नेपाली कांग्रेस एउटा अत्यन्तै दुर्भाग्यपूर्ण मोडमा आइपुगेको छ । इतिहास पल्टाएर हेर्ने हो भने यो पार्टीको योगदान, त्याग र संघर्ष गौरवमय छ । तर, केवल विगतको गौरवलाई स्मरण गर्दै वर्तमानको कमजोरी ढाकछोप गर्न सकिँदैन । ‘हिङ भए पनि हिङ बाँधेको टालो’ जस्तो अवस्थामा पुगिसकेको कांग्रेसले इतिहासको नाममा मात्र आफ्नो अस्तित्व जोगाइरहेको देखिन्छ । ७५ वर्षअघि राणा शासनविरुद्ध संगठित संघर्ष गरेर प्रजातन्त्र स्थापना गर्नसक्ने पार्टी आज आफ्नै आन्तरिक द्वन्द्व, गुटगत स्वार्थ र नेतृत्वको अदूरदर्शिताका कारण दिशाहीन बनेको छ ।
राणा शासन जस्तो १०४ वर्षसम्म जरा गाडेर बसेको निरंकुश व्यवस्थालाई ढाल्नु सामान्य कुरा थिएन । त्यो साहस, आत्मबल र जनसमर्थन नेपाली कांग्रेसले त्यतिबेला जुटाएको थियो । पछि पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन पनि त्यत्तिकै चुनौतीपूर्ण थियो । लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता दूरदर्शी नेताहरूको नेतृत्व, दृढता र त्यागका कारण संयुक्त जनआन्दोलन सफल भयो र पञ्चायती व्यवस्था ढल्यो । यसमा संयुक्त वाममोर्चाको समर्थन र सहभागिता पनि निर्णायक रह्यो ।
तर, प्रजातन्त्र स्थापनापछि त्यसलाई संस्थागत गर्ने, सबल बनाउने र जोगाउने राजनीतिक चेतना र इच्छाशक्ति क्रमशः कमजोर बन्दै गयो । बच्चा जन्माउनु सजिलो हुन्छ । त्यसलाई स्वस्थ राख्नु, हुर्काउनु, शिक्षित गर्नु कठिन भएजस्तै प्रजातन्त्र ल्याउन एक पटकमात्र नभएर धेरैपटकको बल पर्याप्त भयो । त्यसबाट प्राप्त परिणामलाई दिगो बनाउने दीर्घकालीन सोच कांग्रेसले विकास गर्न सकेन । प्रजातन्त्रको मुख्य संवाहक पार्टी भएर पनि कांग्रेस स्वयं स्वार्थ, सत्ता र गुटको दलदलमा फस्दै गयो । परिणामस्वरूप आज कांग्रेस आफ्नै इतिहासको गौरवलाई च्यात्दै आत्मघाती बाटोमा हिँडिरहेको देखिन्छ ।
यसको ज्वलन्त उदाहरण गत मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा देखिएको दृश्य हो । पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि आफ्नै पार्टीका कार्यकर्ताबाट भएको दुव्र्यवहारले कांग्रेसको आन्तरिक विकृति सार्वजनिक रूपमा छताछुल्ल बनाइदियो । यो केवल पार्टीभित्र सीमित विषय रहेन, सडक र समाजले प्रत्यक्ष देख्ने गरी बाहिर आयो । यस घटनाले कांग्रेसभित्र स्थापित परम्परा, नैतिकता र चरित्र कति दरिद्र भएछ भन्ने देखियो भने आन्तरिक रूपमा विकसित अन्तराविरोध दुई स्पष्ट धारमा पुगेको यथार्थलाई अझ उजागर गरिदिएको छ ।
हाल कांग्रेसभित्र एकथरी जसरी भए पनि विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने अर्कोथरी त्यसलाई रोक्न दृढतापूर्वक लागिपरेका छन् । संस्थापन पक्षको सभापति पक्षधर समूह संगठनात्मक रूपमा सबल देखिए पनि नेतृत्व कमजोर बन्दै गएको आभास मिल्छ । निर्णय क्षमता, समन्वय र सबैलाई समेट्ने राजनीतिक कौशलको अभाव स्पष्ट देखिन थालेको छ । अर्कोतर्फ संस्थापनभित्रकै महामन्त्रीहरूले नेतृत्व गरेको र त्यसलाई इतर नामकरण गरिएको पक्ष विशेष महाधिवेशनको घोषणा गरेर अगाडि बढिसकेको छ, विभिन्न समिति गठन गरिसकेको छ र यसलाई औचित्यहीन भन्न नसकिने अवस्था सिर्जना गरिसकेको छ ।
यस्तो अवस्थामा युवा नेतृत्वलाई सधैं दबाएर, पन्छाएर राख्ने सोच जति आत्मघाती हुनसक्छ त्यति नै समान आत्मघाती पूर्ववत्र्ती नेता र नेतृत्वको अपमानजनक व्यवहार आत्मघाती हुने स्पष्ट छ । पुरानो नेतृत्वको कांग्रेसले अब पुस्तान्तरणलाई बोझ होइन, अवसरका रूपमा लिनुपर्छ । प्रजातन्त्र अरू कसैले बचाइदिँदैन भन्ने ऐतिहासिक यथार्थ कांग्रेसले नै बिर्सँदै गएको देखिन्छ । नेपालमा प्रजातन्त्रको मियो कांग्रेस हो भन्ने चेतना पुनः जागृत गर्न आज सबैभन्दा ठूलो आवश्यकता छ ।
हाल देखिएको अवस्था दुई साँढे जुधेर खेत नासिएको जस्तै छ । दुई धारबीचको दोहोरीले पार्टीलाई दुई फ्याक पार्ने खतरा वास्तविक बन्दै गएको छ । संस्थापन इतर पक्षले विशेष महाधिवेशन डाकिसकेको छ भने संस्थापन पक्ष त्यसलाई रोक्न प्रयत्नरत छ । यस्तो द्वन्द्वले कांग्रेसको वैचारिक, सांगठनिक र नैतिक धरातल झन् कमजोर बनाइरहेको छ ।
विमलेन्द्र निधिमाथिको दुर्व्यवहार विशेष महाधिवेशन पक्षधरबाट नभई अरू कसैबाट भएको स्वयं निधिले नै स्पष्ट पारिसक्नुभएको छ । स्वयं विशेष महाधिवेशनका पक्षधर नेताहरू महासचिव गगन थापा, विश्वप्रकाश शर्मा र मधु आचार्यले समेत निधिमाथिको दुव्र्यवहारको निन्दा गरिसक्नु भएको छ । यसैबीच विशेष महाधिवेशनको मागप्रति पहिले सहानुभूति राख्दै आएका डा.शेखर कोइरालाले केही दिनअघि यसको औचित्य सकिएको प्रतिक्रिया जनाए पनि अहिले सहमतिको विशेष महाधिवेशनलाई सकारात्मक रूपले लिनुभएको छ । सभापति देउवालाई उहाँले सम्वाद गर्न आग्रह गर्नुभएको छ । अर्थात् विशेष महाधिवेशनको माग त्याग्नुभएको छैन, बरू पार्टी एकताभित्रै त्यसको समाधान खोज्न चाहनुभएको सन्देश दिन्छ ।
यदि सहमतिको विशेष महाधिवेशन सम्भव भयो भने कांग्रेसभित्र चर्किँदै गएको चिरा जोडिने सम्भावना रहन्छ । अन्यथा यी धाजाहरू झन् फराकिलो हुँदै गएर पार्टी विभाजनको बिन्दुमा पुग्ने खतरा टार्न सकिँदैन । कांग्रेसलाई फुटाएर आ–आफ्नो स्वार्थ सिद्ध गर्न चाहने आन्तरिक र बाह्य तत्वहरू सक्रिय हुन सक्छन् । तिनको नियत सफल हुन नदिन कांग्रेस एकताबद्ध हुनैपर्छ ।
आजसम्म कांग्रेसले नेपालको प्रजातन्त्रको मियो ढल्न दिएको छैन । तर, यदि कांग्रेस स्वयं ढल्यो भने भोलि प्रजातन्त्रको आधार पनि कमजोर हुनसक्छ । यसतर्फ अरूले होइन, कांग्रेसमा आबद्ध सदस्यहरूले स्वयं गम्भीर चिन्तन गर्नुपर्छ । कांग्रेसलाई सच्याउने, जोगाउने वा सिध्याउने शक्ति कांग्रेसकै हातमा छ । इतिहासले दिएको जिम्मेवारी सम्झेर आत्मसमीक्षा गर्ने कि स्वार्थमा अल्झिएर इतिहासकै कठघरामा उभिने-यो निर्णय गर्ने घडी आज कांग्रेससामु आएको छ । सभापपित पक्ष र महामन्त्री पक्ष दुवैले इतिहासका गम्भीर पाठलाई गम्भीरतापूर्वक बुझ्ने प्रयास गर्नुपर्छ । अहिले विसं २००९ वा ०५१ अथवा ०५९ जस्तो मात्रै अवस्था छैन । विज्ञेषु किमधिकम् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच