मन चङ्गा भए तन अस्वस्थ रहे पनि उस्तो फरक नपर्नेरहेछ । पोखराको धर्तीबाट जसै पावन शिखर ‘कतासुँ क्लिको’ मा नजर पर्यो, आनन्दको फेवातालमा डुबुल्की मार्न थालियो । यसअघि बेमौसममा पोखरा आइएकाले हाम्रो गुरुङ भाषामा ‘कतासुँ क्लिको’ भनिने माछापुच्छ्रेको दर्शन जुरेको थिएन । यही २०८२ पुस चार गते काठमाडौंबाट पोखरा उत्रिई बागलुङ जानेक्रममा मनोरम हिमाली दृश्य अवलोकन गर्ने अवसर प्राप्त भएको हो । मन अझै अघाएन । बागलुङतिर उकालिएपछि गुरुजीलाई अनुरोध गरी ‘माछापुच्छ्रे’ पाश्र्वभागमा राखी अनेक तस्बिर उतारेर मक्ख परियो ।
दायाँ, बायाँतर्फ रहेका घर, बस्ती, वन, पशु, पक्षी नियाल्दै अघि बढाइएको यात्रा अढाइ घण्टामै पूरा भयो । केही बन्धु हाम्रो अधीर प्रतीक्षामा हुनुहुन्थ्यो । भोलिपल्टै फर्कनुपर्ने भएकाले आजै कतिपय ठाउँ पुग्नपाए गज्जब हुन्थ्यो भन्नेमा सबैको सहमति रह्यो । ट्राफिक चोकस्थित लजमा सामान राखी हामी त्यही गाडी लिएर ‘गलेश्वर’ लाग्यौँ । करिब सबाघण्टामा हाम्रो गन्तव्य आइपुग्यो ।
बेनीबजारपारि गलेश्वरको मन्दिर म्याग्दी जिल्लामा पर्दोरहेछ । यही थलोमा तपस्या गरी अष्टसिद्धि प्राप्त गरेका ईश्वरानन्द ब्रह्मचारी ‘गलेश्वर बाबा’ का रूपमा प्रसिद्ध बनेका रहेछन् । यहाँ गौमुखी धारासहित कुण्ड, गणेश, नागदेवता, देवी, देवताका चरणचिह्न, कामधेनु गाई, नवदुर्गा भवानी, राधाकृष्ण, जडभरत, गलेश्वर बाबा आदिका मूर्ति पनि रहेछन् ।
अहा गलेश्वर
‘गलेश्वर’ पुग्नैपर्ने पौराणिक ठाउँ रहेछ । गलेश्वरका बारेमा जति जान्दै गइयो, हृदयमा बेग्लैखाले तरङ्ग चल्नथाले । नौ रोपनी क्षेत्रफल समेटिएको एउटै चक्रशिलाले अचम्मित तुल्यायो । यही चक्रशिलामाथि गलेश्वर महादेवको मन्दिर टाढैबाट देखियो । सतीदेवीको गला पतन भएकाले स्थानको नाम गलेश्वर हुनपुगेको रहेछ । गालव ऋषिले यहाँ शिवको तपस्या गरेका हुनाले गलेश्वर भनिएको अर्को कथन पनि सुनियो । राजा भरत, जडभरत आदिले तपस्या गरेको ठाउँ !, कपिलमुनि तथा बलराम (कृष्णका दाजु) पनि यहाँ आएका रहेछन् ।
रहुगण तथा वशिष्ठ ऋषिको तपस्यास्थल, रावणका हजुरबा पुलस्त्य तथा पुलह ऋषिको थलो पनि यही रहेछ । पुलस्त्य तथा पुलहले तपस्या गरेको स्थानमा पुग्न पैदल दुईघण्टा जति लाग्ने भएकाले यतिखेर त्यहाँ जान सम्भव भएन । तर लङ्काको भनिएका रावणको सम्बन्ध यता देखिनुले घोत्लिन चाहनेलाई राम्रो मसला दिए झैं प्रतीत भयो । अर्घाखाँचीमा रावण नाचेको ठाउँ भनिने ‘नर्तनाचल’ को पनि झलक्क सम्झना आयो ।
बेनीबजारपारि गलेश्वरको मन्दिर म्याग्दी जिल्लामा पर्दोरहेछ । यही थलोमा तपस्या गरी अष्टसिद्धि प्राप्त गरेका ईश्वरानन्द ब्रह्मचारी ‘गलेश्वर बाबा’ का रूपमा प्रसिद्ध बनेका रहेछन् । यहाँ गौमुखी धारासहित कुण्ड, गणेश, नागदेवता, देवी, देवताका चरणचिह्न, कामधेनु गाई, नवदुर्गा भवानी, राधाकृष्ण, जडभरत, गलेश्वर बाबा आदिका मूर्ति पनि रहेछन् । कृष्णागण्डकी, रिखार र रहुनदीको सङ्गमस्थल भएकाले त्रिवेणीका रूपमा समेत गलेश्वरको महिमा उच्च रहेछ । यात्रुहरू यहाँ दर्शन गरेर मात्रै मुक्तिनाथ जाँदा रहेछन् । भावनगर, गुजरातबाट आएको एउटा टोलीसित हाम्रो जम्काभेट भयो । उनीहरूले भरखरै किनिएका शालिग्राम देखाउँदै ‘यो सक्कली त हो नि ?’ सोधे । मुस्काउँदै ‘नक्कली त यता पाइँदैन नि’ भनिँदा तिनका हर्षको ठेगान रहेन ।
रमणीय पञ्चकोट
आइएकै गाडीमा बाग्लुङसम्म फर्कियौँ । ‘आजै पञ्चकोट जानुपर्छ’ धेरै साथीको राय मिल्यो । बागलुङबाट अर्को गाडी रिजर्भ गरियो । भान्सा हुँदै पञ्चकोट पुग्यौँ । अद्भूत हिमशृङ्खलाले आह्लादित बनायो । हेरिरहुँ लाग्ने हिमाली सौन्दर्यको बयान गरेर साध्य छैन । ‘अलिछिटो आइएको भए झन् कस्तो छर्लङ्ग देखिँदो हो’, थकथक लागेको मात्र के थियो, ‘आधाघण्टापछि आइएको भए नि ?’ मस्तिष्कले तुरुन्तै सच्याउनखोज्यो । पाइएकामा उल्लसित हुनुसाटो नपाइएको कुरामा खिन्न हुने चालाले हामीलाई कहिल्यै सुखी हुन नदिनेरहेछ !
पञ्चकोट बेजोडकै रहेछ । मुक्तिनाथ पीठाधीश कमलनयनाचार्यको परिकल्पना साक्षात्कार गर्न पाउँदा उत्साह बढ्ने नै भयो । ‘१६ हजार पर्वत’ को भनिने बागलुङ यसै पनि ऐतिहासिक कोटमा महासमृद्ध, अहिले पनि कैयन् कोट प्राचीन गाथा गाइरहेछन् । गलकोट, बिहुँकोट, अर्नाकोट, हाडिकोट, कारीकोट, रामकोट आदि कैयन् कोटले बागलुङको महिमा बढाएको देखियो । पञ्चकोट आफैँमा पनि पाँचकोटको संयुक्त स्वरूप रहेछ । ताराजालकोट, कारिकोट, माझकोट, राबराबकोट र संसारकोट मिलाई बनाइएको रहेछ- पञ्चकोट । उतिबेला सुरक्षाका दृष्टिले बनाइएका गढ, गढी, किल्ला नै त कोट रहेछन्, पाँचकोट मिलाई बनाइएको पञ्चकोटले जगाइरहेको आध्यात्मिक ज्योति उम्दा लाग्यो ।
पञ्चकोटमा श्रीकृष्णगण्डकी मन्दिर, श्रीपञ्चनारायण शालग्राम मन्दिर, पञ्चमहालक्ष्मी स्थान, गरुढारुढ नारायण, सिसमहल, यज्ञशाला, सिंहगुफा, ध्यानकुटी आदि रहेछन् । पाँच हजार ५५५ किलोको ‘मुक्तिनाथ महाघण्ट’ र हनुमानको विशाल मूर्तिसामु गई तस्वीर नखिँचाउने बिरलै हुँदारहेछन् । ‘सर्वसिद्धि धाम पञ्चकोट’ अधिकांश यात्रुको गन्तव्य बनेको रहेछ । यसको निर्माण कार्य पूरा भएपछि झन् कति जगमगाउने होला ? काठका मिस्त्री आफ्नो कारिगरीमा व्यस्त देखिए । पञ्चकोटबाट मनोहारी हिमाल, पहाड तथा बस्ती हृदयङ्गम गरी फर्कंदा झमक्क साँझ पर्यो ।
शालिग्राम सङ्ग्रहालय
ढिलै भए पनि तल बागलुङ बजार नजिकै कुँडुले फेदीमा रहेको ‘श्री श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ पुगियो । नआइएको भए पछुतो हुनेरहेछ । यहाँ सयमिटर लामो सुरुङ बनाई शालिग्राम संरक्षण गरिएको रहेछ । बाघमुखे प्रवेशद्वारबाट भित्र गएपछि अर्कै संसारमा पुगेको भान भयो । आफ्नो गुरुको स्मृतिमा स्वामी ऋषि प्रपन्नाचार्यद्वारा बनाइएको सङ्ग्रहालयमा पवित्र गण्डकीनदी र नारायणको स्वरूप मानिने शालिग्रामको महत्व दर्शाइएको रहेछ । साना, ठूला थरीथरीका सबालाख शालिग्राम एकै थलोमा दर्शन गर्न पाउँदा खुशीले आँखा चम्किए ।
त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मका भूवनोटयुक्त आकृति आकर्षक रहेछन् । भित्तामा टाँगिएका नेपाली मठ, मन्दिर, हिमाल आदिका चित्र पनि उत्तिकै सुन्दर ! शालिग्राम सङ्ग्रहालयबाट बाहिरिएपछि ‘श्रीरङ्गवैङ्कटेश मुक्तिनारायण’ मन्दिरको प्राङ्गणमा छिरियो । मण्डपसहित प्यागोडा शैलीको मन्दिर रहेछ । नेपाली तथा दक्षिण भारतीय शैली समेटिएको मन्दिर उदाहरणीय लाग्यो । बटुकहरू पङ्क्तिबद्ध भई स्तोत्रपाठ गरिरहेछन् । केही बेर आध्यात्मिक वातावरणमा रमी गन्तव्यतिर पाइला चालियो ।
भव्य बागलुङ कालिका
भोलिपल्ट बिहान, ‘चक्रनदी’ समेत भनिने शालिग्राम नदी अर्थात् कालीगण्डकी नदीको पवित्र जलस्पर्शले उत्साह दोब्बरियो । वरिपरिको रमणीयता समेटी अघि आएकै बाटो ‘बागलुङ कालिका’ मन्दिर पुगियो । बागलुङ बजारनजिकै मालढुङ्गाको शिरमा बाक्लो जङ्गलबीच कालिकाको मन्दिर रहेछ । फूल, प्रसादका पसलहरूसँगै रहेको ठूलो प्रवेशद्वारले स्वागत ग¥यो । जङ्गलका माझ ढुङ्गा बिछाइएको बाटो हुँदै अघि बढियो । यस जङ्गलमा एक सय ५१ प्रजातिका वनस्पतिमध्ये कैयन् त दुर्लभखालका पनि रहेछन् । मन्दिर नजिकै कालीगण्डकीको जलप्रवाह भइरहेका नौवटा गौमुख देखापरे । प्रत्येक गौमुखमाथि देवीको मूर्ति तथा त्यसमुन्तिर सिद्धिदात्री, महागौरी आदि नाम अंकित रहेछन् । गौमुखैपिच्छे गई सबैले जलमार्जन गरे ।
सामुन्ने ठूला कलश र देवीको वाहन (बाघ) युक्त कालिका मन्दिर दिव्य रहेछ । देवीको दर्शन गरी आफूलाई कृतार्थ तुल्याइयो । बायाँतर्फ गान, बजानमा व्यस्त भजनमण्डलीको चुम्बकत्व बेग्लै ! त्यहाँ गई हाम्रा केही बन्धु झुम्नथाले । नृत्यको ‘न’ समेत नआउने यो बबुरो पनि लाजलाई बगलीमा कोची अरू सँगसँगै हात, पाउ नचाउन कस्सियो । ‘कालिका’ को सेवामा सदा उद्यत् स्थानीय ९२ वर्षीय दुर्गाबहादुर आचार्यबाट मन्दिरको इतिहास सुन्न पाउँदा भावविभोर भइयो । विसं १५९१ मा, पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मणिमुकुन्द सेनकी छोरी विश्रवा देवीसित बिहे हुँदा राजकुमारीले सधैँ पूज्ने ‘माझकी देवी’ कालिकालाई दाइजोस्वरूप ल्याएकी रहेछिन् ।
त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मका भूवनोटयुक्त आकृति आकर्षक रहेछन् । भित्तामा टाँगिएका नेपाली मठ, मन्दिर, हिमाल आदिका चित्र पनि उत्तिकै सुन्दर ! शालिग्राम सङ्ग्रहालयबाट बाहिरिएपछि ‘श्रीरङ्गवैंङ्कटेश मुक्तिनारायण’ मन्दिरको प्राङ्गणमा छिरियो । मण्डपसहित प्यागोडा शैलीको मन्दिर रहेछ । नेपाली तथा दक्षिण भारतीय शैली समेटिएको मन्दिर उदाहरणीय लाग्यो ।
पहिले त देवीलाई उठाउनै सकिएनछ, अकस्मात् त्यहाँ टुप्लुक्किएका शिकारी भेषका व्यक्तिले उठाउँदा खड्ग उठेछ, अनि पर्वतबाट त्यता कामविशेषले गएका स्थानीय मगरहरूद्वारा उठाइँदा देवीको डोली पनि उठेछ । पाल्पाबाट पर्वत लैजानेक्रममा यहाँ देवीको डोली बिसाइयो । पछि, लैजान खोज्दा नउठेपछि बागलुङको यही थलोमा मन्दिर बनाई कालिकाको पूजा चलाइएको रहेछ । मन्दिरसित सम्बन्धित अर्को रहस्यमयी कथा पनि सुनियो । चार ढोका भएको यस मन्दिरको पूर्वीढोका खोलिएमा नाग आउने र अनिष्ट हुने जनविश्वास रहेछ ।
गणेश, शिव, राधाकृष्ण, लक्ष्मीनारायण आदिका थान हुँदै मन्दिर परिसरबाट बाहिरियौँ । अलिवर आएपछिबीच बाटोमा हनुमानको थानसहित चारसिँढीयुक्त चौतारो जस्तो बनाइएको रहेछ । देवीको दर्शन गरेर फर्कनेहरू यहाँ भुलचुकका लागि क्षमायाचना गर्दारहेछन् । बाटैमा रहेको अर्को दृश्यले तानिहाल्यो । फर्कंदा राम्ररी नियाल्ने उद्देश्य लिई मन्दिर जाँदा ध्यान पु¥याइएको थिएन । धनुर्वाण भिरेका, खड्गग्राही शिकारीका पछाडि डोलीसहित वाहकका मूर्ति रहेछन् । स्थानीय भेषभूषामा सुसज्जित यी मूर्तिले कालिका मन्दिरको इतिहास छर्लङ्ग्याएको पाइयो । अनि, नजिकै ‘चण्डीदेवी’ को आशीर्वाद लिई मूलबाटोतिर हानियौँ ।
लामो झोलुङ्गे पुल
समय घर्किंदै गए पनि नजिकै रामरेखामा रहेको झोलुङ्गे पुल नहेरी के फर्कनु ! पाँचसय ६७ मिटर लामो ‘गण्डकी स्वर्णिम झुला’ नाम दिइएको यो झोलुङ्गे पुललाई ‘गोल्डेन ब्रिज’ पनि भन्दारहेछन् । साँझ बत्ती बल्ने भएकाले ‘गोल्डेन ब्रिज’ भनिएको हुनसक्छ । बागलुङ, शहीद पार्कबाट पर्वतको अदुवाबारी जोड्ने यो पुल साँच्चै आकर्षक रहेछ । हामी पनि तलतिर कालीगण्डकी हेर्दै अलिपरसम्म पुग्यौँ । फटाफट भोजन गरी बन्धुमिलनका लागि लम्कियौँ । उपल्लाचौरस्थित गौरीधाम शिवमन्दिरमा पर्वत, म्याग्दी तथा बागलुङका बन्धुहरूको आत्मीयता अविस्मरणीय बन्यो । खुबै चिने झैँ आएदेखि परबाट गहिरिएर हेरिरहेको ‘धवलागिरि’ ले चाहिँ मलाई ओझेल नहोऊन्जेल पछ्याइरह्यो । हामी ट्याक्सी लिएर कुश्मा हुँदै पोखरा हुइँकियौँ । यो छोटो भ्रमण भए पनि देख्न पाइएका हिमशृङ्खला, पुग्न सकिएका अनेक स्थान, भेट्न पाइएका अनेक व्यक्ति र सँगेल्न सकिएका अनेक अनुभूतिले असीम आनन्द बर्साइरहेछन् ।







हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर