काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ । सिट बाँडफाँटमा कुरा नमिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाहिरिएपछि कांग्रेस-एमालेले मात्रै गठबन्धन गरेका हुन् । दुई दलको गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) पनि मिसिएको छ । तीन दलले भागबण्डा गरेरै मनोनयन दर्ता गराएका छन् । जसअनुसार कांग्रेसले नौ, एमालेले आठ र हालै जसपासँग पार्टी एकता गर्नुभएका महन्थ ठाकुरले (एक सिट) मनोनयन दर्ता गराउनुभएको हो ।
दुई मुख्य प्रतिस्पर्धी दल कांग्रेस र एमालेले भागबण्डा गरेर उम्मेदवार उठाउँदा अर्को प्रतिस्पर्धी दल नेकपा भने महागठबन्धनबाट अलग भएको छ । यसअघि कांग्रेस, एमाले र नेकपाबीच गठबन्धन तयारी थियो । नेकपाले आफ्नो मतभारअनुसार कम्तीमा चार सिट दिनुपर्ने दाबी गर्दै आएको थियो । कांग्रेस-एमालेले भने अधिकतम् तीन सिट मात्र दिने प्रस्ताव गरेका थिए । कांग्रेस, एमाले र जसपा मिल्दा चुनाव हुने १८ सिटमै जित सुनिश्चित हुने मतभार छ ।
माघ ११ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गरिएको हो । आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेगरी तोकिएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सातवटै प्रदेशमा ५५० प्रदेशसभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ मतदाता रहन्छन् । यी मतदाताहरूले राष्ट्रियसभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि माघ ११ गते मतदान गर्नेछन् । मनोनीत सांसद वामदेव गौतमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिश गर्नेछ । बाँकी १८ पदका लागि चुनाव हुन लागेको हो । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमाले मिल्दा अन्तर्घात भएन भने यी दुई दलले सबैतिर जित निकाल्न सक्नेछन् ।
सातै प्रदेशमा नेकपाका एकल उम्मेदवार
कांग्रेस-एमालेसँग कुरा नमिलेपछि नेकपाले भने सातै प्रदेशमा एकल उम्मेदवारी दिएको छ । नेकपा संयोजक पुष्पकमल दाहालको सचिवालयका अनुसार कोसी प्रदेशमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ दामोदर घिमिरेले मनोनयन दर्ता गराउनुभएको छ । मधेसमा दलित कोटाबाट शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवालले मनोनयन दर्ता गराउनुभएको हो । बागमतीमा अन्यतर्फ प्रेम सापकोटा र सरोज कुमारी झा (महिला) उम्मेदवार बन्नुभएको छ ।
लुम्बिनीमा अन्यतर्फ बृहस्पति अधिकारी, अपांगतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारी उम्मेदवार बन्नुभएको छ । यस्तै, कर्णालीमा अन्यतर्फ बुद्धिप्रसाद शर्मा र महिलातर्फ अञ्जु महतरा उम्मेदवार बन्दा सुदूरपश्चिममा अन्यतर्फ टीकाराम जैशी र महिलातर्फ रोजी बस्नेत सुनार उम्मेदवार बन्नुभएको हो । नेकपाले उम्मेदवार टुंगो लगाउने जिम्मा संयोजक र सहसंयोजकलाई दिएको थियो ।
एमालेका आठ उम्मेदवार
कांग्रेससँग भागबण्डा गरेको एमालेले आठजना उम्मेदवार उठाएको छ । एमालेले पाएको आठ सिटमा पूर्वमन्त्रीदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेकासम्मलाई उम्मेदवार बनाएको छ । एमालेले कोसीमा महिलातर्फ रोशनी मेचेलाई उम्मेदवार बनाएको छ । मेचे एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहँदा सचिवालयमा हुनुहुन्थ्यो । कोसीबाट एमाले ‘अन्य’तर्फ सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । मधेसमा रेखा झालाई उम्मेदवार बनाइएको छ ।
एमालेले बागमतीमा प्रेमप्रसाद दंगाललाई उम्मेदवार बनाएको छ । गण्डकीमा सम्झना देवकोटालाई उम्मेदवार बनाइएको छ । लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाइएको छ । झाँक्री कात्तिक २४ गते एमालेमा फर्किनुभएको थियो । एमालेले कर्णालीमा मीना रखाललाई उम्मेदवार बनाएको छ । उहाँ सुकुम्बासी आयोगको पूर्वउपाध्यक्ष, पूर्व–कर्णालीसभा सदस्य र पूर्वएमाले केन्द्रीय कमिटी सदस्य हो । सुदूरपश्चिम प्रदेशमा लीला भण्डारीलाई उम्मेदवार बनाइएको छ । भण्डारी माओवादी पृष्ठभूमिकी हुनुहुन्छ ।
कांग्रेसका नौ जना
कांग्रेसले राष्ट्रियसभामा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेटेर उम्मेदवार बनाएको छ । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत जगत तिमिल्सिनालाई गण्डकीबाट उम्मेदवार बनाएको कांग्रेसले सुदूरपश्चिमबाट पूर्व-महान्यायाधिवक्तासमेत रहनुभएका वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीलाई उम्मेदवार बनाएको छ । यसैगरी, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभाका पूर्वसदस्य रञ्जित कर्णलाई पनि कांग्रेसले राष्ट्रियसभाका लागि उम्मेदवार बनाएको छ । कोसीबाट उम्मेदवार बनाइएका सुनीलबहादुर थापा कांग्रेसका पूर्व-सहमहामन्त्री हुनुहुन्छ । उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ । अन्यतर्फ नेकपाले उम्मेदवारी नै नदिएपछि कांग्रेस उम्मेदवार थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएको हो । उहाँले निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।
यस्तै, लुम्बिनीबाट उम्मेदवार बन्नुभएका चन्द्र केसी लामो समय गुल्मी कांग्रेसको नेतृत्व गरेर १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको हो । लुम्बिनीबाटै वासुदेव जंगली पनि राष्ट्रियसभाका लागि उम्मेदवार बन्नुभएको छ । कर्णालीबाट कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पनि उम्मेदवार बन्नुभएको छ । बागमतीमा गीता देवकोटा र मधेसमा धनेन्द्र पासवानलाई कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।
देउवा-शेखर भागबण्डा, गगनको फरक मत
कांग्रेसले राष्ट्रियसभा उम्मेदवार अघि सार्दा भागबण्डाका आधारमा गरेको हो । जसमा सभापति शेरबहादुर देउवा नजिकका ६ जना र डा. शेखर कोइराला निकटका तीनजना रहेका छन् । महामन्त्री गगन थापाले भने फरक मत राख्नुभएको छ । ‘सभापतिको पक्षमा बसेर साथीहरूले निर्णय लिँदा प्रक्रिया नै मिच्नुभएको छ । तालमेलबारे तयारी भनेर कार्यवाहक सभापतिले जानकारी गराउनुभयो । तालमेलको जे आधार दिनुभएको छ । कार्यसम्पादनमा आएर भएको निर्णय होइन । त्यसैले यो निर्णयको स्वामित्व लिँदैनौँ’, थापाले भन्नुभयो, ‘उम्मेदवारका सम्बन्धमा सबै जिम्मेवारी सभापतिलाई दिने भन्ने तयारी भएको थियो । केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन भयो । मैले लिखित फरक मत राखेँ ।’
यसैगरी, कांग्रेस नेता अर्जुननरसिंह केसीले राष्ट्रियसभाका सदस्य उम्मेदवार छनोटको प्रक्रियाप्रति आपत्ति जनाउनुभयो । बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत उम्मेदवार छनोट गरिएको बताउनुभयो । पार्टीभित्र पर्याप्त छलफल नै नगरी नौजना व्यक्तिको नाम टुंग्याइएको उहाँको आरोप छ । ‘राष्ट्रियसभाको प्रतिनिधि छान्ने सन्दर्भमा जुन खालको छलफल ग¥यौँ, त्यसमा अहिलेसम्म छलफल भएन । अहिले सभापतिजीले व्यक्तिको नाम प्रस्तुत गर्नुभयो । त्यसमा कुनै छलफल नहुनु सबैभन्दा दुःखद पक्ष हो’, उहाँले भन्नुभयो ।
सातै प्रदेशमा यस्तो छ मतदाताको संख्या र मतभार
राष्ट्रियसभा निर्वाचनमा सातवटै प्रदेशमा प्रदेश सांसद, पालिका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ मतदाता छन् । कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २७४ गरी जम्मा ३६७ जना मतदाता कायम छन् । कोसी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ४९२९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ गरी जम्मा १०१३५ मतभार कायम हुनेछ ।
मधेस प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २६७ गरी जम्मा ३७४ जना मतदाता छन् । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ५६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ गरी जम्मा १०७४४ मतभार कायम हुनेछ ।
बागमती प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ११० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २३७ गरी जम्मा ३४७ जना मतदाता छन् । बागमती प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ५८३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४५०३ गरी जम्मा १०३३३ मतभार कायम हुनेछ ।
गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १७० गरी जम्मा २३० जना मतदाता छन् । गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ३१८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम हुनेछ ।
लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २१८ गरी जम्मा ३०५ जना मतदाता छन् । लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ४६११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम हुनेछ ।
कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १५६ गरी जम्मा १९६ जना मतदाता छन् । कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यको मतभार २१२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २९६४ गरी जम्मा ५०८४ मतभार कायम हुनेछ ।
सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १७६ गरी जम्मा २२८ जना मतदाता छन् । कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यको मतभार २७५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३३४४ गरी जम्मा ६१०० मतभार कायम हुनेछ ।
माथि उल्लिखित मतदातामध्ये प्रदेशसभाका सदस्यको प्रतिमतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रतिमतदाता मतभार १९ रहेको छ । प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८४६२ गरी जम्मा ५७५५९ मतभार रहेको छ ।







महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई
भोटेकोशी बाढीले खोसेको खुसी :
बाँदरले दुःख दिएपछि भोजपुरका किसान
१० खेलाडीमा सीमित सिटीको शानदार
नरमायाको जीवनमा पीडाको पुनरावृत्ति :