सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटर खोर टोलस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत चौकीदारको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गत पुस १९ गते बिहान करिब ५ बजे ईश्वरपुर–२, राईटरखोर घर भएका सागरनाथ वन विकास परियोजनाका चौकीदार बेचु महतो कोईरीका ५२ वर्षीय छोरा रामेश्वर महतो कोईरी साईकल चढी भक्तिपुरस्थित परियोजनाको प्लट नम्बर–१० मा एक्लै गस्तीका लागि निस्किएका थिए ।
गस्तीका क्रममा परिवारजनले पटक–पटक फोन सम्पर्क गर्न खोज्दा फोन नउठेपछि र पछि मोबाइल स्विच अफ भएपछि खोजतलास गर्दै जाँदा सोही दिन दिउँसो करिब २ः३० बजे ईश्वरपुर–२ राईटरखोर घाट टोलअन्तर्गत सागरनाथ वन विकास परियोजनाको प्लट नम्बर–१० भित्रको बनमाराको झाडीमा रामेश्वर महतो कोईरीको रगताम्य अवस्थामा मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरी टोलीले घटनास्थलको सूक्ष्म अवलोकन गर्दा घटनास्थलबाट करिब ७७ मिटर पूर्वतर्फ ‘NEKISOO’ लेखिएको कालो रंगको एक जोर चप्पल र रगत लागेको बन्चरो फेला पारेको थियो ।
स्थानीय बासिन्दाका अनुसार उक्त चप्पल ईश्वरपुर–२, राईटरखोटका रुपनारायण महतोका छोरा रामबलि महतोले प्रयोग गर्ने र सोही बन्चरो जंगलमा दाउरा–काठ काट्न लैजाने गरेको खुलेको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरी टोलीले तत्कालै रामबलि महतोको घरमा पुगेर उनलाई नियन्त्रणमा लिएको थियो ।
घर खानतलासीका क्रममा रामबलि महतो सुत्ने कोठामा रहेको काठको ह्याङ्गरमा झुण्ड्याइएको ज्याकेट र जिन्स पाइन्टको अगाडिको भागमा रगतजस्तो देखिने रातो दाग फेला परेपछि ती कपडा कानून बमोजिम बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा रामबलि महतोले सागरनाथ वन विकास परियोजनाको जंगलबाट टिक र मसलाका रुख काटी चोरी गर्ने गरेको र सो कार्यका क्रममा चौकीदार रामेश्वर महतो कोईरीले पटक–पटक सम्झाई बुझाई गरेको खुलेको छ । केही समयअघि काठ काट्दै गरेको अवस्थामा रामेश्वरले पक्राउ गर्न खोज्दा दुवैबीच जंगलभित्र झगडा भएको र रामबलि महतो फरार भएको विवरण पनि अनुसन्धानबाट खुलेको छ ।
घटनाभन्दा ४–५ दिन अघि रामेश्वर महतो कोईरीले चोरी गरी राखिएको टिकको दाउरा उठाई लगेकाले रामबलि महतोले उनलाई “मार्छु, काट्छु” भन्दै धम्की दिएको प्रमाणसमेत भेटिएको प्रहरीले जनाएको छ ।
उक्त प्रमाणका आधारमा प्रहरीले पुस १९ गते रामबलि महतोलाई जरुरी पक्राउ पुर्जी दिई नियन्त्रणमा लिई सम्मानित सर्लाही जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसूरमा ६ दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय केशरगञ्जमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच