट्याङ र विद्वता नभएका, नबुझेका, नपढेका व्यक्तिहरूबाट नै हुने हो । अहिले वीरगञ्जमा देखिएको भड्काउ यसैको पछिल्लो दृष्टान्त हो । अहिले यस्ता भड्काउ सिर्जना गर्न सामाजिक सञ्जालले अझै सहयोग पुर्याएको छ ।
यस्तै सामाजिक सञ्जालमा कसैले केही लेखेर अर्को धर्मलाई होच्याएको आधारमा भड्किएको अराजकताले भोलि ठूलो हिंसात्मक रूप नलेला भन्ने छैन । त्यसकारणले बेलैमा यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो । देशका गृहमन्त्री निरिह भाषामा याचना गरिरहनुभएको छ । यस्ता अभिव्यक्ति दिँदैमा यस्ता अराजकताको समाधान हुन सक्दैन । कानुनी रूपमा प्रहरी प्रशासनको प्रयोग गरी त्यस्ता भड्काउलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो । त्यसका लागि राज्यले जस्तोसुकै मूल्य पनि चुकाउन सक्नुपर्छ । स्थानीय धर्मावलम्बीहरू, राजनीतिक पार्टीहरू र समाजसेवीहरूको एकताबद्ध सहयोगबाट ती कुराहरू टुंग्याउन सकिन्छ । त्यसतर्फ अग्रसर हुनुपर्छ । मिलेर बसेका जातजाति, धर्म, वर्ग, सम्प्रदाय र क्षेत्रका जनताका बीचमा कुनै पनि बाहनामा भड्काउ ल्याउन दिनु हुँदैन । त्यसो गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न राज्य तयार भएर रहनुपर्छ र यसका लागि निर्भीक हुन सक्नुपर्छ । ९१ प्रतिशत भन्दा बढी सनातनी ओमकार परिवार बसोवास गर्ने देशमा उनीहरूलाई नै भगाउनुपर्छ भन्दै भड्काउ नारा दिनेहरूसँग समयमा नै सचेत हुनु आवश्यक छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच